मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मञ्जु टेलर काठमाडौं
२०७८ जेठ २० बिहीबार ०७:४४:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

वीर अस्पतालको सर्जिकल भवनमा कोभिड बिरामीको उपचार

Read Time : > 2 मिनेट
मञ्जु टेलर, काठमाडौं
२०७८ जेठ २० बिहीबार ०७:४४:००

सर्जिकल भवनमा ५० वटा अक्सिजनसहित बेड तयार, सातजना बिरामीको उपचार हुँदै

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले सर्जिकल भवनमा बुधबारदेखि कोभिड बिरामीको उपचार सुरु गरेको छ । सय बेड क्षमतामा तयार गरिएको वार्डमा तत्कालका लागि ५० बेड सञ्चालनमा ल्याएको छ । सुविधासम्पन्न नयाँ सर्जिकल भवनमा उपचार सुरु भएपछि इमेर्जेन्सीमा बिरामीको चाप नियन्त्रणमा आएको छ । अस्पतालले ५० वटा अक्सिजनसहित बेड तयार राखे पनि बुधबार वार्डमा सातजना मात्र बिरामीको उपचार भइरहेको छ । 

अस्पतालका पुराना भवनका वार्डहरूमा बिरामीको चाप नभएकाले वीर र राष्ट्रिय ट्रमा सेन्टरको इमर्जेन्सीमा आउने बिरामीलाई मात्र अस्पतालले नयाँ भवनमा सारिरहेको छ । अस्पतालका कोभिड युनिटका संयोजक डा. अच्युत कार्कीका अनुसार ट्रमा सेन्टर र वीर अस्पतालको पुरानो भवन खाली गर्ने उद्देश्यले नयाँ भवन सुरु गरिएको हो । आइसियू, भेन्टिलेटर र एचडियू बेडहरू अपुग भइरहे पनि सामान्य बेडहरू पनि खाली हुँदै गएका छन् । वार्डमा बुधबार ३७ बेड खाली छन् । 

‘बिरामीको चापको आधारमा नयाँ भवन आवश्यक नभए पनि सर्जिकल भवन सुचारु गर्नुपर्ने दबाबका कारण सञ्चालनमा ल्याइएको छ । नयाँ थपिने बिरामीलाई सर्जिकल वार्डमा सिफ्ट गर्दै लाने योजना बनाएका छौँ, यसले पुराना भवनमा ननकोभिडका बिरामीलाई उपचारका लागि सहज हुन्छ भने तेस्रो लहर आइहालेमा पनि चाप नियन्त्रणमा ल्याउन सकिन्छ,’ कार्कीले भने ।

ट्रमा सेन्टर खाली गरिने, नयाँ बिरामी भर्ना नगरिने 
वीर अस्पतालमा कोभिड बिरामीको चाप व्यवस्थापनका लागि बनाइएको ट्रमा सेन्टरको कोभिड वार्ड खाली गरिने भएको छ । सर्जिकल वार्ड सुरु भएसँगै ट्रमाको इमर्जेन्सीमा रहेका बिरामीलाई सार्न थालिएको छ । हाल ट्रमा सेन्टरमा कोभिडका लागि ७० वटा बेड सञ्चालित छन् । डा. कार्की भन्छन्, ‘संक्रमण बिस्तारै घट्दै गएकाले ट्रमा खाली गर्ने तयारी गरेका छौँ । कोभिडका कारण अन्य सेवा प्रभावित भइरहेकाले बिरामीलाई यता व्यवस्थापन गरेर ट्रमालाई हाडजोर्नीसम्बन्धी सेवाका लागि खुला गरेका छौँ । बिरामी डिस्चार्ज भएर गइरहेकाले बिस्तारै बेडहरू खाली हुँदै गइरहेका छन् । नयाँ बिरामी अब ट्रमामा भर्ना गरिँदैन ।’ 

