मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल तस्बिर/नयाँ पत्रिका
केदार दाहाल काठमाडौं
२०७८ जेठ ९ आइतबार ०८:४५:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एक वर्षमा पर्यटन क्षेत्रले २ खर्ब आम्दानी गुमायो, १७ % व्यवसाय सदाका लागि बन्द

Read Time : > 1 मिनेट
केदार दाहाल, काठमाडौं
२०७८ जेठ ९ आइतबार ०८:४५:००

कोरोनाका कारण बन्द भएका ६६ प्रतिशत पर्यटन व्यवसाय पुनः सञ्चालनमा आए पनि दोस्रो लहरले फेरि बन्द हुन थालेका छन्, २०२३ को मध्यसम्म पर्यटक आउन नसक्ने प्रक्षेपण 

कोभिड–१९ का कारण पछिल्लो एक वर्षमा पर्यटन क्षेत्रको मात्रै २ खर्ब आम्दानी गुमेको अनुमान गरिएको छ । कोरोनाको दोस्रोसँगै तेस्रो लहर पनि आउने चेतावनी विज्ञहरूले दिइरहँदा सन् २०२३ सम्म नै पर्यटक आउन नसक्ने अवस्था आउने पर्यटन व्यवसायीहरूको भनाइ छ । एक वर्ष अवधिमा १७ प्रतिशत पर्यटन व्यवसाय पूर्ण रूपमा बन्द भएको एक अध्ययनले देखाएको छ । सञ्चालनमा रहेका होटेल, रेस्टुरेन्ट, ट्रेकिङ, ट्राभल, कार्गो, ¥याफ्टिङलगायत १७ प्रतिशत पर्यटन व्यवसाय स्थायी रूपमा बन्द भएको अध्ययनको निष्कर्ष छ ।  काठमाडौं लिभिङ ल्याब्सले पर्यटन क्षेत्रसँग सम्बन्धित संघ–संस्थाको समन्वय र विज्ञहरूको सहभागितामा गरेको स्थलगत सर्वेक्षणबाट यस्तो नतिजा आएको हो । नेपाल पर्यटन बोर्डका निवर्तमान सिइओ दीपकराज जोशीले यो सर्वेक्षणको अगुवाइ गरेका थिए । 

‘हाम्रो अध्ययनले पर्यटन उद्योगका १७ प्रतिशत व्यवसाय अब सधैँका लागि बन्द भएको देखियो,’ बोर्डका पूर्वसिइओ जोशीले भने । होटेल संघ नेपाल (हान), ठमेल पर्यटन क्षेत्र विकास परिषद्, मजदुर संगठन तथा अन्य पर्यटन क्षेत्रका संघ–संस्थाको सहयोगमा सर्वेक्षण गरिएको जोशीले जानकारी दिए । ‘सबैभन्दा बढी ठमेल क्षेत्रबाट पलायन भएका छन्, हामीले ठमेललाई मुख्य केन्द्रित गरेर अध्ययन गरेका हौँ,’ जोशीले भने । सर्वेक्षणअनुसार हवाई, ठूला होटेल र पर्यटनका ठूला लगानीका क्षेत्र अझै पनि पर्ख र हेरको अवस्थामा छन् । तर, साना लगानीका व्यवसाय भने पूर्ण बन्द भएका छन् । 

सर्वेक्षणमा महामारीका बीचमा पनि ६ प्रतिशत पर्यटन व्यवसाय जारी नै रहेको देखिएको छ । कतिपय होटेलहरूले क्वारेन्टिन र आइसोलेसन बनाएर भए पनि व्यवसाय सञ्चालन गरिरहेका छन् । 

पहिलो कोरोना लहरका कारण बन्द भएको आन्तरिक उडान भने लयमा आइसकेको अवस्था थियो । यात्रुको हिसाबले विगतमा भन्दा पनि बढी संख्यालाई सेवा एयरलाइन्सहरूले दिन थालेका थिए । ठूलो लगानीमा रहेका होटेल अझै काठमाडांैका होटेलका लागि विदेशी नै पर्यटक आवश्यक पर्ने भएकाले अझै धेरै समय नै कुर्नुपर्नेसमेत देखिएको जोशीले बताए । काठमाडाैँबाहिरका होटेलहरू सहज रूपमा सञ्चालन सुरु गरेर केही आम्दानीसमेत गरिसकेका थिए ।   

सरकारले कात्तिक १ देखि सम्पूर्ण पर्यटन क्षेत्र खुला गर्ने निर्णय गरेसँगै सबै व्यवसाय सञ्चालनमा आएका थिए । तर, अध्ययनअनुसार ८० प्रतिशत उद्योगले सञ्चालन खर्चसमेत उठाउन सकेका छैनन् । कम्पनीहरूलाई सञ्चालन खर्च उठाउन नै नसकेको होइन, पुरानो ऋण चुक्ता गर्न, थप कष्टकर प्राप्त गरी व्यवसायलाई पुरानै अवस्थामा फर्काउन र कर भुक्तानीमा समेत चुनौती भोग्नुपरेको छ । थप ऋणको भारमा समेत व्यवसाय परेका छन् । संकटबाट पर्यटन व्यवसायलाई बचाइराख्न राज्यले मौद्रिक तथा वित्तीय सहायताको टेको दिनुपर्ने सुझाब दिएका छन् । 

६५ प्रतिशत मजदुर बेरोजगार 
पर्यटन क्षेत्रमा कार्यरत ६५ प्रतिशत मजदुर बेरोजगार भएका छन् । सबैभन्दा बढी भने पदयात्रामा काम गर्नेहरू प्रभावित भएका छन् । चालू वर्ष भने हिमाल आरोहण भएकाले शेर्पा गाइड तथा भरिया र एक्सपिडिसन कम्पनी चलाउनेहरूले केही आम्दानीसमेत गरेका छन्  भने सरकारले पनि ७२ करोडभन्दा बढी राजस्व संकलन गरेको छ । सगरमाथालगायत हिमालको आरोहण अहिले पनि जारी रहेको छ । 

स्थायी रूपमा काम गरिरहेका एयरलाइन्स तथा होटेलका कर्मचारीको आम्दानी घटेको भए पनि जागिरबाटै बिदा हुनुपर्ने अवस्था भने कम रहेको छ । तर, ज्यालादारीमा काम गर्ने धेरै मजदुरको रोजीरोटी गुमेको सर्वेक्षणको निष्कर्ष रहेको छ । अस्थायी जागिर गरिरहेकालाई काममा नबोलाउनेदेखि कार्य अवधि घटाएरसमेत काममा लगाइएको पाइएको छ । कतिपय कम्पनीले कर्मचारीको सेवा–सुविधा कटौती गरेका छन् । केही प्रतिष्ठानहरूमा भने आलोपालो प्रणालीमा कर्मचारीलाई कामको अवसर दिएको पाइएको छ । होटेलहरूले आलोपालोमा कर्मचारीलाई बोलाएका थिए ।