१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
डिङ गङ
२०७८ जेठ १८ मंगलबार ०६:००:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

युआन लङपिङको कृषि अनुसन्धान र पश्चिमी अज्ञानता

Read Time : > 2 मिनेट
डिङ गङ
२०७८ जेठ १८ मंगलबार ०६:००:००

पश्चिमी विज्ञ चीनसम्बन्धी प्रक्षेपण गर्दा समस्यामा मात्र केन्द्रित हुने भएकाले ती एकदमै निराशाजनक हुने गर्छन् 

अघिल्लो साता ९१ वर्षीय अनुसन्धाता युआन लङपिङको मृत्युको खबरले सारा चीन शोकमा डुब्यो । चीन र चिनियाँ जनताको मन छुने युआनको नाम विदेशमा भने निकै कमले मात्र सुनेको पाइयो । युआनको मृत्युप्रति चिनियाँ जनताको शोक देखेर धेरै विदेशीले युआनको योगदानको खोजिनिती गरे । यसले मलाई झन्डै २० वर्षअघिको एक घटना स्मरण गरायो । त्यस समय म अमेरिकामा एक चिनियाँ संवाददाताका रूपमा खटिएको थिएँ । त्यहाँ रहँदा मैले केही अमेरिकी प्राज्ञसँग चीनको विकासबारे धारणा बुझ्ने प्रयास गरेको थिएँ । कुराकानीका क्रममा धेरैसँग मैले चीनको खाद्यान्न अवस्थाबारे पनि प्रश्न गरेको थिएँ । बोल्नेमध्ये अधिकांशले घना जनसंख्या भएको चीनले खाद्यान्नमा आत्मनिर्भरता कायम गर्न निकै कठिन हुने विचार व्यक्त गरेका थिए । 

पश्चिममा चीनको खाद्यान्न सुरक्षालाई लिएर चिन्ता कायम रहेकै समयमा युआनले धानको बिउ विकासमा महत्वपूर्ण सफलता हासिल गरेका थिए । सन् १९९५ अगस्टमा युआनले नयाँ प्रकारको हाइब्रिड धानको बिउ विकास गरे । उनले सो हाइब्रिड बिउलाई बृहत्तर स्तरमा प्रयोगमा ल्याउन सक्ने प्रविधि पनि विकास गरे । यसका लागि युआनको नौ वर्षको अथक लगानी परेको थियो । यस बिउको प्रयोगबाट धानको उत्पादन ह्वात्तै बढ्यो । चीनको अन्न उब्जनी सन् २०२० मा ६६९.५ अर्ब केजी पुग्यो, जुन सन् १९४९ मा ११३.२ अर्ब केजी थियो । चीनको कृषि क्षेत्र विकास रिपोर्ट–२०२० का अनुसार वर्ष २०१९ मा चीनले देशका तीन प्रमुख खाद्यान्न (धान, गहुँ र मकै) मा ९८.७५ प्रतिशतको आत्मनिर्भरता हासिल गरेको छ । 

युआन लङपिङले विकास गरेको हाइब्रिड धानको बिउ प्रयोग गरेर चीनले खाद्य सुरक्षामा महत्वपूर्ण सफलता हासिल गरेको पश्चिमले थाहै पाएन

यस अवधिमा खेती गर्ने जमिन बढेन, बरु उल्टो घट्यो, तैपनि अन्न उब्जनी भने उलेख्य रूपमा वृद्धि भयो । बढेको उब्जनी खाद्य संरचना सुधार गर्न वा उद्योग तथा यातायात विकासमा महत्वपूर्ण सहयोगी बन्यो । चीनमा नवप्रवर्तनको राजधानी मानिने सहर सेन्झेन पनि पहिले खेती गरिने भूभागमै खडा भएको छ । पश्चिमी विज्ञले चीनसम्बन्धी प्रक्षेपणमा समस्या मात्रै समेटेका हुन्थे । तिनमा चिनियाँ जनताको चुनौती समाधान गर्ने क्षमता छुट्ने गर्थ्यो । 

