मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ जेठ ५ बुधबार २१:३९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

आइसियू र भेन्टिलेटर नहुँदा रसुवामा गम्भीर प्रकृतिका बिरामी जोखिममा

Read Time : > 1 मिनेट
२०७८ जेठ ५ बुधबार २१:३९:००

रसुवामा कोरोनाका गम्भीर बिरामीको उपचारका लागि जिल्लाबाहिर रिफर गर्नुपर्ने बाध्यता रहेको छ । जिल्लामा आइसियू र भेन्टिलेटरलगायतका अत्यावश्यक सुविधा नहुँदा जटिल प्रकृतिका बिरामीको उपचारका लागि जिल्लाबाहिर रिफर गर्नुपर्ने बाध्यता रहेको हो । 

अहिले जिल्लामा लक्षणसहितका कोरोनाका बिरामी देखिएका छन् । अहिले गाउँगाउँमा रुघा, खोकी, ज्वरो, शरीर दुख्नेलगायत समस्याका बिरामी बढेका छन् । यस्ता समस्याको जटिल अवस्था आएमा बिरामीको व्यवस्थापनमा समस्या रहेको छ । जिल्लाका अस्पतालमा पूर्ण प्रविधिसहितको व्यवस्थापन छैन । 

जिल्लाका अधिकांश बिरामी रसुवा अस्पताल धुन्चे र जिबजिबे ग्रामीण अस्पतालमा जाने गरेका छन् । कोरोनाको संक्रमण दर बढेसँगै जिल्लामा कोरोनाका जटिल प्रकृतिका बिरामी देखिएका छन् । वैशाखमा मात्रै पूर्ण प्रविधि नहुँदा रसुवा अस्पतालमा कोरोनाका जटिल प्रकृतिका चारजना बिरामी नुवाकोट तथा काठमाडौं रिफर भए । रिफर गरिएका बिरामीमध्ये दुईजनाको मृत्यु भएको छ । 

जिबजिबे ग्रामीण अस्पतालबाट पनि कोरोनाका जटिल प्रकृतिका १२ जना बिरामी नुवाकोट र काठमाडौं रिफर भएका छन् । रिफर भएकाहरूमा फोक्सोका निमोनिया, अक्सिजन मात्रा कमलगायतका समस्या देखिएको जिबजिबे ग्रामीण अस्पतालका हेल्थ असिस्टेन्ट उत्सव पौडेलले बताए । डाक्टरहरूका अनुसार उनीहरूलाई आइसियू र भेन्टिलेटरमा उपचार गराउनुपर्ने अवस्था रहेको थियो । 

आइसियू र भेन्टिलेटर आवश्यक भएका बिरामीलाई जिल्लामा उपचार गर्न समस्या भएसँगै रिफर गर्ने गरेको रसुवा अस्पताल धुन्चेका डाक्टर कौशिक सापकोटाले बताए । ‘आइसियू र भेन्टिलेटरमा राखेर उपचार गराउनुपर्ने जटिल प्रकृतिका बिरामी आउनुहुन्छ, तर यो यहाँ छैन, उहाँहरूलाई बाहिरी जिल्ला रिफर गर्ने गरेका छौँ, योबाहेक हामीसँग अरू विकल्प पनि थिएन,’ उनले भने । 

आइसियू र भेन्टिलेटरसहित दक्ष जनशक्ति उपलब्ध गराउन प्रदेश सरकारसँग माग गरेको उनले बताए । ‘हामीले आइसियू र भेन्टिलेटर पनि चाहिन्छ भनेर माग गरेका छौँ, यसका लागि छुट्टै दक्ष जनशक्तिको पनि आवश्यक पर्छ,’ उनले भने, ‘अहिले रेडक्रसले निर्माण गरिदिएको प्रिप्mयाब भवनबाट अस्पतालको सेवा सञ्चालन भइरहेको छ, अस्पतालको नयाँ भवन निर्माण हुन सकेको छैन । अस्पतालमा सिनियर कन्सल्टेन्ट आवश्यक छ, तर प्रदेशले पनि उपलब्ध गराउन सकेको छैन, हामीले भनिराखेका छौँ ।’ 

रसुवामा हालसम्म दुई हजार दुई सय ७४ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएकोमा चार सय ४७ जनाको पजिटिभ आएको छ । त्यसैगरी ६० जनाको एन्टिजेनमार्फत गरिएको कोरोना परीक्षणमा २३ जनाको पजिटिभ आएको छ । हालसम्म तीन सयजना निको भएका छन् । हाल जिल्लामा हाल एक सय ६४ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् । त्यसमध्ये आठजना संस्थागत आइसोलेसन र एक सय ५६ जना होम आइसोलेसनमा रहेका छन् । 

हाल जिल्लामा कोरोनाका लक्षणसँग मिल्दाजुल्दा बिरामी बढिरहेका छन्, तर कोरोना परीक्षणको दायरा साँघुरो रहेको छ । जिल्लामा रहेका अस्पतालमा स्वास्थ्य परीक्षणसँगै एक्स–रे सेवा, अल्ट्रासाउन्ड, डेन्टल सेवा, फिजियोथेरापी, रगत परीक्षण र कुनै दुर्घटना भएमा चोटपटकको उपचार मात्र हुने गरेको पाइएको छ ।