मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
प्रा.डा. ढुण्डीराज पौडेल
२०७८ जेठ १९ बुधबार ०८:२७:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

खोपसँगै मास्क र सामाजिक दूरी

Read Time : > 3 मिनेट
प्रा.डा. ढुण्डीराज पौडेल
२०७८ जेठ १९ बुधबार ०८:२७:००

सप्तसती चण्डीमा कथा छ– देवीले दानव महिषासुरलाई मार्न खोज्छिन्, तर त्यो दानवले बारम्बार आफ्नो रूप बदलिरहन्छ र देवीका कैयौँ भक्तलाई मार्छ । विभिन्न सुरक्षाका उपाय अपनाउँदा पनि कोभिड–१९ ले स्वरूप र लक्षण फेर्दै मान्छेलाई झुक्याइरहेको छ । महामारी जति लम्बिँदै जान्छ, यो सार्सकोभ–२ विषाणु उत्तिकै नयाँ–नयाँ रूपमा उत्परिवर्तित हुँदै संक्रामक र कडा रूपमा प्रस्तुत हुँदै जान सक्ने देखिएको छ । 

सावधानी अपनाउँदाअपनाउँदै पनि दुवै मात्राका खोप लगाइसकेका चिकित्सक एवं स्वास्थ्यकर्मी पनि ठूलै संख्यामा संक्रमित भई केहीको अकाल मृत्युसमेत भएको छ । यद्यपि, खोपले सुरक्षाकवचको काम गरेको छ । व्यापक संख्यामा खोप लगाउन सके इजरायलमा पैदा भएको अनुमान गरिएको हर्ड इम्युनिटी यहाँ पनि पैदा हुन सक्छ । स्रोत साधनको उपयुक्त व्यवस्थापन गर्न सके भारतमा भन्दा छिटै नेपालमा यो महामारी नियन्त्रण गर्न सकिन्छ । हाम्रो खोपलगायतका मातृ–शिशु स्वास्थ्य सेवाको जालो गाउँगाउँमा फैलिएको छ । भारतमा भन्दा नेपालमा खोप अभियान सम्पादन गर्न सहज छ । 

रोग नियन्त्रण र उपचारको पूर्वतयारीमा प्राप्त समयको सदुपयोग गर्न सकेन भन्ने नै सरकारप्रतिको मुख्य गुनासो हो । पिपिई र सुरक्षाका साधनबाहेक जनस्वास्थ्यतिर खासै ध्यान दिइएन । चीनले आखिर टेस्टिङ, सामाजिक दूरी, कन्ट्याक्ट ट्रेसिङ र सर्भिलेन्स एवं कोरोना उपचारको छुट्टै अस्पतालको व्यवस्था गरेर सफलता हासिल गरेको हो । सेनाको सहयोगमा टुँडिखेलमा चीनको वुहानमा जस्तै हजारौँ अक्सिजनसहितका अस्थायी हजारौँ शय्याहरू खडा गरी वीरलगायतका अस्पतालहरू भेन्टिलेटरहरूले सुसज्जित गरिएको भए सयौँको ज्यान जोगिन सक्थ्यो । स्थापित अस्पतालहरूमा अन्य नियमित कोरोनाइतरको सेवा कायम गर्न सकिन्थ्यो ।

हेक्का रहोस्, सबैभन्दा बढी संक्रमण फैलिने पहिलो हप्ताको संक्रमितबाट हो । मानवको स्वधर्म भनेकै विज्ञानसम्मत चल्नु हो । प्रत्यक्ष सम्पर्कका साथै बन्द हावा नखेल्ने वातानुकूलित कोठा या हलमा छोटो समयमै एउटै संक्रमित व्यक्ति (लक्षणयुक्त वा लक्षण आउनु केही दिनअघि)ले धेरैमा सार्न सक्ने उच्च सम्भावना रहन्छ । यही कारण भोजभतेरमा मास्क लगाई सहभागी हुँदा पनि उच्च रूपमा संक्रमण प्रसार भएको हो । स्वस्थ र युवा उमेरकाले पनि संक्रमण अकस्मात् गम्भीर बन्दै गएर अकालमै मृत्युवरण गरेका छन् । दीर्घरोग नरहेका, प्रतिरोध क्षमतामा ह्रास नआएकाहरू पनि कोभिड–१९ बाट गम्भीर बन्नुको मूल कारण रक्तकोषहरूको अत्यधिक प्रतिक्रियाका कारण फोक्सोको झिल्लीमा पैदा हुने प्रदाह नै हो, रगत जमेर बन्ने साना–साना रगतका ढिक्काहरूले पैदा गर्ने रक्तसञ्चारको अवरुद्धता हो।

दोस्रो लहर सुरु हुनुअघि नै खोपको दोस्रो डोजसमेत लगाउन पाएका पंक्तिकारलगायतका स्वास्थ्यकर्मीहरू संक्रमित हुँदा निजहरूमा सामान्य रुघाखोकी मात्रै देखिएको छ । एकाध मात्रै केही गम्भीर बनेका छन् ।

