मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रमेश रावल सल्यान
मनीष खड्का वीरेन्द्रनगर
हेमन्त केसी जाजरकोट
अच्युत राज भण्डारी मुगु
२०७८ जेठ १८ मंगलबार ०७:४६:००
Read Time : > 6 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कर्णालीमा अक्सिजन प्लान्ट खरिद विवादित

Read Time : > 6 मिनेट
रमेश रावल, सल्यान
मनीष खड्का, वीरेन्द्रनगर
अच्युत राज भण्डारी मुगु
२०७८ जेठ १८ मंगलबार ०७:४६:००

कर्णालीका आठ जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न प्रदेश सरकारले उपलब्ध गराएको तीन करोड २० लाखबाट स्वास्थ्यका ठेकेदारले अक्सिजन सिस्टम जेनेरेटर खरिद गरेपछि अख्तियार र संसदीय समितिले थाले छानबिन

कोरोना महामारीका वेला अक्सिजनको अभावमा नागरिकले ज्यान गुमाइरहेका वेला कर्णाली प्रदेशका विभिन्न जिल्ला अस्पतालका लागि खरिद गरिएको अक्सिजन प्लान्टमा अनियमितता भएको पाइएको छ । जसका कारण खरिद गरेर ल्याइएका अक्सिजन प्लान्टको जडान कार्य रोकिएको छ । 

सल्यान : अक्सिजन प्लान्ट भनेर जडान गरिएको अक्सिजन सिस्टम जेनेरेटर ।

कर्णाली प्रदेश सरकारले प्रदेशका १० जिल्लामध्ये चालू आर्थिक वर्षमा आठ जिल्लामा अक्सिजन मिनी प्लान्ट स्थापनाका लागि प्रतिजिल्ला ४० लाखका दरले तीन करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयमार्फत खरिद गर्न लागिएका अक्सिजन प्लान्ट नभएर सप्लायर्सले आफूखुसी अक्सिजन सिस्टम जेनेरेटर खरिद गरेका छन् । जसका कारण यो विषय विवादमा परेको छ ।

कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा.रविन खड्का भन्छन्–

कर्णालीका आठवटै जिल्लामा अक्सिजन प्लान्ट खरिद गर्ने निर्णय भएको हो । स्वास्थ्य कार्यालय सल्यानमा अक्सिजन प्लान्ट भनेर अक्सिजन सिस्टम जेनेरेटर जडान भएको तथ्य खुलेपछि अन्य जिल्लामा पनि अक्सिजन प्लान्ट जडानको काम रोकिएको छ । अक्सिजन प्लान्ट र अक्सिजन सिस्टम जेनेरेटरको मूल्य फरक पर्छ । अक्सिजन प्लान्टभन्दा अक्सिजन सिस्टम प्रविधि कमसल हो । अक्सिजन सिस्टम जेनेरेटर त्यति प्रभावकारी हुँदैन । 

कर्णालीका सल्यान, रुकुम पश्चिम, कालिकोट, डोल्पा, मुगु र जाजरकोटमा खरिद गरिएका अक्सिजन प्लान्ट नभएर अक्सिजन सिस्टम जेनेरेटर भएको भन्दै अहिले जडान रोकिएको छ । कालिकोट, रुकुम पश्चिम र मुगुमा विभूति मेडिटेक इन्टरनेसनल प्रालि काठमाडौंले अक्सिजन प्लान्ट खरिद गर्ने ठेक्का पाएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा.रविन खड्काले जानकारी दिए । त्यस्तै, सल्यान र डोल्पामा ड्रागन मेडिटेक प्रालि सुर्खेतले ठेक्का पाएको थियो । 

