मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ १७ सोमबार १२:०८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भूमिहीनलाई लालपुर्जा र युवालाई रोजगारी दिन्छौँ, खरका छाना हट्छ : राज्यमन्त्री मानन्धर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ १७ सोमबार १२:०८:००

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले जनताको जीवनरक्षा र जीवनस्तर सुधारका लागि सरकारले अधिकतम उपाय अवलम्बन गरिरहेको बताएका छन् । सोमबार बालाजु बाइपासमा निर्माणाधीन सूचना केन्द्र निर्माण उपभोक्ता समितिका पदाधिकारीसँगको छलफलमा मन्त्री मानन्धरले सरकारले कोभिड महामारी नियन्त्रणकेन्द्रित बजेट ल्याएको बताउँदै उपचार र खोप सुनिश्चितताका लागि बजेटको कमी नहुने दाबी गरे ।

मंसिरमा हुने निर्वाचनअगावै सम्भव भएसम्म सबै  नागरिकलाई निःशुल्क खोपको प्रबन्ध गर्ने गरी सरकारले काम गरिरहेको दाबी गरे । खोप व्यवस्थापनका लागि २६ अर्ब ७५ करोड रुपैयाँ विनियोजन भएको बताउँदै मन्त्री मानन्धरले अबको केही दिनभित्र खोप आयात सुनिश्चित हुने दाबी गरे । 

समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा हुने गरी बजेट आएको दाबी गर्दै मन्त्री मानन्धरले सबै नेपालीले अपनत्व ग्रहण गर्ने जनमुखी बजेट आएको दाबीसमेत गरे । सरकारले जनताको जीवनरक्षासँगै जीवनस्तर सुधारका लागि महत्वाकांक्षी बजेट ल्याएको दाबी गरे ।  विपत् सामना गरिरहेका जनताको समृद्धिको चाहना पूरा गर्न सरकारले सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरेको उल्लेख गर्दै सबै जागरिकले गर्व गर्ने बजेट आएको बताए ।  

महामारिबीच ठूला विकास आयोजनाहरूको निर्माण चलिरहेको बताउँदै मन्त्री मानन्धरले विकास निर्माणका काममा सहजीकरणका लागि सरकारले काम गरिरहेको पनि बताए । निर्माणाधीन आयोजनामा बजेटसहित अन्य प्राविधिक समस्या नहुने बताउँदै सहजीकरणका लागि अनुगमन थालिने जानकारी पनि दिए । 

केही नेताको व्यक्तिगत कुण्ठाका कारण राजनीति केही धुमिल भएको बताउँदै जनताको समृद्धिको सपना पूरा गरेरै छाडिने दाबी पनि गरे ।  मन्त्री मानन्धरले तत्कालीन नेकपा र हाल एमालेभित्रका केही नेताले जनमुखी काम गर्न नदिन खोजेको दबी गर्दै सबै अवरोधको सामना गर्दै सरकार जनताको हितमा निरन्तर काम गरिरहेको दाबी गरे ।

सरकारले जनताको हितमा काम गरेको एमालेकै केही नेता र विपक्षी दलहरूलाई मन नपरेको बताउँदै मन्त्री मानन्धरले जनविरोधी तत्वहरूलाई आगामी चुनावमार्फत जनताले जवाफ दिने बताए । देशको विकासका लागि एमालेकै नेतृत्वमा सरकार हुनुपर्ने बताउँदै मन्त्री मानन्धरले आगामी चुनावबाट जनताले फेरि एमालेलाई अनुमोदन गर्ने दाबी गरे । 

मन्त्री मानन्धरले बेरोजगार युवालाई लक्षित गरी सरकारले ५ प्रतिशत ब्याजदरमा २५ लाखसम्मको कर्जाको व्यवस्था गरेको बताउँदै स्वरोजगार हुन चाहनेहरूका लागि सहजीकरण गरिने बताए । भूमिहीन दलित, सुकुमबासी, जग्गाविहीनलाई आगामी आर्थिक वर्षमा जग्गाधनी पुर्जा उपलब्ध गराइसक्ने सरकारको योजना रहेको बताउँदै मन्त्री मानन्धरले दलित, मुस्लिम र मुक्त कमलरी महिलालाई निःशुल्क उच्च शिक्षाको प्रबन्ध मिलाइने बताए । 
मन्त्री मानन्धरले आगामी वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत कम्तीमा दुई लाख युवालाई रोजगारी दिइने बताउँदै अन्य क्षेत्रमा पनि व्यापक रोजगारी सिर्जजना गरिने दाबी गरे । 

सहरी विकास मन्त्रालयमातहत एक लाख ६८ हजार घरका खरका छाना जस्तापाताले विस्थापित गरिने बताउँदै प्रतिपरिवार ७५ हजार अनुदानको व्यवस्था गरिएको उनले बताए । सरकारले कृषिलाई उच्च प्राथमिकता दिएको बताउँदै मन्त्री मानन्धरले साना किसानलाई राहत हुने गरी बजेट आएको दाबी पनि गरे । आगामी तीन वर्षभित्र मुलुकमा आफ्नै रासायनिक मल कारखाना स्थापना हुने बताउँदै यो वर्ष १२ अर्ब बजेट सुनिश्चित भएको मानन्धरको भनाइ छ ।