सुरुमा खोकी, ज्वरो, सास फेर्न गाह्रो जस्ता श्वासप्रश्वास प्रक्रिया या फोक्सोसम्बन्धी समस्यालाई नै सार्सकोभ–२ नामक भाइरसजन्य रोग कोभिड–१९ का मुख्य लक्षण मानिए पनि थकाइ, घाँटी दुख्नु, पखाला, टाउको दुख्नु, अरुचि, वाकवाकी, नाक बग्नु तथा बासना हराउने जस्ता लक्षण पनि कोभिड–१९ मा थपिएका छन् । हृदयघात, मस्तिष्कघात आदिको कारण पनि यही हो । अहिलेको मौसमी रुघाखोकी कोरोनाजन्य हो/होइन, छुट्याउन तत्काल परीक्षण गर्न नसके मास्क, सामाजिक दूरी अपनाउनुपर्छ । कम्तीमा १० दिन अलग्गिएर बस्नुपर्छ । रुघाखोकी लागेको केही दिनमा गन्ध हराए त्यसलाई कोभिड–१९ नै सम्झिएर होसियारी पुर्‍याउनुपर्छ । 

अहिले कोभिड भएका कैयौँ व्यक्तिमा सुरुमा भनिए जस्तो खोकीविनाको ज्वरो आइदिँदा टाइफाइड वा कोरोनाइतरको संक्रमण ठानेर सुरक्षाका उपाय नअपनाइदिँदा पनि अन्य कैयौँमा कोभिड सरेको पाइएको छ । निरन्तर नाक–मुख छोपिने गरी मास्कको प्रयोग, सामाजिक दूरी कायम गर्दा रोग सर्ने सम्भावना कम हुने सचेतना दोहोर्‍याइरहनुपर्छ । खोकी र हाछ्युँद्वारा भाइरस वातावरणमा फैलिन सक्छ । जो जति लक्षणयुक्त संक्रमित छ, त्यति नै अरूलाइ सार्न सक्छ । कागतीपानी, बदाम, दूध–बेसार आदि वस्तुको प्रयोगबाट कोभिडको भाइरसविरुद्ध पैदा हुने अत्यधिक कोषिक प्रतिक्रिया (साइटोकाइन)लाई न्यूनीकरण गर्न सहयोग पुर्‍याउने भएकाले फाइदाजनक हुन सक्छ । 

कोभिड, स्टेरोइड, मधुमेह र फंगस : विशेषगरी, उष्णतापीय वातावरणमा अनियन्त्रित उच्च ग्लुकोजसहित किटोनको मात्रासमेत बढेका मधुमेहसहितका कोभिड–१९ रोगीहरूलाई स्टेरोइड दिँदा अत्यन्तै डरलाग्दो, आँखासहित ज्यानैसमेत गुमाउनुपर्ने घातक रोग (म्युकरमाइकोसिस)को प्रकोप बढेको छ । अझै स्टेरोइडसहितको उपचारले कोभिडजन्य निमोनियाको उपचार भइरहेका एवं निको भइसकेका बिरामीहरूमा पनि अचानक नाक बन्द हुने, नाक बग्ने, ज्वरो आउने, अनुहार, आँखा दुख्ने–सुन्निने जस्ता लक्षण देखिए म्युकर नामक फंगसजन्य गम्भीर प्रकारको पिनास (एक्युट इन्भेजिभ फल्मिनेन्ट साइनोसाइटिस, जसको मृत्युदर निकै उच्च हुन्छ) सम्झिई तुरुन्तै एम्फोटेरिन–बी नामक औषधिबाट उपचार सुरु गरिहाल्नुपर्छ । सुगर लेबल हेर्दै इन्सुलिन मिलाउनुपर्ने हुन्छ । तुरुन्तै एमआरआई गरी रोगको अवस्था हेरी शल्यक्रिया गर्नुपर्ने पनि हुन सक्छ । उच्च मृत्युदर भएकाले समयमै रोग निदान गरी उपचार सुरु गरिहाल्न सके आँखा र ज्यान दुवै बचाउन सकिन्छ । त्यसैले शल्यक्रिया एवं आवश्यक पर्ने औषधिको जोहो समयमै गर्नुपर्छ । मुख्य कुरा, मधुमेहका रोगीहरू सतर्क हुनुपर्छ । झाडी, धुलो, माटो, सडेगलेका फलफूल, तरकारी आदिमा म्युकर रहने हुनाले मास्क र पञ्जाको नियमित प्रयोग गर्नुपर्छ ।

दोस्रो लहर सुरु हुनुअघि नै खोपको दोस्रो डोजसमेत लगाउन पाएका पंक्तिकारलगायतका स्वास्थ्यकर्मीहरू संक्रमित हुँदा निजहरूमा सामान्य रुघाखोकी मात्रै देखिएको छ । एकाध मात्रै केही गम्भीर बनेका छन् । आफैँलाई पर्दा अनुभूत भयो– यस्तो परिस्थितिमा चिकित्सक एवं स्वास्थ्यकर्मीको ढाडस र सुझाबको महत्व कति रहन्छ भनेर । त्यसैले आफ्नो मोबाइल चौबीसै घन्टा सुझाबका लागि अलर्ट राख्नु चिकित्सक एवं स्वास्थ्यकर्मीको कर्तव्य भएको छ । एउटा वरिष्ठ चिकित्सकको नाताले म आत्मसमीक्षा गर्छु, खोप लगाएर बढी ढुक्क हुँदा म सुरक्षा र सावधानीमा चुक्न पुगेँ कि ? सामाजिक दूरीको नियम पालना, मास्क, सिल्ड, पन्जा लगाउने र हात धुनेमा सम्झौता नगरौँ ।