१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
काठमाडाैं
२०७८ जेठ १६ आइतबार १०:००:००
Read Time : > 2 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपाल इराकसँग ६-२ गोलअन्तरले पराजित

Read Time : > 2 मिनेट
काठमाडाैं
२०७८ जेठ १६ आइतबार १०:००:००

मैत्रीपूर्ण खेलमा नेपाली फुटबल टोली इराकसित फराकिलो अन्तरले पराजित भएको छ । इराकको बसरास्थित अल्फायहा खेलमैदानमा शनिबार राति सम्पन्न खेलमा नेपाल इराकसँग ६–२ गोलअन्तरले पराजित भएको हो ।  

इराकसितको खेलमा नेपालको रक्षापंक्ति निकै कमजोर देखिन्थ्यो । मध्यान्तरअघिको खेलमा इराकले चार गोल गर्न सफल भएको थियो । मध्यान्तरपछिको खेलमा इराकले थप दुई गोल गरेको थियो । खेलमा इराकले सुरुआती अग्रता लिएको थियो । इराकका लागि खेलको सातौँ मिनेटमा कप्तान अला अब्दुल जहर खासिनले पहिलो गोल गरे । खासिनले प्रहार गरेको फ्रिकिकको नेपाली गोलरक्षक किरण चेम्जोङले बचाउ गर्न सकेनन् । लगत्तै इराकी खेलाडीले आफ्नै गोलपोष्टमा आत्मघाती गोल गरे ।  

खेलको आठौँ मिनेटमा इराकका अहमद इब्राहिमले आत्मघाती गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा पुर्‍याए । त्यसपछिको २२ मिनेटसम्म दुवै पक्षबाट गोल हुन सकेन । सो क्रममा दुवै पक्षबाट गोलको उत्कृष्ट प्रयास भएका थिए । खेलको ३०औँ मिनेटमा नेपालका लागि मनीष डाँगीले गोल गरे । उनले आफ्नो डेब्यु खेलमा उत्कृष्ट गोल मात्रै गरेनन् नेपाललाई २–१ गोलको अग्रतासमेत दिलाए । अग्रतालाई कायमै राख्न सकेको भए नेपालले फुटबलमा निकै बलियो मानिएको इराकलाई उसकै घरेलु मैदानमा पराजित गर्ने इतिहास नै बनाउँथ्यो ।

पहिलो हाफको अन्तिम समयमा इराकी खेलाडीले थप तीन गोल गर्दै नेपाली फुटबलप्रेमीलाई निराश पारे । खेलको ३५औँ मिनेटमा इराकी खेलाडी मोहम्मद अब्दुल जारा ओबेदले दोस्रो गोल गरे । यहीबीचमा नेपाली टोलीका महत्वपूर्ण खेलाडी रोहित चन्द टाउकोमा चोट लागेपछि मैदानबाट बाहिरिए । यही मौकामा यस्तै खेलको ४०औँ मिनेटमा तथा इन्जुरी समयमा इराकी खेलाडी अयमन हुसेनले खेललाई ४–२ को अवस्थामा पुर्‍याए।    

मध्यान्तरपछिको खेलमा नेपालले निकै दबाबमा खेल्नुपर्‍यो । यद्यपि इराकलाई मध्यान्तरअघिको खेलमा जस्तै धेरै गोल गर्न भने नेपाली टोलीले दिएन । खेलको ६७औँ मिनेटमा इराकका लागि मोहनाद अली अल्सामरीले गोल गर्दै ५–२ को अवस्थामा पर्‍याए । यस्तै खेलको ७५औँ मिनेटमा सज्जाद जासिमले गोल गर्दै इराकलाई ६–२ गोलअन्तरले विजयी गराए । नेपाली गोलरक्षक चेम्जोङले पहिलो हाफको तुलनामा मध्यान्तरपछिको खेलमा उत्कृष्ट खेल प्रदर्शन गरे ।  

नेपालले इराकसित दुई दशकपछि खेल खेलेको हो । यसअघि नेपालले इराकसित सन् २००१ मा खेलेको थियो । विश्व फुटबल महासंघ (फिफा)ले सार्वजनिक गरेको वरीयताअनुसार नेपालभन्दा इराक १०३ स्थान माथि छ । फिफाले बिहीबार सार्वजनिक गरेको वरीयतामा इराक ६८औँ स्थानमा छ भने नेपाल १७१औँ स्थानमा छ ।  

कोरोना भाइरसको महामारीका कारण शनिबारको खेलमा दर्शकलाई मैदान प्रवेशमा रोक लगाइएको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार इराकसँगको मैत्रीपूर्ण खेलपछि नेपाली फुटबल टोली फिफा विश्वकप छनोट प्रतियोगिता खेल्न कुवेत जानेछ । मैत्रीपुर्ण खेल, विश्वकप छनोट र एसियन कप छनोटका लागि राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २३ खेलाडी छनोट गरेका हुन् । समूह ‘बी’मा रहेको नेपालले विश्वकप छनोटअन्तर्गत जेठ २० गते चाइनिज ताइपेई, जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्ने कार्यक्रम रहेको एन्फाले जनाएको छ ।  

विश्वकप छनोटमा नेपालले हालसम्म पाँच खेलमा एउटामा जित तथा चार खेलमा हार व्यहोरेको छ । नेपाली टोलीको गोलरक्षकमा किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की, डिफेन्डरमा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल र विकास खवास, मिडफिल्डरमा विशाल राई, मनीष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी र आयुष घलान तथा फरवार्डमा अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ र आशिष लामा रहेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवाल पनि हाल नेपाली टोलीका साथ इराकमै छन् । नेपाली टोली जेठ २९ गते नेपाल फर्किनेछ ।     रासस