अक्सिजन सिस्टम जेनेरेटरको बजार मूल्य दुई लाखदेखि तीन लाख रुपैयाँ पर्ने चिकित्सकहरूको भनाइ छ । अक्सिजन सिस्टम जेनेरेटरले हाइफ्लो अक्सिजन दिन सक्दैन, सिलिन्डरमा अक्सिजन भरेर दिन सक्दैन, पाँच–दस लिटर अक्सिजन लिटर चाहिने बिरामीलाई मात्र पाइपबाट अक्सिजन दिन मिल्छ । अक्सिजन सिस्टम जेनेरेटर धेरै समय चलाउन मिल्दैन, बिरामीलाई आवश्यक परेका वेला मात्र यो चलाउन सकिन्छ । 

कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा.रविन खड्काले आठवटै जिल्लामा अक्सिजन प्लान्ट खरिद गर्ने निर्णय गरेको जानकारी दिए । ‘अक्सिजन प्लान्ट र अक्सिजन सिस्टम जेनेरेटरको मूल्य त फरक परिहाल्छ नि,’ उनले भने, ‘अक्सिजन प्लान्टभन्दा अक्सिजन सिस्टम प्रविधि कमसल हो । अक्सिजन प्लान्ट र अक्सिजन सिस्टम जेनेरेटरको विशेषताका विषयमा बायोमेडिकल इन्जिनियरलाई बढी थाहा होला । अक्सिजन सिस्टम जेनेरेटर त्यति प्रभावकारी हुँदैन ।’ 

सल्यान स्वास्थ्य कार्यालयमा अक्सिजन प्लान्ट भनेर अक्सिजन सिस्टम जेनेरेटर जडान भएको तथ्य खुलेपछि अन्य जिल्लामा पनि अक्सिजन प्लान्ट जडानको काम रोकिएको निर्देशक डा.खड्काले बताए । ‘अस्पतालका १५ बेडका बिरामीलाई अक्सिजन दिने गरेर प्लान्ट जडान गर्न लागिएको थियो,’ उनले भने, ‘सल्यानमा कैफियत पाइएपछि अहिले सबै जिल्लामा अक्सिजन प्लान्ट जडान रोकिएको छ ।’

बायोमेडिकल इन्जिनियर ल्याएर त्यसको क्षमता, मूल्यलगायतका विषयमा छानबिन गरेर मात्र अब अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिने निर्देशक खड्काले स्पष्ट पारे । ‘सल्यानमा आउनेबित्तिकै जडान गरिएछ । प्राविधिक कुरा भएकाले पहिले त्यो थाहा भएन । अब आएको सामान प्राविधिक पक्ष हेरेर मात्र जडान गर्ने भनी जिल्ला अस्पतालमा पुगेका सामग्री थन्क्याएर राखिएको छ,’ उनले भने, ‘यो विषयमा संसदीय समितिले छानबिन गरिरहेको छ, समितिको निष्कर्षपछि एउटा निचोड आउला ।’

संसदीय समितिले छानबिन प्रक्रिया अघि बढायो
अक्सिजन प्लान्ट खरिदमा अनियमितता भएको आशंकामा कर्णाली प्रदेश सभाको दुईवटा समितिले छानबिन प्रक्रिया अगाडि बढाएका छन् । कर्णाली प्रदेश सभाका सार्वजनिक लेखासमिति र सामाजिक विकास समितिले छानबिन प्रक्रिया अगाडि बढाएका हुन् ।

अक्सिजन प्लान्ट खरिद प्रक्रियामा अनियमितता भएको आशंका गरिएको र तत्काल भुक्तानी रोक्न सम्बन्धित कार्यालयलाई निर्देशन दिएको सामाजिक विकास समितिका अध्यक्ष देवी ओलीले बताइन् । ‘यो प्रकरणको यथार्थता बाहिर ल्याएपछि मात्र भुक्तानी प्रक्रियामा जानु भनेर निर्देशन दिएका छौँ,’ उनले भनिन्, ‘सबैभन्दा पहिले निष्पक्ष छानबिन गर्न आवश्यक छ । यो प्राविधिक विषय भएका कारण सबै कुरा हामीलाई जानकारी हुने कुरा भएन । प्राविधिक मगाएर सामानको विषयमा जानकारी लिन जरुरी छ ।’

