यास नामक सामुद्रिक आँधी (चक्रवात)का कारण तीन दिन नेपालको मौसम प्रतिकूल हुने भएको छ ।बंगालको खाडीमा विकास भई बुधबार जमिनमा प्रवेश गरेको चक्रवातले पूर्वीनेपालकेन्द्रित वर्षा गराउने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।
‘चक्रवातका कारण बुधबारबाटै वर्षा सुरु भइसकेको छ, बिहीबार र शुक्रबार केही ठाउँमा अतिभारी वर्षा पनि हुने देखिन्छ,’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु वासीले भनिन्, ‘अघिल्लोपटकको चक्रवातले पश्चिममा भारी वर्षा गराएको थियो, अहिले पूर्व र मध्यकेन्द्रित वर्षा हुनेछ । बुधबार बिहान ओडिसाको जमिनमा बज्रिएको आँधी उत्तर र उत्तरपश्चिमतर्फ सरिरहेको छ ।’
महाशाखाले जारी गरेको बुलेटिनअनुसार चक्रवात बिहीबार र शुक्रबार तराईमा बढी सक्रिय हुने देखिन्छ । सातवटै प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने भए पनि प्रदेश २ तथा प्रदेश १, बागमती र लुम्बिनीका तराई भूभागमा भारीदेखि अतिभारी वर्षा हुने देखिन्छ । ‘बुधबार राति ओडिसामा केन्द्रित चक्रवातले वर्षा गराउने भएकाले साना नदीमा बाढी पनि आउन सक्छ,’ मौसमविद् वासीले भनिन्, ‘चट्याङसहित हावाहुरीसमेत चल्ने देखिन्छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने भएकाले यो वेला पर्वतारोहण नगर्न अनुरोध छ ।’
बिहीबार र शुक्रबार मुलुकका दक्षिणी क्षेत्रमा हावाहुरी चल्ने देखिन्छ । गत साता मात्र मध्यअरब सागरमा विकास भएको ताउ–ते नामक सामुद्रिक आँधीका कारण नेपालमा भारी वर्षा भएको थियो भने एक साता हिमाल आरोहण प्रभावित बनेको थियो । ‘अलि नजिक भएकाले नेपालमा यासभन्दा ताउ–तेले बढी असर गर्ने देखिन्छ,’ वासीले भनिन् । मनसुन याम सुरु हुन डेढ साता मात्र बाँकी रहँदा भारी वर्षा भइरहेको छ ।
अलर्ट रहन जिल्ला प्रशासनलाई निर्देशन
गृह मन्त्रालयअन्तर्गतको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार राति अलर्ट जारी गरेको छ ।
‘सामुद्रिक आँधीले हावाहुरी चल्नुका साथै वर्षाले बाढीपहिरोको जोखिम देखिन्छ,’ प्राधिकरणका प्रवक्ता लीलाधर अधिकारीले भने, ‘चनाखो रहन र आवश्यक तयारीका साथ अलर्ट रहने ७७ वटै जिल्ला प्रशासन कार्यालयसँग सुरक्षा निकायलाई पत्राचार गरेका छौँ ।’
बस्तीनजिक बाढीपहिरो र डुबान हुने आकलन गरेको प्राधिकरणले सुरक्षा निकाय र पालिकासँगको सहकार्यमा सुरक्षित स्थानमा सर्न भनेको छ भने विपतकाे समयमा ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति महिला, बालबालिका र गर्भवतीको विशेष ध्यान दिन आह्वान गरिएको छ । ‘पर्वतारोहणका लागि हिमालतिर गएको टोलीलाई तुरुन्त फिर्ता बोलाउन सम्बन्धित निकायलाई भनेका छौँ,’ प्रवक्ता अधिकारीले भने ।
भारतमा ताण्डव
बुधबार बिहान ओडिसाको जमिनमा बज्रिएको यास सामुद्रिक आँधीले पश्चिम बंगलामा जनधनको क्षति गरेको छ ।
भारतीय जल तथा मौसम विज्ञान विभागले उल्लेख गरेको विवरणअनुसार आँधी प्रतिघन्टा १५० किलोमिटर चलेको थियो । आँधीका कारण चारजनाको ज्यान गएको र तीन लाख घरमा क्षति गरेको समाचार एजेन्सी पिटिआईले उल्लेख गरेको छ । ओडिसाका पाँच लाख ८० हजार र बंगालका १५ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । यसअघि गत साता भारतमा ताउ–ते आँधी प्रतिघन्टा १८५ किलोमिटर गतिसम्म चलेको थियो ।