मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ जेठ १२ बुधबार ११:१८:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कोरोना संक्रमितको शव खाल्डोमा पुरेपछि स्थानीयद्वारा विरोध  

Read Time : > 1 मिनेट
२०७८ जेठ १२ बुधबार ११:१८:००

ओखलढुंगामा कोरोना संक्रमणबाट मृत्यु भएकाको शव खाल्डो खनेर गाडिएको छ । मंगलबार कोरोनाबाट मृत्यु भएकी रामपुरकी एक वृद्धाको शव नेपाली सेनाले मोलुङ खोला किनारमा खाल्डो खनेर पुरेको हो । 

मानिसहरूको चहलपहल बढिरहने र आसपासमा मानवबस्तीसमेत भएको ठाउँमा ल्याएर कोरोना संक्रमितको शव राखेपछि स्थानीय त्रसित भएका छन् । नेपाली सेनाले मोलुङ खोलाको मान्द्रे दोभानमा शव व्यवस्थापन गरेको थियो । 

सामान्य शव पुरिने मात्रै खाल्डो खनिएकाले त्यसबाट प्रदूषण फैलिने र कोरोनाको जोखिमसमेत बढ्ने खतरा रहेको स्थानीय सुनेश धमलाले बताए । ‘उसो त  कोरोनाबाट मृत्यु भएकाको शव यहाँ ल्याउनेभन्दा गाउँ नै त्रसित थियो, फेरि जलाउनुको सट्टा सानो खाल्डो खनेर गाडियो । त्यो लास राम्रोसँग छोपिएको पनि छैन । यसले गाउँमा थप समस्या निम्ताउने निश्चित छ,’ धमलाले भने, ‘शव लिएर आएका सेनाले लगाएको माक्स र पिपिई पनि जथाभावी फालिएको छ । अब केही दिनपछि त्यो शव कुहिएर दुर्गन्धित हुने खतरा छ । सेनाको शव व्यवस्थापनको काम साह्रै अव्यवस्थित देखियो ।’ मोलुङ गाउँपालिका– १ र सुनकाेसी गाउँपालिका– १० र उक्त क्षेत्रबाट यात्रा गर्ने मानिसहरूलाई यसले समस्यामा पारेको उनको भनाइ छ । 

जिल्लामा कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्ने निश्चित स्थान तोकिएको छैन ।  हालसम्म दुईजना कोरोना संक्रमितको ओखलढुंगा सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भइसकेको छ । त्यसमध्ये एउटा शव अस्पतालनजिकैको लिपे खोलामा अन्त्येष्टि गरिएको थियो । उक्त शव पनि राम्रो जलिनसक्दै पानी परेकाले राम्रो व्यवस्थापन नभएको बताइएको छ ।

अर्को शव अस्पतालबाट करिब एक घन्टा पर मोलुङ खोलामा लगेर पुरिएको छ । सुरुमा शव व्यवस्थापन गर्न आनाकानी गरेको नेपाली सेनाको अरिदमन गणलाई प्रशासनले लिखित पत्रमार्फत केन्द्रीय मापदण्डअनुसार शव व्यवस्थापन गर्न निर्देशन दिएको थियो ।

प्रमुख जिल्ला अधिकारी बन्दना राईले स्थानीय सरकारको साथ नपाउँदा शव व्यवस्थापन गर्न समस्या भएको बताइन् । जिल्लामा संक्रमण भएर मृत्यु भएकाहरूको शव व्यवस्थापन गर्ने ठाउँ स्थानीय सरकारले तोक्नुपर्नेमा नतोकेको र सेनाले जसोतसो व्यवस्थापन गर्दा पनि विरोध हुने गरेको उनको भनाइ छ । 

अब पनि स्थानीय तहले शव व्यवस्थापन गर्ने ठाउँ नतोके जिल्ला प्रशासनले निश्चित ठाउँ तोक्ने र समन्वय हुन नसके सेनाले बल प्रयोग गरेर भए पनि तोकिएको ठाउँमा मापदण्डअनुसार शव व्यवस्थापन गर्ने प्रमुख जिल्ला अधिकारी राईको भनाइ छ । स्थानीय तहले संक्रमण रोकथामदेखि शव व्यवस्थापनसम्म आवश्यक जिम्मेवारी निर्वाह नगर्दा समस्या बढेको प्रजिअ राईले बताउँदै आएकी छिन् । 

ओखलढुंगामा कोरोना संक्रमितको संख्या तीन सय ७१ छ । उनीहरू मध्ये ३९ जनाले कोरोना जितेका छन् भने दुईजनाको मृत्यु भएको छ ।