Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
दिपेश शाही काठमाडाैं
२०७८ जेठ १८ मंगलबार ०५:५०:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज

लुम्बिनीमा विपक्षी गठबन्धनका उम्मेदवार पाण्डेय विजयी

Read Time : > 2 मिनेट
दिपेश शाही, काठमाडाैं
२०७८ जेठ १८ मंगलबार ०५:५०:००

सत्ता पक्षका उम्मेदवार चन्द्रबहादुर खड्का : ३६१२ मतभार प्राप्त
विपक्षीका उम्मेदवार दृगनारायण पाण्डेय : ४१४० मतभार प्राप्त (विजयी)

लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि भएको उपनिर्वाचनमा विपक्षी गठबन्धनको समर्थन रहेका कांग्रेस उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन् । विजयी पाण्डेयले सत्तारुढ एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पाँच सय २८ मतभारले पराजित गरेका हुन् ।

सोमबार भएको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा निर्वाचित पाण्डेयले ४१४० मतभार प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी खड्काले ३६१२ मतभार प्राप्त गरे । सत्तारुढ एमालेले राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा बागमती प्रदेशपछि व्यहोर्नुपरेको दोस्रो हार हो ।

लुम्बिनीमा प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधि गरी कुल तीन सयजना मतदाता थिए । निर्वाचन आयोगका अनुसार सोमबार भएको मतदानमा जम्मा दुई सय ९६ जनाले मतदान गरे । लुम्बिनी प्रदेश निर्वाचन आयोगको कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार मतदानमा दुई सय ९७ जना सहभागी भए पनि एकजनाले खाली कागज मात्रै मतपेटिकामा खसाएका कारण त्यसको गणना गरिएको छैन । खसेकामध्ये पनि स्थानीय तहका जनप्रतिनिधि एकजना र प्रदेश सभा सदस्य एकजनाको मत बदर भएको थियो ।

मतदानमा स्थानीय तहतर्फका बाँकेको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख धवलशमशेर राणा, बाँकेकै नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह र गुल्मीको गुल्मी दरबार गाउँपालिकाका अध्यक्ष अशोककुमार थापा उपस्थित भएनन् । नेपालगन्ज उपमहानगरपालिकाका मेयर राणाले कांग्रेस र एमालेलाई जिताउने निर्वाचनमा सहभागी हुनुभन्दा कोरोना संक्रमितको उपचारमा समय दिन उत्तम भएको भन्दै सार्वजनिक रूपमा निर्वाचन बहिष्कार गरे । यस्तै, नरैनापुर गाउँपालिकाका अध्यक्ष शाह बिरामी भएर भारतको लखनउमा उपचाररत छन् भने गुल्मीको दरबार गाउँपालिका अध्यक्ष थापाको काठमाडौंमा उपचार भइरहेका हुँदा सहभागी हुन पाएनन् । 

स्थानीय तहतर्फ सदर भएकोे दुई सय १२ मध्ये पाण्डेउले एक सय १८ मत पाए भने एमालेका उम्मेदवार खड्काले ९४ मत प्राप्त गरे । यस्तै, प्रदेश सभाअन्तर्गत सदर भएका ८२ मतमध्ये पाण्डेयले ४२ मत र खड्काले ४० मत प्राप्त गरेका थिए । 

निर्वाचित भएका पाण्डेयलाई कांग्रेससँगै माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाको समर्थन थियो । यसअघि एमालेबाट प्रदेश सभा सदस्य रहेका पाण्डेयले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै पदबाट राजीनामा दिएर कांग्रेस प्रवेश गरेका थिए । एमाले छाडेर कांग्रेस प्रवेश गरेका उनलाई विपक्षी गठबन्धनले साझा उम्मेदवार बनाएको थियो । 

खड्काको पराजयसँगै सत्तारुढ एमालेले केही समयको अन्तरालमा भएका चुनावमा दोस्रो हार व्यहोरेको छ । यसअघि बागमती प्रदेशमा पनि माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेका रामबहादुर थापाको रिक्त स्थानमा भएको निर्वाचनमा उनी आफैँ पराजित भएका थिए । बागमतीमा एमालेकै झलनाथ खनाल र माधव नेपाल समूहका नेता खिमलाल देवकोटालाई विपक्षी गठबन्धनले उम्मेदवार बनाएको थियो । राष्ट्रिय राजनीतिमा सत्ता पक्ष र विपक्षीबीच द्वन्द्व चलिरहेको अवस्थामा दुवै पक्षले राष्ट्रिय सभाको उपनिर्वाचनलाई प्रतिष्ठाको विषय बनाएका थिए । 

लुम्बिनी प्रदेशको उपनिर्वाचनमा पराजित भएका खड्का माओवादी केन्द्र त्यागेर एमालेमा प्रवेश गरेका नेता हुन् । सर्वोच्च अदालतको २३ फागुनको फैसलासँगै एमाले र माओवादी केन्द्र ब्युँतिएपछि खड्का एमालेमा प्रवेश गरेका थिए ।

खड्का एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्रले कारबाही गरेको थियो । खड्का पदमुक्त भएपछि रिक्त स्थानमा भएको उपनिर्वाचनमा एमालेले खड्कालाई नै उम्मेदवार बनाएको थियो । 

उपनिर्वाचनमा निर्वाचित पाण्डेय भने यसअघि एमालेको तर्फबाट लुम्बिनी प्रदेशको प्रदेश सभा सदस्य थिए । मुख्यमन्त्री पोखरेललाई समर्थन गर्नुपर्ने अवस्था आएपछि उनले १९ वैशाखमा प्रदेश सभा सदस्यबाट राजीनामा दिएर कांग्रेस प्रवेश गरेका थिए । पाण्डेय ०७४ मा भएको प्रदेश सभा निर्वाचनमा हृयदेश त्रिपाठी समूहबाट सूर्य चिह्न लिएर कपिलवस्तु क्षेत्र नम्बर २ ‘क’बाट निर्वाचित भएका थिए । त्रिपाठी स्वतन्त्र समूहमै रहे पनि पाण्डेय भने एमाले प्रवेश गरेका थिए । त्यसअघि पनि पाण्डे कांग्रेसकै सक्रिय नेता थिए ।

यससँगै राष्ट्रिय सभामा कांग्रेसको सात सिट पुगेको छ । राष्ट्रिय सभामा १३ जना सांसद रहेकोमा १९ माघ ०७६ मा दुईवर्षे पदावधि सकिएर उपनिर्वाचन हुँदा कांग्रेसबाट उठेका सातैजना पराजित भएर ६ जना मात्रै बाँकी थिए ।