मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मोहना बासु
२०७८ जेठ १२ बुधबार ०९:०९:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अक्सिजन अभावपछि ब्ल्याक फंगसबाट पीडित भारत

Read Time : > 2 मिनेट
मोहना बासु
२०७८ जेठ १२ बुधबार ०९:०९:००

कोरोनाको दोस्रो लहरबाट प्रभावित भारत ब्ल्याक फंगसका रूपमा एउटा महामारीभित्र अर्को महामारीको सामना गर्दै छ

भारत यतिखेर म्युकोरमाइकोसिस ब्ल्याक फंगसको प्रकोप सामना गरिरहेको छ । त्यहाँ सम्भवतः संसारमै सबैभन्दा बढी ब्ल्याक फंगसका बिरामी देखिएका छन् । यो निकै कम पाइने संक्रमण हो । दशकौँसम्म चिकित्सा अभ्यास गरेका डाक्टरले पनि यस रोगका औँलामा गन्न सकिने केस मात्र देखेका हुन्छन् । 

हिन्दुस्तान टाइम्सको एक समाचारअनुसार भारतमा यस संक्रमणको अहिलेसम्म सात हजार दुई सय ५० भन्दा बढी केस आइसकेका छन् । यसले गर्दा नरेन्द्र मोदीको सरकारले राज्यहरूलाई म्युकोरमाइकोसिस या ब्ल्याक फंगसलाई सूचित गर्नुपर्ने रोग घोषित गर्न भनेको छ । यसको अर्थ अब यस रोगका बिरामी देखिनासाथ केन्द्रलाई अनिवार्य सूचित गर्नुपर्छ । भारतमा पहिल्यैदेखि टिबी, हैजा र भ्यागुते रोगलाई यही श्रेणीमा राखिएको छ । 

कोरोनाको दोस्रो लहरबाट प्रभावित भारतले अहिले ब्ल्याक फंगसका रूपमा एउटा महामारीभित्र दोस्रो महामारीको सामना गर्नुपरेको छ । विडम्बना ब्ल्याक फंगस गम्भीर कोभिड बिरामीलाई मृत्युको मुखबाट बचाउन सहयोग गर्ने एक प्रमाणित सामग्री एस्टेरोइड्सको दुरुपयोगले उत्पन्न भएको हो । 

गलत जानकारीका कारण स्टेरोयडको अन्धाधुन्ध उपयोग र सरकारले कोभिडका कारण स्वास्थ्य प्रणालीमा परेको अत्यधिक दबाबलाई अस्वीकार गर्दा र जनता आफैँले अस्वस्थ उपचार प्रणाली अँगाल्दा अहिलेको त्रासदी उत्पन्न भएको हो । अहिले भारतीय सामाजिक सञ्जालका प्रयोगकर्तामाझ म्युकोरमाइकोसिसको उपचारमा प्रयोग हुने एम्फोटेरिसिन बीको सहयोगका लागि सन्देशको बाढी आएको छ । विगतमा यस्तो स्थिति अक्सिजनका लागि देखिएको थियो । खासमा ब्ल्याक फंगस वातावरणमा सबैतिर पाइने सूक्ष्म जीव हो । यसले रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका मानिसको शरीरमा मात्र असर गर्न सक्छ । मुख्यतः मधुमेह तथा क्यान्सरका बिरामीमा यो रोग देखिने गरेको पाइन्छ । यो रोग लाग्दा आँखा र नाकको वरपर दुख्ने, रातो हुने, ज्वरो आउने, टाउको दुख्ने, रुघा लाग्ने र सास फुल्नेजस्ता समस्या आउँछन् । शरीरलाई असर गर्न थालेपछि मात्र रोगको पहिचान हुन्छ । रोग लाग्नेहरूमध्ये ३० देखि ७० प्रतिशतसम्मको मृत्यु हुने तथ्यांकले देखाएको छ । 

ब्ल्याक फंगसको उपचार निकै महँगो पर्छ । छालामा हुने दाग हटाउन शल्यक्रिया नै गर्नुपर्छ । रोगका कारण आँखा खराब हुन सक्छ । धेरैजसो बिरामीको ज्यानसमेत जान सक्छ । 

