मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असार १४ सोमबार
  • Monday, 28 June, 2021
२०७८ जेठ १४ शुक्रबार १७:२९:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

झरीमा त्रिपालमुनि रुझ्दै सुकुमबासी, तीन महिनापछि पुगे मेयर–उपमेयर

Read Time : > 2 मिनेट
२०७८ जेठ १४ शुक्रबार १७:२९:००

दुई दिनदेखि लगातार परेको अविरल वर्षाका कारण दमक नगरपालिकाले घरमा डोजर चलाएपछि त्रिपालमुनि पुगेका सुकुमबासी समस्यामा परेका छन् । २७ फागुनमा नगरपालिकाले डोजर चलाएर त्रिपालमुनि पुगेका दमक– ७ का पञ्चमुखीका सुकुमबासी पानीमा रुझ्दै बस्न बाध्य भएका हुन् । त्यहाँ सात घर सुकुमबासी त्रिपाल टाँगेर टहरा बनाएर करिब तीन महिना बस्दै आएका छन् ।

दुई दिनदेखि परेको अविरल वर्षाका कारण उनीहरू पानीमा रुझ्दै बस्न बाध्य भएका छन् । ‘बिहीबारदेखि ठूलो पानी परिरहेको छ । त्रिपालबाट पानी चुहिएर सबै भिजियो । रातभर सुत्न सकेका छैनौँ,’ सुकुमबासी विमला विश्वकर्मा भन्छिन्, ‘भएको घर भत्काएर राज्यले यस्तै ठाउँमा पुर्‍यायो त के गर्ने ?’

महामारीमा भोकसँग लडिरहेका सुकुमबासीलाई निरन्तरको वर्षाले झनै समस्या थपेको हो । लगातार वर्षा हुँदा टहरमुनि रहेका बालबालिकालाई समस्या भएको सुकुमबासी धनमाया विश्वकर्मा बताउँछिन् । ‘हामी त भिजेर भए पनि बस्छौँ । तर, केटाकेटीलाई साह्रै गाह्रो हुने रहेछ । वेला यस्तो छ । बिरामी भए भने के गर्ने हो,’ उनी भन्छिन्, ‘त्रिपालले त कामै नदिने रहेछ जताबाट पनि पानी चुहिन्छ । पुराना टिन लगाएका थियौँ । डोजरले सबै बिगारेको रहेछ । दुलैदुले छ । पानी चुहिरहन्छ ।’

दुई दशकदेखि बस्दै आएका सुकुमबासीलाई करिब तीन महिनाअघि डोजर लगाएर लखेटेपछि उनीहरूको अन्त कतै जाने ठाउँ छैन । उनीहरू बसेको पञ्चमुखी टोल अहिले नगरपालिकाको नाममा धनीपुर्जा भएको जग्गा हो । तर, ०५७ मा सुकुमबासी बस्दा यो जग्गा ऐलानी थियो । ‘हामीले त पानीको दह पुरेर बसेका हौँ । अहिले जग्गा राम्रो भएपछि नगरपालिकाले आफ्नो बनाएर हामीलाई लखेट्यो,’ सुकुमबासी बालकुमार राई भन्छन्, ‘हामीलाई यही ठाउँमा दिनुपर्छ भन्ने हाेइन । वास्तविक सुकुमबासीको पहिचान गरी जता दिए पनि हुन्छ । तर, कानुनअनुसार जग्गाधनी बनाइनुपर्छ ।’

घर भत्काएयता त्रिपालमुनि बसेका सुकुमबासीलाई नगरपालिकाले बारम्बार प्रहरी–प्रशासन पठाएर धम्की दिँदै आएको छ । केही दिनयता टहरा भत्काउन पुगेको प्रहरीले अवरोध गर्ने एक सुकुमबासी महिलामाथि कुटपिटसमेत गरेका थियो ।

तीन महिनापछि बस्तीमा पुगे मेयर–उपमेयर

घर भत्काइएको करिब तीन महिनासम्म सुकुमबासी बस्तीमा नपुगेका दमक नगरपालिकाका जनप्रतिनिधि शुक्रबार बस्तीमा पुगेका छन् । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली र उपप्रमुख गीता अधिकारी बस्तीमा पुगेका हुन् ।

सुकुमबासीलाई नगरपालिकाले व्यवस्थापन गर्ने आश्वासन उनीहरूले दिएका थिए । नगरपालिकाले बनाएको बस्तीमा जान आग्रह गरिएको उपप्रमुख गीता अधिकारीले बताइन् । तर, सुकुमबासीले नमानेको उनको भनाइ छ । ‘हामी खासमा उहाँहरू बिरामी हुनुहुन्छ कि हुनुहुन्न । खानपान के छ भनेर बुझ्न गएका हौँ । बिरामीचाहिँ हुनुहुन्न । तर, समस्याहरू छन्,’ उनले भनिन्, ‘हामीले यो बर्खामा यस्तोमा नबस्नू, नगरपालिकासँग गुनासा छन् भने पछि छलफल गरौँ भन्यौँ । उहाँहरूलाई नमुनाबस्तीमा जान र त्यहाँ नभए नगरपालिकाले भाडामा भए पनि राख्ने भन्यौँ । उहाँहरू मान्नुभएन ।’

सुकुमबासीले भने यत्रो महिना चासो नदेखाएको नगरपालिकाले भाडामा बस भनेर आफूहरूको मुद्दालाई त्यसै सल्टाउन खोजेको आरोप लगाएका छन् । ‘हामीले यो ठाउँमा धेरै दुःख गरेका छौँ । हामीलाई नमुनाबस्ती जान भन्दै हुनुहुन्छ । नमुना बस्तीमा भाडामा बसेजस्तै हो । बसुञ्जेल आफ्नो हुने, तर भोलिपल्ट छाडेर हिँडेपछि सकिने । हामीले संविधानअनुसार जग्गाधनी बन्न पाउनुपर्छ । नमुनाबस्तीका घर हाम्रो स्वामित्वमा हुन्छ भने जाने हो, नभए त किन जानु ? भूमि आयोग बनेको छ, यसले नै हामी सुकुमबासी हौँ–हाेइनौँ छानबिन गरोस् । कानुनअनुसार पाउने धनीपुर्जा पनि दिओस्, त्यो हामी स्वीकार गर्छौँ,’ सुकुमबासी युवा मानाहाङ सुब्बा भन्छन्, ‘अहिले नमुना बस्ती पठाएर वा भाडामा बस भनेर भोलि यो मुद्दा सकियो भनेर हामीसँग छलफल पनि नगर्नलाई होला । बरू दुःख सहन्छौँ यहीँ बस्छौँ ।’

भेटका क्रममा सुकुमबासीले नगरपालिकालाई आफूहरूसँग एकपटक भए पनि वार्ता गर्न आग्रह गरिएको सुब्बाले बताए । ‘नगरपालिकाले कहिल्यै हाम्रो कुरा सुनेन । कम्तीमा एकपटक भए पनि हाम्रा कुरा बसेर सुनोस्,’ उनी भन्छन् ।