१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ ८ शनिबार ०६:४८:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

लोकतान्त्रिक खेलकुद संंघ बागमतीको कोभिडविरुद्धको अभियान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ ८ शनिबार ०६:४८:००

नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेशले कोभिड–१९ संक्रमण व्यवस्थापन तथा संक्रमित खेलाडी, प्रशिक्षक, निर्णायक र खेल पत्रकारहरूको सहयोगका लागि फाइट अगेन्स्ट कोभड–१९ अभियान सुरु गरेको छ । कोभिड संक्रमणबाट मृत्यु भएका क्योकुसिन करातेका अन्तर्राष्ट्रिय खेलाडी बैजनाथबाबा यादवको परिवारलाई ३० हजार दिने निर्णयसहित अभियानको सुरुवात गरेको हो ।

‘विश्वभर फैलिएको कोभिडले महामारीका रूपमा सबै क्षेत्रलाई अस्तव्यस्त बनाएको छ । यस परिवेशमा राष्ट्रका लागि योगदान दिएका र भविष्यमा नेपालको पहिचान बनाउन सक्ने अधिकांश खेलाडीहरू, प्रशिक्षक, निर्णायक तथा खेलपत्रकार पनि यस महामारीबाट अछुतो रहन सकेको छैन,’ संघका अध्यक्ष दीपक गुरुङले बताए, ‘खेल क्षेत्रका धेरै व्यक्तित्वलाई हामीले गुमाइसकेका छौँ र कतिपय यसको संक्रमणमा परिरहेका छन् । तसर्थ त्यस्ता व्यक्तिहरूका लागि हामीले यथाशक्य सहयोग गर्ने निर्णयसहित अभियान सञ्चालन गर्ने निधो गरेका छौँ ।’  

अभियानअन्तर्गत पहिलो चरणमा काठमाडौं उपत्यकाभित्र रहेका खेलाडी, प्रशिक्षक, निर्णायक तथा खेलपत्रकार कोभिड संक्रमण भई घरमा नै क्वारेन्टिन वा आइसोलेसनमा रहेकाहरूलाई डाक्टर परामर्श, औषधि तथा भिटामिनहरूको प्रबन्ध गर्ने, अत्यावश्यक परेको खण्डमा यथाशक्य रूपमा आर्थिक सहयोगसमेत गर्ने अध्यक्ष गुरुङले बताएका छन् ।

यस अभियानलाई व्यवस्थित गर्नका लागि काठमाडौं खेलकुद समाजको संयोजनमा एक मेडिकल टिमकोसमेत गठन गरिएको छ । यस टोलीले संक्रमित भई घरमा रहेका खेलाडी, प्रशिक्षक, निर्णायक र खेल पत्रकारहरूको स्वास्थ्य चेकजाँच गर्ने, आवश्यक भिटामिन तथा औषधि उपचारको प्रबन्ध गर्ने र आवश्यक परेको खण्डमा घरमा नै पिसिआर परीक्षणको समेत व्यवस्थापन गर्ने गुरुङले बताए । पहिलो चरणमा काठमाडौं, भक्तपुर र ललितपुरमा हुनेछ ।