मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
गणेश लम्साल विराटनगर
२०७८ जेठ १५ शनिबार ०६:२५:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सिनेमा हलमा सुटुक्क कोरोनाको खोप

Read Time : > 2 मिनेट
गणेश लम्साल, विराटनगर
२०७८ जेठ १५ शनिबार ०६:२५:००

कोरोनाको दोस्रो लहर नियन्त्रण गर्न स्थानीय प्रशासनले निषेधाज्ञा लगाएकाले विराटनगर दिउँसै पनि चकमन्न हुने गरेको छ । तर, शुक्रबार त्यस्तो भएन । झमझम पानी परिरहे पनि विराटनगर महानगरपालिका– २ तिनपैनी चोकमा रहेको सिटी सिनेमा हलआसपास एकपछि अर्को गर्दै निजी सवारीसाधनको लाम लाग्न थाल्यो । गाडी चढेर आउनेहरू सिनेमा हलअगाडि गाडी रोकेर धमाधम भित्र प्रवेश गरिरहेका थिए । कोही हतारहतार बाहिरिँदै थिए । 

निषेधाज्ञाका वेला एकाएक मान्छेको आउजाउ बढेपछि स्थानीयले सोधीखोजी गरे । त्यसपछि पत्ता लाग्यो, ‘हलभित्र सुटुक्क भेला गरेर उद्योगी–व्यवसायीलाई कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोपको दोस्रो डोज लगाइँदै रहेछ ।’ 

होहल्ला हुन थाल्यो । महामारीका वेला उद्योगी–व्यापारीलाई मात्र खोप लगाइएको थाहा पाएपछि स्थानीय पनि भित्र पसे र अवरोध गर्न थाले । स्थानीय जागेपछि खोप लगाइदिन बसेकादेखि खोप लगाउन आएकासमेतको भागाभाग भयो । 

शुक्रबार त्यहाँ खोप लगाइँदै छ भन्ने सार्वजनिक सूचना थिएन । स्थानीयको अवरोधपछि मात्र प्रहरीले पनि थाहा पाएको थियो । प्रहरी टोली त्यहाँ पुग्दा स्थानीय आफूहरूले पनि खोप लगाउन पाउनुपर्ने भन्दै आक्रोशित थिए । अप्रिय घटना हुन नदिन प्रहरीले स्थानीयलाई सम्झाए भने हलभित्र बाँकी रहेका स्वास्थ्यकर्मी र उद्योगीलाई सुरक्षित घर पठाए । 

सार्वजनिक सूचना नै जारी नगरी शुक्रबार प्रदेश १ सरकारले एक सय उद्योगीका लागि कोभिसिल्डको दोस्रो डोज उपलब्ध गराएको थियो । खोप लगाइदिन सामाजिक विकास मन्त्रालयको पिकअप भ्यानमा स्वास्थ्यकर्मी कर्मचारी आएका थिए । स्थानीयका अनुसार सिनेमा हलमा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीसहित धनाढ्य उद्योगी–व्यापारी भेला भएका थिए । स्थानीयको अवरोधपछि प्रायः सबै जवाफदेही सरोकारवालाहरूको मोबाइल स्विच अफ गरिएको छ । 

मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बन्द सिनेमा हलभित्र खोप लगाउँदै गरेकोबारे आफूहरूले पछि मात्र थाहा पाएको बताए । उनले समेत कसको निर्देशनमा स्वास्थ्य कार्यालयले खोप लगाएको भन्नेबारे आफूलाई जानकारी नभएको बताए । ‘हामीलाई खोप कार्यक्रमबारे कुनै पूर्वजानकारी थिएन । स्थानीयले अवरोध गरेपछि हामीलाई सूचना आयो । कुनै अप्रिय घटना नहोस् भनेर हामी परिचालित भएका हौँ,’ एसपी खड्काले नयाँ पत्रिकासँग भने । 

सामाजिक विकासमन्त्री उषाकला राईका प्रमुख स्वकीय सचिव वीरेन्द्र मगरले पारदर्शी रूपमा खोप लगाउन स्वाथ्य कार्यालयलाई निर्देशन दिइएको, तर शुक्रबारको खोप कार्यक्रमबारे मन्त्रीलाई समेत कुनै जानकारी नभएको प्रतिक्रिया दिए । ‘८० भाइलजति खोप आएको थियो । सो खोप पारदर्शी रूपमा लगाउनू भनेर मन्त्रीज्यूले स्वास्थ्य कार्यालयलाई निर्देशन दिनुभएको थियो,’ स्वकीय सचिव मगरले भने, ‘किन अपारदर्शी गरियो थाहा भएन ।’ 

स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले घटनापछि मोबाइल सम्पर्कविहीन बनाएका छन् । महानगरपालिकाले पनि खोप लगाउने कार्य आफूहरूको नभएको भन्दै जिम्मा लिन नसक्ने जनाएको छ । उद्योग संगठन र मोरङ व्यापार संघका प्रतिनिधिले पनि खोप लगाउनेबारे आफूहरूलाई थाहा नभएको बताएका छन् । 

खोप कार्यक्रम चलिरहँदा प्रदेश १ सरकारका पूर्वसामाजिक विकासमन्त्री जीवन घिमिरे पनि पुगेका थिए । ‘कामविशेषले सो बाटो हुँदै जाँदै गर्दा त्यहाँ दर्जनौँ गाडी देखेपछि बुझ्दा सिनेमा हलभित्र खोप कार्यक्रम चलिरहेको रहेछ,’ उनले नयाँ पत्रिकासँग भने, ‘यस्तो अपारदर्शी काम गर्न नहुने थियो । कसको निर्देशनमा कुन निकायले गरेको हो, त्यस्तालाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।’

विपक्षी दलको विरोध
प्रदेश १ सभाका सबै प्रतिपक्षी दलले सिनेमा हलभित्र पहुँचवालालाई मात्र खोप लगाइएको घटनाको भत्र्सना गरेका छन् । मुख्य प्रतिपक्षी दल कांगे्रसका प्रमुख सचेतक केदार कार्की र माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङबोले सरकारले अख्तियारको चरम दुरुपयोग गरेको प्रतिक्रिया दिए ।

यस्तै, स्थानीय बासिन्दाले भने निर्वाचन घोषणा गरेको सरकारले उद्योगी–व्यापारीलाई रिझाउन सुटुक्क खोप कार्यक्रम गरेको आरोप लगाएका छन् । एमालेकै माधवकुमार नेपाल समूहले पनि ओली समूहले पहुँचवालाहरू रिझाउन मुख्यमन्त्री र सामाजिक विकासमन्त्रीले यस्तो प्रपञ्च रहेको आरोप लगाएको छ । परिवर्तनशील हातेमालो क्लबका अध्यक्ष विनोद चाहार र अनेरास्ववियु क्रान्तिकारी मोरङका इन्चार्ज ताजिम अन्सारीले अपारदर्शी तरिकाले पहुँचवालाले खोप लगाइरहेको सूचना पाएपछि विरोध गरिएको बताए ।