अहिले भारतमा यो रोगका बिरामी किन देखिरहेका छन् त ? यसको सीधा सम्बन्ध स्टेरोइड्ससँग छ । डेक्सामेथाजोन नामक स्टेरोइड्सले अति सक्रिय इम्युन रेस्पोन्स (रोग प्रतिरोधात्मक प्रतिक्रिया)लाई कम गर्न सहयोग गर्छ । यो अक्सिजन वा भेन्टिलेटर चाहिने गम्भीर कोभिड बिरामीको मृत्युदर घटाउन सहयोग गर्ने थोरै औषधिमा पर्छ । तर, यसको अध्ययन भारतको जलवायुमा गरिरएको छैन । जति अध्ययन भएका छन् सबै अस्पतालभित्रको सुरक्षित वातावरणमा गरिएका छन् । त्यहाँ सरसफाइमा विशेष ध्यान दिइन्छ र बिरामीको नियमित निगरानी गर्न डक्टरहरू उपलब्ध हुन्छन्, जुन सुविधा हाम्रो घरमा हुँदैन । भारतमा कोभिडको लहर निकै बढेपछि अस्पतालले बिरामी धान्न सकेनन् । तिनले गम्भीर बिरामीलाई पनि लिन नसक्ने स्थिति आयो । बिस्तारै अक्सिजनको चरम अभाव उत्पन्न भयो । यस स्थितिमा पनि केन्द्र सरकारले महामारीलाई अस्वीकार गरिरह्यो । यसले गर्दा बिरामीले के गर्नुपर्ने हो भनेर सूचना राज्यले गरेन । धेरै मानिसले सामाजिक सञ्जाल र हल्लामा आएका अधुरा र गलत जानकारीमा विश्वास गर्न थाले । परिणामस्वरूप कोभिड बिरामीले यस्ता औषधि लिन सुरु गरे जसले सूक्ष्म जीवविरुद्ध काम गर्ने शरीरको प्राकृतिक सुरक्षालाई कमजोर गर्न थाले । 

खासमा स्टेरोइड चिकित्सकले रिफर नगरी वितरण गर्न रोक लगाउनुपर्ने हो, तर उल्टो केही राज्यले होम आइसोलेसनमा बस्नेलाई अन्य सहयोग सामग्रीका साथ स्टेरोइड पनि बाँडेको देखियो । मानिसले पनि कोरोना पोजेटिभ आएर लक्षण देखिनासाथ आफूखुसी स्टेरोइड खान थाले । यसले गम्भीर असर पार्‍यो । 

ब्ल्याक फंगसको उपचार निकै महँगो पर्छ । छालामा हुने दाग हटाउन शल्यक्रिया नै गर्नुपर्छ । रोगका कारण आँखा खराब हुन सक्छ, जसका कारण कैयौँको मृत्यु भएपछि पनि सरकारले यसको प्रयोगलाई विवेकपूर्ण ढंगले गर्नु मात्र भनेको छ, आफूखुसी प्रयोगमा रोक लगाएको छैन । 

भारतको ड्रग कन्ट्रोलर जनरल अफ इन्डियाले पाँचवटा औषधि कम्पनीलाई ब्ल्याक फंगसको उपचारमा प्रयोग हुने एम्फोटेरिसिन बीको उत्पादनको अनुमति दिएको छ । भारतमा ब्ल्याक फंगसको अतिरिक्त कोभिड बिरामीमा अन्य संक्रमण पनि देखिन थालेको छ । यसमा क्यान्डिडा औरिस अर्थात् साइटोमेगालोवायरस र ह्वाइट फंगसको घटना आइरहेको छ । निश्चित रूपमा सरकारले यिनलाई रोक्न सक्दैन, तर भविष्यमा आउने नयाँ चुनौतीमा उसले नागरिकलाई सही सूचना उपलब्ध मात्र गरायो भने अनावश्यक मृत्यु कम हुनेछ । 

(लेखक द प्रिन्टकी वरिष्ठ संवादाता हुन्) 
द प्रिन्टबाट