मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
मिचेला रङ
२०७८ जेठ १४ शुक्रबार ०७:४१:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

रुवान्डाका कगामेप्रति बदलिँदै विश्व दृष्टिकोण 

Read Time : > 2 मिनेट
मिचेला रङ
२०७८ जेठ १४ शुक्रबार ०७:४१:००

वर्षौंदेखि पश्चिमी विकासविद्ले रुवान्डाको असाधारण जिडिपी वृद्धिलाई हेरेर बेपत्ता तथा गैरन्यायिक हत्यालाई बेवास्ता गरेका थिए

कहिलेकाहीँ अन्तर्राष्ट्रिय समुदायले कुनै नेताबारे धारणा बदल्ने गर्छ । रोहिंग्या संकटको समयमा आङ सान सुकीप्रति विश्वको धारणा त्यसैगरी बदलिएको थियो । टिग्रे क्षेत्रको युद्धपछि इथियोपियाका प्रधानमन्त्री एबी एहमद पनि त्यही संक्रमणबाट गुज्रिरहेका छन् । यसको सामना गर्ने अर्का नेता हुन्, रुवान्डाका राष्ट्रपति पल कगामे । 
उनले फ्रेन्च राष्ट्रपति इम्यानुयल म्याक्रोनलाई देशको राजधानी किगालीमा स्वागत गरे । केही समयअघिसम्म फ्रान्स र रुवान्डाबीच सुमधुर सम्बन्ध थिएन । अहिले आएर कगामेले अन्तर्राष्ट्रिय रूपमा एक्लिँदै गएपछि फ्रान्सतर्फ मित्रताको हात बढाएका छन् । सन् १९९४ देखि कगामेको साथमा रहेका अमेरिका, बेलायत र अन्य पश्चिमी मुलुक उनीबाट टाढिँदै गएका छन् । तिनले कायम गरेको दूरी कगामेप्रतिको अन्तर्राष्ट्रिय छवि बदलिँदै गएको संकेत हो । 

‘अन्तर्राष्ट्रिय मञ्चमा कायम कगामेको आकर्षण कम भएको छ । दश वर्षअघि विकासको बाढी ल्याउने नेताका रूपमा कगामेको जताततै वाहवाही थियो । अब त्यो अवस्था रहेन,’ फ्रेन्च इतिहासकार गेरार्ड प्रुनियरले भने । एक दशकदेखि कगामेको रेखदेखमा रहेको गुप्तचर संस्थाले दमन, यातना, अन्धाधुन्ध पक्राउ र हत्या शृंखला चलायो । कगामेप्रतिको अन्तर्राष्ट्रिय धारणा बदलाव आउनुमा यो पनि एउटा कारण हो । यिनै धरपकडका कारण अहिले रुवान्डमा वाक्–स्वतन्त्रता निकै संकुचित भएको छ भने सरकारका आलोचकहरू निर्वासनमा जान बाध्य छन् ।

अन्तर्राष्ट्रिय रूपमा एक्लिँदै गएपछि फ्रान्सतर्फ मित्रताको हात बढाएका कगामेको साथमा रहेका अमेरिका, बेलायतलगायत पश्चिमी मुलुक उनीबाट टाढिँदै गएका छन्

राज्यको निसानामा हुतु बहुसंख्यकका सदस्यभन्दा पनि कगामेकै समुदाय तुत्सी अल्पसंख्यकका सदस्य परेकोमा पनि पश्चिमको ध्यान तानिएको छ । हुन त उनका समर्थकले राज्यको कारबाहीमा परेकालाई अतिवादीको संज्ञा दिन्छन् । तर, यस सन्दर्भमा तिनको तर्क त्यति विश्वसनीय लाग्दैन । पछिल्लो समयका दुई घटनाले कगामेप्रतिको धारणा बदल्न थप महत्वपूर्ण भूमिका खेले । 

पहिलो, तुत्सी उद्योगपति तथा आरपिएफका दाता आसिनापोल र्विगाराको परिवारले भोगेको नियति । र्विगारा सन् २०१५ मा शंकास्पद रूपमा कार दुर्घटनामा मारिए । उनकी छोरी डायनाले सन् २०१७ को राष्ट्रपतीय चुनावमा उम्मेदवारी दिने घोषणा गरिन् । तर, उनले पेस गरेको दर्ता कागज जाली भएको आरोप लाग्यो र उनले चुनावमा उठ्नै पाइनन् । लगत्तै डायनाकी आमालाई कैद गरियो । उनको परिवारको स्वामित्वमा रहेको होटल डोजर चलाएर ध्वस्त पारियो । र, बाँकी सम्पत्ति पनि लिलाम गरियो । 

अर्को घटना गोस्पेल गायक किजितो मिहिगोको हिरासतमा भएको मृत्यु रह्यो । तुत्सीमाथि भएको नरसंहारमा बचेका किजितोले आफ्नो एक गीतमा नरसंहारका क्रममा आरपिएफबाट मारिएका हुतुपीडितको सहानुभूतिका लागि मृतकको स्मृति दिवस मनाउने गरेको बताएका थिए । यस विषयमा रुवान्डामा सार्वजनिक रूपमा चर्चा गर्न वर्जित छ । त्यसैले किजितो पक्राउ परे । तर, जेलमा उनले आत्महत्या गरे भन्ने सरकारले जुन तर्क पेस गरेको छ, धेरैले त्यसलाई विश्वास गर्न सकेका छैनन् । 

यी दुई घटनाले विगतमा कगामेको पार्टी आरपिएफले सन् १९९० को दशकको अन्त्यमा डेमोक्रेटिक रिपब्लिक कंगो भागेका हुतुहरूको आमहत्या गरेको कुराले भन्दा धेरै अन्तर्राष्ट्रिय चर्चा पाए । ‘दसौँ हजारको हत्या गरेर अन्तर्राष्ट्रिय कारबाहीबाट बचेको आरपिएफले अहिले एक वृद्ध महिलालाई बन्दी बनाउँदा मित्रदेश गुमाएको छ,’ प्रुनियरले बताए । अझ होटेल रुवान्डा भन्ने फिल्मका प्रेरणा मानिने पल रुसेसाबागिनालाई आतंकवादी मुद्दा चलाएपछि अन्तर्राष्ट्रिय समुदायले रुवान्डाको स्थितिलाई पुनर्विचार गर्न थाल्यो । 

वर्षौंदेखि पश्चिमी विकासविज्ञले रुवान्डाको असाधारण जिडिपी वृद्धिलाई हेरेर बेपत्ता तथा गैरन्यायिक हत्यालाई बेवास्ता गर्ने गरेका थिए । तर, अब स्थिति फेरिएको छ । कगामे २७ वर्षदेखि सत्तामा छन् र उनको लामो शासनले पनि एउटा संकेत गर्छ । एकजना विकासविद्ले भनेका थिए, ‘यति लामो समय शासनमा रहने व्यक्तिलाई हामीले तानाशाही नै मान्नुपर्छ, होइन र ?’

(मिचेला अफ्रिकामा हुने राजनीतिक हत्या विषयका जानकार हुन्) 
गार्जियनबाट