१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ १६ आइतबार १५:२४:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री ओली भन्छन्– माथिबाटै धमिलो पानी बगेपछि तल सङ्लो कहाँबाट आउँछ ? (भिडियोसहित)

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ १६ आइतबार १५:२४:००

प्रधानमन्त्री केपी ओलीले पार्टीभित्रैका नेताबाट देशका लागि अनिष्ट हुने काम भइरहेको बताएका छन् । तेस्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसदीय प्रणाली र दलीय प्रणालीमा विश्वमै कतै नहुने घटना नेपालमा भइरहेको बताए । उनले वरिष्ठ नेता माधवकुमार नेपालप्रति इंगित गर्दै नेतृत्व नै धमिलो भएपछि कार्यकर्तामा प्रभाव पर्नु स्वाभाविक भएको टिप्पणी गरे । 

ओलीले भने, ‘तिनले खाएको शपथ झुटो हो, तिनको शपथ बेइमानी हो । तिनका शपथभित्र स्वार्थ पूरा गर्ने कपट लुकेको हुन्छ । अहिले तिनले खाएका शपथ सम्झनुहोस् त । तिनले कहाँ–कहाँ शपथ खाए होलान्, तर देशको विरुद्ध बहुतै ठूलो अनिष्टको काम गरिरहेका छन् । जब नेतृत्व तहबाट त्यस प्रकारका कामहरू हुन्छन् । नेतृत्व तह अनुशासनहीन र अराजकतामा उत्रिन्छ । सम्माननीय राष्ट्रपतिज्यूकोमा गएर एकजनाले म विरोधमा आएको छु भन्नुभएछ गर्वसाथ । शरम छैन । जब नेतृत्व तह यस्तो हुन्छ माथिबाटै धमिलो पानी बगेपछि तल सङ्लो कहाँबाट आउँछ ? माथिबाटै धमिलो पानी बग्ने, बगाउने काम भइरहेको छ । यो चिन्ताको विषय छ ।’

राजनीतिक दल र तिनका नेताहरू अनशासनहीन, अराजक, पार्टी निर्देशनविपरीत फ्लोर क्रस गर्ने, पार्टी अनुशासन नमान्ने र पार्टी फोड्ने, पार्टीका विरुद्ध जाने, अर्कै उम्मेदवार उठाउनेजस्ता दुनियाँको कुनै इतिहासमा नएको घटना नेपालमा भएको उनले बताए । ओलीले भने, ‘समाजलाई अमर्यादाले एकताबद्ध बनाउँदैन । परपीडक प्रवृत्तिले अर्काको आँसुमा रमाउने खालका परपीडक । यो गम्भीर चिन्ता र चासोको विषय हो । परपीडक, असभ्य, छाडा र अराजक तत्व अहिले पनि आफूलाई विद्वान् ठान्ने । तिनको जिन्दगी खेर गएको देखेर पनि दुःख लाग्छ । उच्च जिम्मेवारी र मर्यादामा रहेका व्यक्तिको अपमान र मनपरी गाली गर्नु आफ्नो बहादुरी ठान्ने प्रवृत्ति यो समाजका लागि कति हानिकारक छ ? यो कुनै अरू जीवजन्तुले होइन । आफू पढेलेखेको जान्ने–सुन्ने सभ्य छु भन्ने जान्ने, भात होइन पिजा खानेहरूबाट यस्ता कामहरू भइरहेको छ ।’

विभिन्न चरणको आन्दोलन र राजनीतिक योगदानका कारण संवैधानिक र कानुनी हिसाबले राज्यका सबै अंगमा महिलाको ३३ प्रतिशत सुनिश्चितताको उपलब्धि प्राप्त भए पनि कतिपयलाई यही उपलब्धि चित्त नबुझेको ओलीले टिप्पणी गरे । उनले भने, ‘कतिपयलाई यो कुरा चित्त बुझेको छैन । कतिपयमा पुरुषप्रधानताको सामन्ती सोचले जकडिएको छ । आधुनिक युग, अझै सभ्य, अझै सुसंस्कृत हुँदै जानुपर्ने हो, तर केही पछाडि परेका तत्वहरू छन्, असभ्य तत्वहरू, परपीडक तत्वहरू । मानवीय भावनामा उठ्नै नसकेका । तिनीहरूले सामाजिक समानता, न्यायजस्ता कुराहरू बुझ्ने त कुरा छोड्दिनुहोस्, उनीहरू परपीडकको हिसाबमा अरूको अपमान गर्ने, छाडापन, अश्लीलता, अराजकता फैलाएर समाजलाई विखण्डित गर्ने काम गर्छन् ।’

ओलीले राजनीतिक स्वतन्त्रतासँग सामाजिक न्याय र समानता भएपछि मात्रै वास्तवमा लोकतान्त्रिक समाज निर्माण हुने र जनताको व्यवस्था हुने बताए । समृद्धि र समानता भएको स्थानमा लोकतान्त्रिक समाज हुने भन्दै उनले प्रजातान्त्रिक समाज निर्माणका लागि नागरिक स्वतन्त्रता, राजनीतिक हक–अधिकार, सामाजिक हक–अधिकार, समृद्धि र न्यायसहितको समानताको सुनिश्चितता हुनुपर्ने बताए । 

विगतमा महिला अधिकारका लागि भएका आन्दोलन तथा योगमाया, कमलादेवी सिंह, सहाना प्रधानलगायत नेतृहरूको भूमिका र बलिदानीको चर्चा गर्दै उनले ती सबैले नेपाली समाजलाई राजनीतिक र सामाजिक परिवर्तनसँगै चेतना वृद्धिमा सहयोग पु¥याएको बताए । महिला हिंसा न्यूनीकरणका लागि महिला स्वयं पनि सचेत र गम्भीर हुनुपर्ने उनले बताए । उनले भने, ‘यो वा त्यो प्रकारका कुनै पनि महिला हिंसा, महिला हिंसा गर्ने कुरामा महिला पनि त्यत्ति कम छैनन् । महिलाहरू पनि सजग हुनुपर्छ यस्तो कुरामा । महिलामा महिलाजन्य स्नेहपूर्ण, ममतापूर्ण स्वभाव हुनुपर्छ । आफैँले आफैँलाई सच्याउनुपर्छ । ठीक ठाउँमा उभ्याउनुपर्छ । ठीक विचार लिनुपर्छ । ठीक व्यवहार–आचरण लिनुपर्छ । हामीले महिला दिदीबहिनीहरूलाई पुरुष बहकावमा नपर्न आग्रह गर्नुपर्छ । महिला हिंसाका विरुद्ध हामी सबै अगाडि बढ्नुपर्छ । महिला समस्या, विषय र आकांक्षाहरू महिलाका मात्रै नभई सामाजिक र मानव जातिका आकांक्षा भएकाले मानव जातिको उन्नति–प्रगतिका निम्ति आवश्यक आकांक्षा हुन् ।’

उनले पुरुषले सहयोगी भूमिका निर्वाह नगरेसम्म महिला आन्दोलन सफल गराउन कठिन हुने पनि बताए ।