सार्वजनिक लेखा समितिले छानबिन सुरु गरिसकेको र तीन दिनभित्र कागजात पठाउन प्रदेश सरकारलाई निर्देशन दिएको सार्वजनिक लेखा समितिका अध्यक्ष दिनबन्धु श्रेष्ठले जानकारी दिए । ‘सामाजिक विकास मन्त्रालयबाट अन्य जिल्लाको कागजात माग गरेका छौँ,’ उनले भने, ‘मेडिकल इन्जिनियरसहितका विज्ञहरूलाई बोलाइसकेका छौँ । त्यो मेसिन के हो, त्यसको मूल्य कति पर्छ लगायत भन्नेबारे अध्ययन गर्नेछौँ ।’

जिल्ला अस्पताल सल्यानमा अक्सिजन प्लान्ट जडान गर्नुपर्नेमा अक्सिजन सिस्टम जेनेरेटर जडान गरिएको छ । अस्पतालले अक्सिजन प्लान्ट खरिद गर्न सूचना निकाले पनि सुर्खेतस्थित ड्रागन मेडिटेकले अक्सिजन सिस्टम जेनेरेटर खरिद गरेर पठाएको हो । स्वास्थ्य निर्देशनालय र अस्पताल मिलेर अक्सिजन प्लान्ट आवश्यक गरी सूचना गरे पनि सप्लायर्सले अर्कै सामग्री ल्याएपछि मागअनुसार नआएकाले नराख्ने निर्णय भएको स्वास्थ्य कार्यालय सल्यानका प्रमुख दशरथ श्रेष्ठले बताए । 

‘अक्सिजन प्लान्ट राख्‍न ४० लाख बजेट छुट्याए पनि विभिन्‍न शीर्षकको बजेट गरी करिब ५१ लाख रुपैयाँ खर्च हुन्छ,’ उनले भने, ‘पहिला हामीलाई थाहा भएन, अहिले हामीले त्यो फिर्ता गर्ने तयारी गरिरहेका छौँ । अख्तियार र कर्णाली प्रदेश सभाले पनि छानबिन गरिरहेको छ ।’ अक्सिजन प्लान्टका लागि कर्णाली प्रदेशबाट आएको रकममध्ये ४० लाखको टेन्डर आह्वान गरेको र सोही रकमबाट ३९ लाखमा सुर्खेतको एक कम्पनीसँग सम्झौतापछि मेसिन अस्पताल आएको कार्यालयले जनाएको छ । ३९ लाख रुपैयाँमा खरिद गरिएको भनिएको अक्सिजन सिस्टम जेनेरेटरको मूल्य त्यति धेरै नपर्ने चिकित्सकहरूले बताएका छन् ।

अख्तियारले माग्यो फाइल 

रुकुम पश्चिम : दुई महिनाअघि नै ल्याइएको अक्सिजन सिस्टम जेनेरेटर जडान नगरी छोपेर राखिएको अवस्थामा ।


रुकुम पश्चिममा अक्सिजन प्लान्ट खरिदमा अनियमिता भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फाइल झिकाएको छ । दुई महिनाअघि जिल्ला अस्पताल रुकुम पश्चिममा अक्सिजन प्लान्ट आइपुगेको थियो । तर, अनियमितता भएको आशंकापछि जडान रोक्का भएको हो । स्वास्थ्य कार्यालयले प्लान्ट जडान गर्न आवश्यक पर्ने पाइपलाइन, अक्सिजन ट्यांकीलगायतका सामग्री गरिदका लागि टेन्डर गरिसकेको छ । तर, मुख्य मेसिन खरिदमा अनियमितता भएको हुन सक्ने भन्दै अख्तियारले खरिदसम्बन्धी फाइल माग गरेको हो ।

