१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ जेठ १८ मंगलबार १०:३४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीको बोलीमाथि डा. शेखर कोइरालाको टिप्पणी- पाकिस्तानमा तानाशाहीको पतन अदालतले गरेको हो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ जेठ १८ मंगलबार १०:३४:००

कांग्रेस नेता डा. शेखर कोइरालाले प्रधानमन्त्रीको बोलीमाथि टिप्पणी गर्दै पाकिस्तानमा तानाशाहीको पतन अदालतले नै गरेको स्मरण गराएका छन् । ‘मेरो बुझाइमा प्रधानमन्त्रीको न्यायालय र कानुन व्यवसायीहरूप्रतिको टिप्पणी हारेको मानसिकताको उपज, लोकतन्त्रको उपहास, गणतन्त्रको अवमूल्यन, अधिनायकवादी व्यवस्थाको पूर्वाभ्यास र तानाशाह बन्ने दिवास्वप्नको चाहना मात्रै हो,’ डा. कोइरालाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘पाकिस्तानमा तानाशाहीको पतन अदालतले नै गरेको कुरा यहाँ म प्रधानमन्त्रीलाई स्मरण गराउन चाहन्छु ।’

नेता कोइरालाले प्रधानमन्त्रीको पूर्वन्यायाधीशहरू र कानुन व्यवसायीहरूप्रतिको टिप्पणी नकारात्मक भएको भन्दै आ–आफ्नो क्षेत्रबाट सशक्त प्रतिकार गर्न आह्वान गरेका छन् । डा. कोइरालाले गणतन्त्रको आन्दोलनका वेला ‘बयलगाडा चढेर अमेरिका पुगिन्न’ भन्ने प्रधानमन्त्रीले वकिलहरूमाथि नकारात्मक टिप्पणी गरेर मानमर्दन गरेको बताएका छन् ।

‘हामी सबै गणतन्त्रको आन्दोलनमा होमिँदा वर्तमान प्रधानमन्त्री गणतन्त्रबारे ‘बयलगाडा चढेर अमेरिका पुगिन्न’ भन्नुहुन्थ्यो । तर, ती सबै वकिलहरू कालो कोटमा हामीसँगै आन्दोलनमा र कतिपय त जेलमै थिए । आज ती वकिलहरूको मानमर्दन गर्दा उनीहरूको लोकतन्त्रप्रतिको निष्ठामा चोट पुगेको छ,’ उनले प्रश्न गरेका छन्, ‘कति चाँडै बिर्सन सकेको उनीहरूको योगदान ? ’
उनले नेपालमै पनि तानाशाहको अन्त्य गरेर गणतन्त्र स्थापना हुनुमा न्यायालयको भूमिका भएको बताएका छन् । ‘तानाशाहहरूको पतन न्यायालयले गरेको उदाहरण खोज्न अन्त जानुपर्दैन, हाम्रै देशमा सर्वोच्च अदालतले शाही आयोग खारेज नगरिदिएको भए आज नेपालमा गणतन्त्र आएको नहुन सक्थ्यो,’ नेता कोइरालाले भनेका छन् ।