अस्पतालले सामान्य बिरामी भर्ना थाल्यो 
श्रीमान्लाई ग्यास्ट्राइटिसका कारण स्वास्थ्य समस्या भएपछि काठमाडौंको घट्टेकुलो बस्दै आएकी ज्ञानु माझीले मंगलबार श्रीमान्लाई वीर अस्पताल पुर्‍याइन् । उपचार गर्नुपूर्व कोभिड परीक्षण गर्दा पजिटिभ देखिएपछि उनलाई लगत्तै वार्डमा सारियो । उनको स्वास्थ्य अवस्था सामान्य छ, अक्सिजन दिनु नपर्ने भएकाले उनलाई बुधबार बिहानै सर्जिकल वार्डमा सारियो । ज्ञानु भन्छिन्, ‘सामान्य स्वास्थ्य समस्या भएर अस्पताल ल्याएको थिएँ, कोभिड पजिटिभ देखिँदा निकै झस्किएँ । तर, लगत्तै वार्डमा राख्न पाइयो, अक्सिजन पनि चाहिएको छैन, आवश्यक परेमा अस्पतालले उपलब्ध हुन्छ भनेको छ । उहाँको स्वास्थ्य अवस्था सामान्य भएर पनि वार्डमा राख्न पाइएकोले डर हटेको छ ।’

मंगलबार रातिदेखि अक्सिजनको लेभल घट्न थालेपछि गोदावरी बस्दै आएका राजन श्रेष्ठलाई वीर अस्पताल ल्याइयो । ११ दिनअघि संक्रमण पुष्टि भए पनि उनी होम आइसोलेसनमै थिए । ज्वरो आइरहने र अक्सिजन स्याचुरेसन पनि कम भएकाले उनलाई घरमै अक्सिजन दिइएको थियो । अनलाइनमार्फत काउन्सिलिङ लिइरहे पनि समय–समयमा चेकजाँचका लागि अस्पताल ल्याइन्थ्यो । कुरुवा बस्न आएकी उनकी छोरी सन्ध्या भन्छिन्, ‘परिवारमा सबैलाई कोरोना भएको थियो । तर, बाबालाई लक्षण देखिएको र अप्ठ्यारो भएर अस्पताल ल्याउनुप¥यो । डाक्टरसँग सल्लाह गरेर घरमै अक्सिजन दिइरहेका थियौँ, अस्पतालमा बिरामीको चाप धेरै भएकोले सकेसम्म घरमै राख्ने कोसिस गरेका थियौँ । तर, अक्सिजन पाइप हटाउँदा ७० भन्दा तल झर्न थालेपछि अस्पताल ल्याएको । दुई हप्ताअगाडि आमालाई पनि गाह्रै भएको थियो, अस्पतालमा बेड नपाएर निकै दुःख भोग्यौँ । अहिले यता ल्याउनेबित्तिकै बेड पाइएकाले सहज भएको छ ।’ 

७२ वर्षीय गोविन्दमान अमात्यको स्वास्थ्य अवस्था जटिल बन्न थालेपछि उनलाई बुधबार दिउँसो अस्पताल पु¥याइयो । अमात्यलाई तीन हप्ताअगाडि नै संक्रमण भए पनि अक्सिजन दिएर घरमै राखिएको थियो । ठमेल घर भएका उनलाई क्षेत्रपाटीमा नियमित चेकजाँँचका लागि लगिन्थ्यो । तर, स्वास्थ्यमा सुधार नआएपछि परिवारका सदस्यले वीर अस्पताल ल्याएका थिए । कुरुवा बस्न आएका उनका छोरा भन्छन्, ‘बुबालाई संक्रमण भएपछि सुरुमै यतै राख्न खोजेका थियौँ, त्यतिवेला बेड पाउन नसकेपछि घरमै राखेको हो । अहिले पनि बेड पाइँदैन कि भन्ने लागेको थियौ, आजै यता खुलेकाले खाली रहेछ । अहिले बुबालाई अक्सिजन दिएर राखिएको छ ।’