अख्तियारले छानबिन थालेपछि कर्णाली प्रदेशको संसदीय समितिले यसका बाँकी काम अघि नबढाउन निर्देशन दिएको छ । अस्पतालको अनुगमनका लागि आएको संसदीय समितिको टोलीले अक्सिजन प्लान्टको बाँकी काम अगाडि नबढाउन निर्देशन दिएको हो । अक्सिजन प्लान्ट जडानका लागि कर्णाली प्रदेश सरकारले ५८ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । स्वास्थ्य कार्यालयले खोलेको टेन्डरबाट ३९ लाख २२ हजार रुपैयाँमा मुख्य मेसिन खरिद गरेर जिल्ला पु¥याइएको थियो । बाँकी १८ लाखले पाइपलाइन र अक्सिजन स्टोरका लागि पाँच सय लिटर क्षमताको ट्यांकी खरिद प्रक्रिया अघि बढाइएको थियो ।

अक्सिजन प्लान्ट खरिदमा आर्थिक हिनामिना भएको हुन सक्ने आशंकामा आयोगको कार्यालय सुर्खेतले मेसिन खरिदसम्बन्धी फाइल मागेको स्वास्थ्य कार्यालय रुकुम पश्चिमका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक विष्णुबहादुर बुढाथोकीले जानकारी दिए । मेसिनको परल मूल्यभन्दा बढी देखाएर सामग्री खरिद गरिएको भन्ने आशंका भएपछि प्लान्टको काम रोकिएको छ । विभूति मेडिटेक इन्टरनेसनल प्रालिले १६ जेठसम्म अक्सिजन प्लान्ट जडान गरिसक्ने बताएको थियो । प्लान्टबाट प्रतिमिनेट ४० एलपिएम अक्सिजन प्रवाह हुने कम्पनीले जनाएको छ । मेसिन अस्पतालसम्म आइपुगे पनि स्वास्थ्य कार्यालयले रकम भुक्तानी गरिसकेको छैन । 

डोल्पामा पनि जडान रोकियो
डोल्पामा पनि अक्सिजन प्लान्ट नभएर अक्सिजन सिस्टम जेनेरेटर खरिद गरेको आशंकामा जडानको काम रोकिएको छ । सल्यान जिल्ला अस्पतालमा मेसिन खरिद गरेको कम्पनीले नै डोल्पा जिल्ला अस्पतालमा अक्सिजन प्लान्टको सामान खरिद गरेकाले तत्कालका लागि जडान कार्य रोकिएको हो ।

सल्यानमा ड्रागन मेडिटेक प्रालिले अक्सिजन प्लान्ट भन्दै अक्सिजन सिस्टम जेनेरेटर जडान गरेको थियो । अक्सिजन प्लान्ट नभएर अक्सिजन सिस्टम जेनेरेटर भएको आशंकामा जडान कार्य रोकिएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालय डोल्पाका निमित्त प्रमुख अमरसिंह शाहीले बताए । ‘अक्सिजन प्लान्ट खरिदमा ठेकेदार कम्पनीले बेइमानी गरेको हामीले आंशका गर्‍यौँ,’ उनले भने, ‘त्यसैले सम्झौता रद्द गरेका छौँ । नयाँ ठेक्काका लागि तयारी थालेका छौँ ।’ ड्रागन मेडिटेक प्रालिसँग २९ लाख रुपैयाँमा सम्झौता भएको निमित्त कार्यालय प्रमुख शाहीले बताए । ‘पाइपलाइनका लागि सूचना प्रकाशित गरेका थियौँ,’ उनले भने, ‘त्यसको कसैले पनि सूची दर्ता गराएका छैनन् ।’

