मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ १६ आइतबार १७:४५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसदबाहिरबाट बजेट ल्याउने कुरा संविधानले कल्पना गरेको छैन : गगन थापा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ १६ आइतबार १७:४५:००

कांग्रेस नेता गगन थापाले नेपालको संविधानले संसदबाहिरबाट बजेट ल्याउने कुरा कल्पना पनि नगरेको बताएका छन् । ‘संसद् नभएको वेलामा बजेट ल्याउने कुरा संविधानले कल्पना पनि गरेको छैन, यो चरम अलोकतान्त्रिक र अनैतिक काम हो,’ थापाले भने । उनले संविधानले जेठ १५ गते नै बजेट ल्याउनुपर्ने व्यवस्था गरेको यथार्थ भए पनि प्रधानमन्त्रीले त्यसको दुरुपयोग गरेको बताए । 

आइतबार कांग्रेस नेता डा. शेखर कोइरालाको आयोजनामा भएको भर्चुअल छलफलमा नेता थापाले कामचलाउ सरकारबाट पूर्ण बजेट ल्याएर प्रधानमन्त्रीले आफ्नो राजनीतिक अभीष्ट पूरा गर्ने कोसिस गरेको बताए । ‘हामीले सर्वोच्च अदालतमा रिट निवेदन गरेका छौँ, हामीलाई विश्वास छ, संसद् पुनस्र्थापना हुन्छ । त्यसकारण यो सरकार कामचलाउ मात्रै हो । अर्को प्रधानमन्त्रीकै दाबीलाई मान्ने हो भने पनि सरकारले चुनावको घोषणा गरेको छ, र पनि सरकार कामचलाउ नै हो,’ थापाले भने, ‘उहाँकै दाबीअनुसार पनि मंसिरपछि अर्को सरकार आउँछ, अर्को सरकारले यस्तो बजेट कसरी ल्याउने ? त्यसैले यो विशुद्ध अनैतिक कुरा हो ।’

नेता थापाले संसदलाई छलेर ल्याएको बजेटबाट करको दर हेरफेर गर्ने कुरा आपराधिक भएको बताए । ‘जनसहभागिताविना, संसदमा प्रस्तुत नगरीकन करको दर हेरफेर गर्ने कुरा अनैतिक मात्रै होइन, आपराधिक कार्य पनि हो,’ थापाले भने, ‘त्यसकारण यसलाई सरकारले ल्याईहाल्यो भनेर मान्यौँ भने यो नजिरका रूपमा स्थापित हुन्छ, यो अनैतिक, असंवैधानिक र आपराधिक काम भएको छ, यसलाई स्विकार्न सकिँदैन ।’

उनले सरकारले बजेटमा हासिल गर्नै नसकिने प्रकृतिका उद्देश्यहरू लिएको बताए । ‘सरकारले १६ खर्बको बजेट प्रस्तुत गरेको छ, तर सरकारले गरेको वैदेशिक ऋण, राजस्व वृद्धिको लक्ष्य र जति रकम खर्च गर्छु भनेको छ, यी एउटा कुनै पनि कुरा अहिलेको वास्तविकतासँग मेल खाँदैनन्, त्यसैले यी विषयमाथि छलफल गर्नुको कुनै तात्पर्य छैन । यीमध्ये कुनै एउटा कुरालाई मात्रै पनि उहाँले भेट्नुभएछ भने म जुनसुकै मूल्य चुकाउन पनि तयार छु,’ थापाले भने, ‘यस्तो छल, यस्तो ढाँट, आफूलाई मन लागेको कुरा राखेर यसरी तथ्यतथ्यांकलाई तोडमोड गरेर राख्ने कुरा आपराधिक कार्य नै हो ।’

उनले कांग्रेसले सरकारले बजेटमार्फत छल गर्न खोजेको यथार्थ कांग्रेसले तल्लो तहसम्म पु¥याउनुपर्ने बताए । ‘संसदबाटभन्दा बाहिरबाट कामचलाउ सरकारले यसरी बजेट ल्याउने, करको दर तलमाथि गर्ने कुरा अनैतिक छ, यसलाई तल्लो तहसम्म पु¥याउन सक्नुपर्छ, भन्न सक्नुपर्छ, मानिसहरूलाई भुलाउने कुरा बजेटमा ल्याइएको छ, यो कुरा मानिसहरूलाई बुझाउनुपर्छ,’ उनले भने ।