१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ १३ बिहीबार १८:०२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकार कोरोनाको रोकथाम, उपचार र राहतमा केन्द्रित होस् : देउवा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ १३ बिहीबार १८:०२:००

कांग्रेस सभापति शेरबहादुर देउवाले कोभिड— १९ को रोकथाम, उपचार र राहतमा केन्द्रित हुन सरकारसँग माग गरेका छन् । देउवाले कांग्रेसले यसअघि नै १५बुँदे ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएको स्मरण गराउँदै कोभिड– १९ विरुद्ध खोपको तत्काल आपूर्ति, देशभर आवश्यकताअनुसार आइसियू बेड र अक्सिजनको व्यवस्था गर्न तथा न्यून आय भएकाहरूलाई निःशुल्क उपचारको सुनिश्चितता गर्न माग गरेका छन् । 

‘देशको हरेक गाउँ–नगरपालिका र वडा तहसम्म पिसिआर परीक्षणको व्यवस्था गर्न, संक्रमण रोक्न सशक्त सचेतना अभियान सञ्चालन गर्न, ग्रामीण र दुर्गम क्षेत्रका संक्रमित नागरिकहरूलाई समेत उपचारको सुविधा सुनिश्चित गर्न, निषेधाज्ञालाई व्यावहारिक र प्रभावकारी तर जनअधिकार र जनताका आवश्यकतालाई केन्द्रबिन्दुमा राखी आवश्यकताअनुसार कार्यान्वयन गर्न तथा विदेशी मित्रराष्ट्र र संघसंस्थाहरूबाट आएको सहयोगको दुरुपयोग र पार्टीकरण बन्द गर्न माग गर्दछु,’ देउवाले बिहीबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘खोपलगायत स्वास्थ्य सामग्री खरिद र आपूर्तिमा देखिएका अनियमितता र भ्रष्टाचारको निष्पक्ष जाँचका लागि सम्बन्धित निकायहरूसँग माग गर्दछु ।’

देउवाले वर्तमान सरकार संविधानको मूल मर्म र भावनाविपरीत सत्तामा आसीन भएकाले दूरगामी प्रकृतिका निर्णयहरू नलिन र कार्यान्वयन गर्न नमिल्ने बताएका छन् । ‘सरकारका सम्बन्धमा न्यायपालिकामा मुद्दा विचाराधीन रहेको अवस्थामा कुनै पनि दूरगामी प्रकृतिका निर्णयहरू नलिन र कार्यान्वयन नगर्न म सरकारलाई खबरदारी गर्दछु । सरकारको नेतृत्वलाई सरकारी संयन्त्रको दुरुपयोग नगर्न र सरकारी संयन्त्रमा कार्यरतहरूलाई दुरुपयोग हुनबाट अलग रहन पनि ध्यानाकर्षण गराउँदछु,’ देउवाले भनेका छन् । 

उनले वर्तमान अवस्थामा सरकारको सम्पूर्ण ध्यान कोभिड– १९ को रोकथाम र उपचारमा केन्द्रित गर्न र निषेधाज्ञाका कारण निम्न आय भएका आमनागरिक, साना व्यवसायी, श्रमजीवीहरूको राहत र सहयोगका लागि विशेष आर्थिक प्याकेज घोषणा गर्न माग गरेका छन् । ‘कांग्रेस आफैँ पनि कोभिड– १९ को रोकथाम र उपचारमा जनताका पीडाहरूलाई कम गर्न सक्रियताका साथ लागिपरेको छ । तर, देशको साधन–स्रोत र संयन्त्रको जिम्मेवारीमा रहेको सरकारले गर्ने सम्पूर्ण काम नेपाली कांग्रेसले गर्न सक्ने कुरा भएन,’ विज्ञप्तिमा भनिएको छ, ‘सरकारको नेतृत्वको सम्पूर्ण ध्यान भने जसरी पनि सरकारमा टिकिरहनुपर्छ भन्नेमा मात्र भएकाले जनताका आवश्यकता र पिरमर्काहरू गौण हुन पुगेका छन् ।’

देउवाले ग्रामीण क्षेत्रमा संक्रमण फैलिएर नागरिकले उपचार नपाएर हाहाकार मच्चिएको बताएका छन् । ‘देशैभर खासगरी अस्पताल पहुँचको सीमितता, खोप, अक्सिजन र भेन्टिलेटरको अभावका कारण संक्रमण र मृत्युदर कम हुन सकेको छैन । सरकारको अर्कमण्यता र उदासीनताका कारण बढेको संक्रमण रोक्न फेरि पनि सरकारले निषेधाज्ञाको सहारा लिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘निषेधाज्ञाको असर पनि हचुवा गृहकार्य र कमजोर व्यवस्थापनका कारण प्रभावकारी हुन सकेको छैन ।’

देउवाले सरकारले कोभिड– १९ संक्रमणलाई सत्ता–सुरक्षाको कवच र जनअधिकार कुण्ठित गर्ने हतियारको रूपमा प्रयोग गरेको आरोप लगाएका छन् । ‘संक्रमण फैलन नदिने उद्देश्य प्राप्त गर्न निषेधाज्ञाको वैज्ञानिक व्यवस्थापन गर्दै नागरिकका दैनिक आवश्यकताको सहज र सरल आपूर्ति सुनिश्चितता गर्न सरकार कार्यरत हुनुपर्ने हो । तर, निषेधाज्ञा कडाइका नाममा जनतामा हाहाकार र असुरक्षा बढाउने काम हुँदै छ,’ देउवाले भनेका छन्, ‘कोभिड— १९ संक्रमणलाई सरकार सत्ता–सुरक्षाको कवच र जनअधिकार कुण्ठित गर्ने हतियारको रूपमा प्रयोग गर्दै छ ।’