जाजरकोटमा म्याद सकिँदासम्म पनि अक्सिजन प्लान्ट आएन 
स्वास्थ्य कार्यालय जाजरकोटमा १५ जेठभित्र अक्सिजन प्लान्ट ल्याई जडान गर्नुपर्ने सम्झौता गरेको नेपटेक मेडिकल सप्लायर्सले सम्झौता मितिसम्म काम पूरा गर्न सकेन । बरु १४ जेठमा म्याद थप्न पत्र पठाएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख टीकाराम जैसीले बताए । पत्रअनुसार सप्लायर्सलाई २० जेठसम्म मिति थप गरिएको उनले बताए । ‘पटक–पटक समयसीमाभित्र अक्सिजन प्लान्ट ल्याउने वचन दिएको सप्लायर्सले अन्तिममा आएर म्याद थपको चिठी पठाएकाले सो सप्लायर्सले काम गर्न नसक्ने पक्का भएको छ,’ उनले भने । 

रुकुम पश्चिम, सल्यानलगायतका जिल्लामा अक्सिजन प्लान्टका नाममा अक्सिजन सिस्टम जेनेरेटर खरिद गरी बदमासी गरेको खबर सार्वजनिक भएपछि जाजरकोटमा अक्सिजन प्लान्ट खरिद कार्यमा संलग्न सप्लायर्सका नरबहादुर लिम्बूले ढिला गरेको आशंका गरिएको छ । अक्सिजन सिलिन्डर खरिदका लागि भएको बोलपत्रमा भवानी प्याथोक्यापका भीमबहादुर महताराले एक सय ४० वटा सिलिन्डर २० जेठभित्र स्वास्थ्य कार्यालयमा पु¥याउने जानकारी दिएको जैसीले बताए । 

कोरोना अस्पतालमा रूपान्तरण भएको जाजरकोट जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट समयसीमाभित्र आइनपुग्दा पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले पठाएका दुईवटा अक्सिजन कन्सन्ट्रेटरले काम चलाइएको छ । अहिले स्वास्थ्य कार्यालयमा एक सय ४० वटा अक्सिजन सिलिन्डर छन् । जसमध्ये ४० वटा सिलिन्डर पूर्वमन्त्री बस्नेतले पठाएका थिए । 

कालिकोटमा सप्लायर्सले लगे भुक्तानी
कालिकोट जिल्ला अस्पतालले सप्लायर्स विभूति मेडिटेक इन्टरनेसनललाई अक्सिजन सिस्टम जेनेरेटरबापतको ३८ लाख ८० हजार रुपैयाँ भुक्तानी गरिसकेको छ । बायोइन्जिनियरले ठीक छ भनेका आधारमा भुक्तानी दिइएको हुन सक्ने कालिकोटका स्वास्थ्य प्रमुख कटकबहादुर महतले बताए । ‘म अहिले मात्रै कार्यालय प्रमुखको रूपमा आएको छु । यसअघि डा. भीष्मजी हुनुहुन्थ्यो,’ उनले भने, ‘सबै कुरा सही भएका कारण हामीले भुक्तानी दिएका हौँ ।’

अक्सिजन प्लान्ट मुगु आइपुग्यो, तर जडान भएन

गत बैशाख २४ गते नै अक्सिजन प्लान्टको सामान मुगु अस्पताल आइपुगेको हो । अक्सिजन प्लान्ट मुगु आइपुगेपनि जडानका लागि पाइपलाइन नहुँदा अझै जडान हुन नसकेको अस्पतालले जनाएको छ । पाइपलाइन जडानका लागि १८ लाख ८७ हजारमा ७ दिनको बोलपत्र आह्वान गरिएको छ ।

रकम भुक्तानी

जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि ३८ लाख ८० हजार रुपैयाँ भुक्तानी गरिएको छ ।  बिभूती मेडिटेक इन्टरनेश्ल सप्लायर्सको बिल भर्पाइ र सम्झौता अनुसार ३८ लाख ८० हजार रकम कम्पनीको बैंक खातामार्फत भुक्तानी गरिएको जिल्ला अस्पताल मुगुका लेखा अधिकृत सुरेश कुमार केसीले बताए ।