राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड– १९ विरुद्धको खोपका लागि बुधबार कूटनीतिक सक्रियता देखाएकी छिन् । उनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग टेलिफोन संवाद गरेकी छिन् भने भारतीय समकक्षी रामनाथ कोबिन्दलाई चिठी पठाएकी छिन् । चीनका राष्ट्रपति सीले नेपाललाई थप १० लाख डोज खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेका छन् । कूटनीतिक च्यानलमार्फत थप संवादपछि खोप आपूर्तिको मोडालिटी तय हुनेछ ।
बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग टेलिफोन संवादका क्रममा राष्ट्रपति सीले सो घोषणा गरेका हुन् । उनले नेपाललाई खोप खरिदका लागि पनि सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन् । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले दुई राष्ट्रपतिको टेलिफोन संवादपछि ट्विटरमा लेखेकी छिन्, ‘नेपाली राष्ट्रपति विद्यादेवी भण्डारीसँग फोन संवादका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाललाई अनुदान सहयोगमा १० लाख डोज कोभिड– १९ को खोप उपलब्ध गराउने घोषणा गर्नुभयो ।’ चीनले यसअघि आठ लाख भेरोसेल खोप अनुदानमा उपलब्ध गराइसकेको छ ।
राष्ट्रपति भण्डारीका सञ्चार मामिलाविज्ञ टीकाप्रसाद ढकालका अनुसार करिब ४० मिनेटको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सीले नेपाललाई महामारीविरुद्धकाे लडाइँमा चीनले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । चीनसँग नेपालले खोप खरिदका लागि कूटनीतिक तहमा कुराकानी गरे पनि खोप खरिदका लागि औपचारिक प्रक्रिया सुरु नहुँदा चीन सरकारले १० लाख डोज दिने घोषणा गरेको छ ।
यसैबीच राष्ट्रपति भण्डारीले भारतीय समकक्षी रामनाथ कोबिन्दलाई चिठी पठाउँदै नेपाललाई खोप उपलब्ध गराउन सहजीकरण गरिदिन आग्रह गरेकी छिन् । उनले यसअघि एक महिनाअघि पनि समकक्षी कोबिन्दलाई चिठी लेखेकी थिइन् । भारतले नेपाललाई अनुदानमा ११ लाख डोज खोप उपलब्ध गराएको छ । कोभ्याक्सअन्तर्गत तीन लाख ४८ हजार तथा सेरम इन्स्टिच्युटबाट नेपालले जम्मा १० लाख डोज कोभिसिल्ड खोप ल्याइकेको छ । नेपालले १० लाख डोज खोपका लागि भारतमा यसअघि पनि ताकेता गर्दै आएको थियो ।