मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
निजगढ विमानस्थल प्रभावित क्षेत्रका स्थानीयसँग छलफलका क्रममा संसदीय समितिका पदाधिकारी
कृष्ण कट्टेल
२०७५ पौष ५ बिहीबार ०८:०३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

निजगढ विमानस्थलका लागि आवश्यक रूख काट्न संसदीय समितिको निर्देशन

 २२ लाख रूख काट्न नपर्ने निष्कर्ष

Read Time : > 1 मिनेट
कृष्ण कट्टेल
२०७५ पौष ५ बिहीबार ०८:०३:००

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आवश्यक रूख कटान गर्दै आयोजनालाई अघि बढाउन संसद्को राष्ट्रिय सरोकार तथा समन्वय समितिले सरकारलाई निर्देशन दिएको छ । आयोजनाको डिपिआर चालू आर्थिक वर्षमा तयार गरी स्वीकृत गर्न समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई निर्देशन दिएको छ ।

२४ र २५ मंसिरमा समितिले स्थलगत अवलोकन तथा स्थानीयसँगको छलफलका आधारमा तयार पारेको प्रतिवेदन बुधबार सार्वजनिक गरेको हो । आयोजना ०७१÷७२ बाट सुरु भए पनि हालसम्म डिपिआर तयार नभएकामा समिति सदस्यहरूले चासो व्यक्त गरेका छन् ।  सरकारले तयार गरेको इआइए रिपोर्ट पनि त्रुटिपूर्ण रहेको उनीहरूले बताएका छन् ।

 रूख काट्नु तर नयाँ रोप्नु
पूर्वाधार निर्माणका लागि आवश्यक स्थानका रूख कटान गरी विमानस्थल निर्माण अविलम्ब अघि बढाउनुपर्ने समितिको निष्कर्ष छ । रूख काटिएबापत रोपिने नयाँ बिरुवाको सम्बन्धमा समेत योजना पेस गर्न समितिले पर्यटन मन्त्रालयलाई निर्देशन दिएको छ । समितिले वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिँदै भनेको छ, ‘रूख कटानका लागि आयोजनालाई तत्काल सहमति दिनू ।’ 

तत्काल बस्ती स्थानान्तरण गर्न सुझाब
अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि स्थानीय टाँगिया र काठ गाउँ बस्ती स्थानान्तरणको चरणमा छन् । समितिले स्थलगत अध्ययन गर्दा सबैले मुआब्जा नलिएको तथा स्थानीयले विभिन्न माग अघि तेस्र्याएको जनाएको छ । टाँगिया बस्तीको स्थानान्तरणका लागि आयोजनाले दुई स्थान सिफारिस गरिसकेको तथा काठ गाउँमा रहेका ४२० घरधुरीको ११२ बिघा जग्गामध्ये ५८ बिघाको मुआब्जा वितरण भइसकेको र बाँकीका लागि समेत मुआब्जा लिन आउन सूचना जारी गरिसकिएको पाइएको प्रतिवेदनमा उल्लेख छ । ‘विमानस्थलको मुख्य धावनमार्गका रूपमा रहने टाँगियालगायत बस्तीका बासिन्दालाई उपयुक्त स्थानमा स्थानान्तरण गरी बस्ती व्यवस्थापनको कार्य अघि बढाउनू,’ समितिले आयोजना तथा पर्यटन मन्त्रालयलाई निर्देशन दिएको छ ।

 एयरपोर्ट सिटी आवश्यक छैन
समितिले निजगढ विमानस्थलमा एयरपोर्ट सिटी आवश्यक नरहेको निष्कर्षसमेत निकालेको छ । ‘विमानस्थगल वरपरका नगरपालिका तथा गाउँपालिकालाई व्यवस्थित एवं आधुनिक ढंगले सहर बसाउन लगाए एयरपोर्ट सिटीको आवश्यक्ता हुँदैन,’ प्रतिवेदनमा भनिएको छ । एयरपोर्ट सिटीका लागि छुट्याइएको जग्गा आयोजनाकै नाममा सुरक्षित राख्नसमेत समितिले पर्यटन मन्त्रालयलाई निर्देशन दिएको छ ।

 २२ लाख रूख काट्न नपर्ने निष्कर्ष
वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन इआइएले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि २२ लाखभन्दा बढी रूख काट्नुपर्ने निष्कर्ष निकालेको थियो । जसमा सतिसाललगायत महँगा रूख कटान गर्नुपर्ने इआइएले जनाएको थियो । तर, संसदीय समितिले स्थलगत अध्ययनपछि त्यति धेरै संख्यामा रूख काट्नुनपर्ने निष्कर्ष निकालेको छ । ‘कटान गर्नुपर्ने रूखको संख्या र रूखका प्रजातिका सम्बन्धमा देखाइएको तथ्यांक वास्तविक रूख गणना गरी निकालिएको नभई कुनै एक स्थानको नमुना सर्वेक्षण गरी तयार गरिएको तथ्यांक हो,’ समितिको प्रतिवेदनमा भनिएको छ । 

स्थलगत अनुगमनका क्रममा आयोजना क्षेत्रको जंगलमा पोथ्रा, बुट्यान र साना तथा कम उमेरका रूखको संख्या अत्यधिक रहेको पाइएको समितिले जनाएको छ । साना साल र सतिसालका रूख न्यून रहेको समितिको ठहर छ । यसअघि प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिअन्तर्गत पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल संयोजक रहेको उपसमितिले समेत इआइएले भनेअनुसार रूख कटान हुने अवस्था नरहेको निष्कर्ष निकालेको थियो ।