१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ जेठ १८ मंगलबार १०:२३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चीनले अनुदानमा दिएको १५ सय थान अक्सिजन सिलिन्डर रसुवागढी आइपुग्यो

Read Time : > 1 मिनेट
२०७८ जेठ १८ मंगलबार १०:२३:००

चीन सरकारले नेपाललाई सहयोगस्वरूप अनुदानमा दिएको स्वास्थ्य सामग्रीमध्ये १५ सय थान अक्सिजन सिलिन्डर रसुवागढी नाका हुँदै नेपाल भित्रिएको छ । मंगलबार बिहान ८ बजे चीनले अनुदानमा दिएको १५ सय थान अक्सिजन सिलिन्डर र एन नाइन्टी फाइभ मास्क रसुवागढी नाका हुँदै नेपाल भित्रिएको हो । 

चिनियाँ तीनवटा गाडीमा १५ सय थान अक्सिजन सिलिन्डर र एउटा गाडीमा पाँच लाख २७ हजार पाँच सय थान एन नाइन्टी फाइभ मास्क गरी चारवटा चिनियाँ गाडीमा बिहान ८ बजे सामग्री नेपाल भित्रिएको रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख रामप्रसाद रेग्मीले बताए  । 

उक्त सामग्री स्वास्थ्य मन्त्रालयको तर्फबाट स्वास्थ्य कार्यालय रसुवाका प्रमुख वसन्त चालिसेले बुझेका छन् । चिनियाँ गाडीमा आएको अक्सिजन सिलिन्डर र मास्क नेपाली गाडीमा लोड भइरहेको छ । उक्त सामग्री आज नै स्वास्थ्य सेवा विभागको आपूर्ति महाशाखामा पठाइने स्वास्थ्य कार्यालय रसुवाका प्रमुख वसन्त चालिसेले बताए । 

चीनले नेपाललाई २० हजार थान अक्सिजन सिलिन्डर अनुदानमा दिने घोषणा गरेको थियो । त्यसमध्ये नेपाल वायुसेवा निगमको जहाजले करिब दुई हजार सिलिन्डर बेइजिङबाट काठमाडौं लगिसकेको जनाएको छ । त्यसमध्ये स्थलमार्ग हुँदै रसुवागढी नाकाबाट उक्त सामग्री नेपाल भित्रिएको हो । 

पछिल्लो समय रसुवागढी नाकाबाट व्यावसायीले मगाएका स्वास्थ्य सामग्री र चिनियाँ सहयोगका सामग्री नेपाल भित्रिरहेको छ । चीनले एक वर्ष अघिदेखि रसुवागढी नाका एकतर्फी रूपमा सञ्चालन गरेको छ । चीनले आफ्नो गाडीमा नेपाली भूभागमै सामान ल्याइदिने गरेको छ । चिनियाँ एउटा गाडीमा आएको सामग्री नेपाली दुईवटा गाडीमा नेपाली कामदारले लोड गर्ने गरेका छन् ।