मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ १७ सोमबार ०६:४५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

ओलीको आरोप–  तिन (खनाल–नेपाल  समूह)ले खाएको शपथ झुटो हो,  बेइमानी हो, तिनका शपथभित्र स्वार्थ  पूरा गर्ने कपट लुकेको हुन्छ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ १७ सोमबार ०६:४५:००

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले पछिल्लो राजनीतिक संकटका लागि आफ्नै पार्टीका शीर्ष नेताहरू जिम्मेवार रहेको बताएका छन् । एमालेभित्रैका नेताहरूले देशमा अनिष्ट निम्त्याउने काम गरिरहेको ओलीको आरोप छ । आइतबार राजधानीमा भएको कार्यक्रममा ओलीले कारबाही गरिएका नेता माधवकुमार नेपाल र झलनाथ खनाललगायतले विपक्षीको नेतृत्वमा सरकार बनाउन अराजक गतिविधि गरिरहेको आरोप पनि लगाए ।

‘तिन (खनाल–नेपाल समूह)ले खाएको शपथ झुटो हो, तिनको शपथ बेइमानी हो । तिनका शपथभित्र स्वार्थ पूरा गर्ने कपट लुकेको हुन्छ । अहिले तिनले खाएका शपथ सम्झनुहोस् त ! तिनले कहाँ–कहाँ शपथ खाए होलान्,’ तेस्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘तर, देशको विरुद्ध बहुतै ठूलो अनिष्टको काम गरिरहेका छन् । जब नेतृत्व तहबाट त्यस प्रकारका कामहरू हुन्छन्, नेतृत्व तह अनुशासनहीन र अराजकतामा उत्रिन्छ ।’

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षरसहित शीतलनिवास पुगेका नेपाललाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने, ‘सम्माननीय राष्ट्रपतिज्यूकोमा गएर एकजनाले म विरोधमा आएको छु भन्नुभएछ गर्वसाथ । शरम छैन । जब नेतृत्व तह यस्तो हुन्छ माथिबाटै धमिलो पानी बगेपछि तल सङ्लो कहाँबाट आउँछ ? माथिबाटै धमिलो पानी बग्ने, बगाउने काम भइरहेको छ । यो चिन्ताको विषय छ ।’

राजनीतिक दल र तिनका नेताहरू अनशासनहीन, अराजक, पार्टी निर्देशनविपरीत फ्लोर क्रस गर्ने, पार्टी अनुशासन नमान्ने र पार्टी फोड्ने, पार्टीका विरुद्ध जाने, अर्कै उम्मेदवार उठाउनेजस्ता दुनियाँको कुनै इतिहासमा नभएको घटना नेपालमा भएको उनको भनाइ छ । ओलीले राजनीतिक स्वतन्त्रतासँग सामाजिक न्याय र समानता भएपछि मात्रै वास्तवमा लोकतान्त्रिक समाज निर्माण हुने र जनताको व्यवस्था हुने बताए । समृद्धि र समानता भएको स्थानमा लोकतान्त्रिक समाज हुने भन्दै उनले प्रजातान्त्रिक समाज निर्माणका लागि नागरिक स्वतन्त्रता, राजनीतिक हक–अधिकार, सामाजिक हक–अधिकार, समृद्धि र न्यायसहितको समानताको सुनिश्चितता हुनुपर्ने बताए ।