१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ २० बिहीबार १६:२१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हामी बुढा भयौँ, आन्दोलन पुनर्गठन गर्न युवाहरूले आँट गर्नुस् : खनाल 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ २० बिहीबार १६:२१:००

पूर्वप्रधानमन्त्री तथा पार्टीबाट निष्कासन गरिएका एमाले वरिष्ठ नेता झलनाथ खनालले देशको वस्तुगत आवश्यकताले माग गरेको खण्डमा कम्युनिस्ट आन्दोलनको पुनर्गठनका लागि युवा पुस्ताले आँट गर्नुपर्ने बताएका छन् । नेपाल–खनाल समूहको केन्द्रीय सदस्यहरूको भर्चुअल बैठकलाई सम्बोधन गर्दै खनालले नेपाली समाज र नेपाली क्रान्तीको चरणको अध्ययन गरेर वस्तुगत आवश्यकताले माग गरेको खण्डमा पुनर्गठनका लागि युवा पुस्ता तयार हुनुपर्ने बताए । 

‘नेपालको कम्युनिस्ट आन्दोलन अहिले संकटग्रस्त छ । अहिलेको समाज, नेपाली क्रान्तिको चरणको अध्ययन गर्नुपर्छ । त्यस आधारमा नयाँ कार्यक्रम, कार्यदिशा र नयाँ योजनाका साथ कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्दै अगाडि बढ्नुपर्छ । इतिहासको आवश्यकताले, समाजको आवश्यकताले, देशको वस्तुगत आवश्यकताले यो कुराको माग गरेको छ । हामी बुढा भयौँ, नयाँ युवा कमरेडहरूले यसका लागि आँट गर्नुस् । यसको सम्पूर्ण तयारी गरेर अघि बढ्नुस्,’ खनालले बैठकमा भने ।

उनले २ जेठअघिको सांगठनिक संरचनामा पार्टीलाई फर्काउन प्रधानमन्त्री केपी ओली तयार भएको हो भने सकारात्मक हुने बताउँदै त्यसले पार्टीभित्रै विमतिहरूलाई अन्तसंघर्षको विधिबाट हल गर्दै जान सकिने बताए । अन्यथा कम्युनिस्ट आन्दोलनलाई नयाँ शिराबाट पुनर्गठन गर्नुबाहेकको विकल्प नरहेको उनको भनाइ थियो ।

‘अर्को पक्षसँग जे वार्ता, छलफल भइरहेको छ, यदि अनौपचारिक ढंगले भइरहेको छलफलहरू पनि २ जेठको सांगठनिक संरचनामा पुगेर अगाडि बढ्नका लागि केपी ओली तयार छन् भने सकारात्मक कुरा हो । कम्युनिस्ट आन्दोलनलाई विभाजन, विखण्डन गरेर क्रम बढिरहेको वेला २ जेठमा उभिएर पार्टीलाई सांगठनिक रूपले एकताबद्ध बनाएर त्यहीँभित्र वैचारिक रूपले संघर्ष गर्ने ठाउँ रहन्छ, विमतिलाई बिस्तारै निष्कर्षमा पु¥याउन सकिन्छ । तर, त्यसो हुँदैन भने कम्युनिस्ट आन्दोलन पुनर्गठनका लागि तयारी गर्नुस्,’ खनालको भनाइ थियो ।

उनले विश्व कम्युनिस्ट आन्दोलनमा पहिलो चरणमा कार्ल माक्र्स, दोस्रो र तेस्रो चरणमा लेनिनले आँट गरेर क्रान्तिलाई नयाँ दिशा दिएकाले नेपालमा पनि दोस्रो र तेस्रो पुस्ताका युवाहरूले आँट गरेर कम्युनिस्ट आन्दोलनलाई नयाँ दिशा दिनुपर्नेमा जोड दिए ।