यदि पश्चिमी विज्ञलाई युआन र अन्य विभिन्न क्षेत्रमा लगनशीलतापूर्वक काम गर्ने चिनियाँ अनुसन्धाताबारे जानकारी भएको भए सायद उनीहरूले त्यति निराशावादी प्रक्षेपण गर्दैनथे होलान् । अहिले पश्चिममा लोकप्रिय रहेको ‘चीन असफल’ हुने सिद्धान्तले पनि त्यति बल पाउने थिएन, सायद । चिनियाँ जनताको खाद्य तथा पहिरनसम्बन्धी तिनको चिन्ता चीनको ऐतिहासिक अनुभवमा आधारित छ । तर, तिनले चीनलाई इतिहासको आँखाबाट मात्र हेर्ने गल्ती गरे । चीनको इतिहासबारे जानकारी भएका प्रत्येकले चिनियाँ जनताका लागि खाद्यान्न र पहिरन कति महत्वपूर्ण थियो भन्ने बुझेको हुन्छ । चीनले इतिहासमा पटक–पटक ठूला भोकमरी भोगेको छ । तर, पश्चिमी विज्ञ इतिहासमा मात्र केन्द्रित रहे, वर्तमानमा होइन । जस्तो अमेरिकामा विगत दुई, तीन दशकदेखि प्रकाशित हुने बालबालिकाको पुस्तकमा चिनियाँलाई पातलो र कमजोर देखाइएको हुन्छ । 

चीनको समस्यामा मात्र ध्यान दिने पश्चिमी शैलीमा केही नश्लीय चिन्तन पनि हाबी छ । जस्तो– पश्चिमीहरूमा एसिया, अफ्रिका तथा ल्याटिन अमेरिकाको नयाँ विकास गर्ने क्षमतामा अविश्वास कायम छ । सम्भवतः त्यही कारणले उनीहरू चिनियाँ कम्पनी हुवावेले आफ्नै प्रयासले फाइभ–जी प्रविधि विकास गरेको थाहा पाउँदा अचम्ममा परे । हुवावेले कति छिटो र कसरी त्यति ठूलो सफलता हासिल गर्‍यो भन्नेमा ध्यान दिएको भए त्यति आश्चर्यमा पर्नुपर्ने थिएन । हुवावेको सपनालाई सफल बनाउन दसौँ हजार मानिस दिनरात खटिएका थिए । उनीहरू चर्चामा नआउने आमसामान्य मानिस हुन् । 

चिनियाँ जनताले युआनप्रति श्रद्धाञ्जली दिएर उनले प्रतिनिधित्व गर्ने पुस्ताको वैज्ञानिकप्रति पनि सम्मान व्यक्त गरे । तिनको सम्मानमा उनीहरूको सिर्जनशीलता र संघर्षप्रतिको सम्मान जोडिएको छ । यो कुरालाई ख्याल गर्दै चीनप्रतिको पश्चिमी बुझाइ तथा अज्ञानता परिवर्तन गर्ने समय आएको छ । चिनियाँ जनताको हालसम्मको सफलताको पछाडि के कारण छ ? पश्चिमले चीनबारे गर्ने यति धेरै प्रक्षेपण किन गलत साबित हुन्छ ? अझै पनि चीनको विकासमा ब्रेक लाग्न सक्ने भन्ने विचार पश्चिममा किन यति धेरै लोकप्रिय छ ? यी प्रश्नको जवाफ आयो भने बल्ल पश्चिममा रहेको चीनबारेको अज्ञानतामाथि प्रकाश पर्नेछ । 

(लेखक पिपुल्स डेलीका वरिष्ठ सम्पादक तथा रेन्मिन विश्वविद्यालयका सिनियर फेलो हुन्)
ग्लोबल टाइम्सबाट