Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
आयल निगमको २ नम्बर प्रादेशिक कार्यालय, अमलेखगन्जमा ट्यांकरमा तेल लोड गर्दै कर्मचारीहरू । तस्बिर /नयाँ पत्रिका
अजित अधिकारी काठमाडौं
२०७८ जेठ ३ सोमबार २१:१९:००
Read Time : > 2 मिनेट
अर्थ डिजिटल संस्करण

लकडाउनका बाबजुत गण्डकी र लुम्बिनी प्रदेशमा इन्धनको माग उच्च, अन्यत्र घट्दै

Read Time : > 2 मिनेट
अजित अधिकारी, काठमाडौं
२०७८ जेठ ३ सोमबार २१:१९:००

देशभरका ७५ जिल्लामा जारी लकडाउनका कारण सवारीसाधन सञ्चालनमा कडाइ गरिएको छ । सडकमा गुड्ने सवारीसाधनको संख्यामा कमी आउनासाथ इन्धन खपत घट्नुपर्ने भए पनि गण्डकी र लुम्बिनी प्रदेशमा इन्धनको माग उच्च बिन्दुमै छ । अन्य प्रदेशमा भने बिस्तारै माग घट्न थालेको छ ।

आयल निगमको गण्डकी प्रादेशिक कार्यालय, पोखराले दैनिक औसतमा एक लाख ४० हजार लिटर पेट्रोल र तीन लाख लिटर डिजेल बिक्री गर्दै आएको छ । कार्यालय प्रमुख पुस्कर कार्कीका अनुसार निषेधाज्ञा जारी भएपछि इन्धन खपत कम हुने देखेर  सातामा तीन दिन (आइतबार, मंगलबार र शुक्रबार) मात्र डिपो सञ्चालन भइरहेको छ । आइतबार सो डिपोले एक लाख २० हजार लिटर पेट्रोल र तीन लाख लिटर डिजेल बिक्री गरेको कार्कीले जानकारी दिए ।

‘आइतबारबाट मागमा केही कमी आएको छ । त्यसअघि त माग धेरै थियो, हामी पनि अचम्मित थियौँ,’ उनले भने । उनका अनुसार बाग्लुङ, पर्वत, म्याग्दी, स्याङ्जाका पेट्रोल पम्पले अधिक तेल लैजाने गरेका छन् । निषेधाज्ञाका बाबजुत सवारीसाधनको बाक्लो उपस्थिति हुँदा इन्धन खपत सामान्य अवस्थामै रहेको भन्दै पेट्रोलियम व्यवसायीहरूले समेत गुनासो राखेका छन् ।

पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनअन्तर्गतको गण्डकी–धौलागिरि एसोसिएसनले दैनिक खपत पुरानै अवस्थाको रहेको भन्दै सवारीसाधन सञ्चालनमा कडाइ गर्न आग्रह गर्दै विज्ञप्तिसमेत निकालेको छ ।

आयल निगमको अधिकांश डिपोहरू सातामा तीन दिन मात्र सञ्चालन भइरहँदा लुम्बिनी प्रादेशिक कार्यालय, भैरहवा भने नियमित सञ्चालनमा छ । कार्यालय प्रमुख प्रलयंकर आचार्यका अनुसार इन्धन मागमा खासै कमी नआएकाले दिनहुँ तेल बिक्री भइरहेको छ । सामान्य अवस्थामा भैरहवा डिपोले दैनिक चार लाख लिटरसम्म पेट्रोल र १२ लाख लिटर डिजेल बिक्री गर्ने गरेको छ । 

आइतबार पनि पेट्रोल करिब दुई लाख लिटर बिक्री भएको थियो भने डिजेल ११ लाख ८२ हजार लिटर बिक्री भएको थियो । ‘यहाँ सवारीसाधनको आवागमनमा केही कमी छ । तर, भारततर्फ तस्करी हुने गरेको र धेरै विकास आयोजनाको काम भइरहेकाले इन्धन खपतमा खासै कमी नआएकोजस्तो लाग्छ,’ आचार्यले भने । उनका अनुसार पेट्रोल पम्पहरूले करिब २० प्रतिशत मात्रै माग परिमाण घटाएका छन् ।

आयल निगमको सबैभन्दा ठूलो इन्धन डिपोका रूपमा परिचित दुई नम्बर प्रादेशिक कार्यालय, अमलेखगञ्जले लकडाउन सुरु भएपछि हप्तामा तीन दिन (आइतबार, मंगलबार र बिहीबार) कार्यालय सञ्चालन गरेको थियो । तर, इन्धन मागमा खासै कमी नआएपछि अहिले हप्तामा चार दिन डिपो खुल्ला राखेर तेल बिक्री गरिरहेको कार्यालय प्रमुख प्रदीप यादवले जानकारी दिए ।

अमलेखगन्ज डिपोले सामान्य अवस्थामा दैनिक ५.५० लाख लिटर पेट्रोल र २५ लाख लिटर डिजेल बिक्री गर्दै आएको छ । आइतबार डिपो खोलेपछि तीन लाख लिटर पेट्रोल र २० लाख लिटर डिजेल बिक्री गरेको यादवले जानकारी दिए । ‘यहाँ तेलको माग बिस्तारै बढ्न थालेको छ,’ उनले भने, ‘त्यसैले यो हप्तादेखि आइतबार, सोमबार, बुधबार र शुक्रबार कार्यालय खोल्ने निर्णयमा पुगेका छौँ ।’

डिपो आसपासमा कोराना संक्रमणले स्थानीयहरूको मृत्यु हुन थालेपछि प्रशाशन र जनप्रतिनिधिहरूबाट डिपो सञ्चालनमा सावधानी अपनाइदिन आग्रह भइरहेको उनले बताए । ‘यस क्षेत्रमा संक्रमण उच्च भएको छ । त्यसैले हामीले साताभरि डिपो खोलेर तेल बिक्री गर्न सकिरहेका छैनौँ,’ यादवले भने, ‘सुरक्षा र स्वास्थ्यका हिसाबले उच्च सावधानी अपनाएर डिपो सञ्चालन गरिरहेका छौँ ।’

अन्यत्र माग घट्दै
पूर्वमा लकडाउनको कारण सवारी साधन सञ्चालनमा बिस्तारै कडाइ हुँदै गएको छ । जसकारण इन्धन माग घट्न थालेको निगमको १ नम्बर प्रादेशिक कार्यालय, विराटनगरका प्रमुख नकुल भण्डारीले जानकारी दिए ।

विराटनगर डिपोले सामान्य अवस्थामा दैनिक चार लाख लिटरसम्म पेट्रोल र १० लाख लिटर डिजेल बिक्री गर्दै आएको छ । आइतबार दुई लाख ८० हजार लिटर पेट्रोल र ११ लाख १६ हजार लिटर डिजेल बिक्री गरेको भण्डारीले जानकारी दिए । ‘अघिल्लो दुई दिन कार्यालय बन्द हुँदा आइतबार केही माग बढेको देखिएको हो । यद्यपि, यस क्षेत्रमा इन्धनको खपत विस्तार घट्न थालेको छ,’ उनले भने ।

काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा इन्धन वितरण गर्ने थानकोट डिपोले पनि इन्धन खपत घट्दै गएको जनाएको छ । डिपो प्रमुख अभिषेक ठाकुरअनुसार आइतबार ११ लाख ५० हजार लिटर डिजेल र सात लाख ४९ हजार लिटर पेट्रोल खपत भएको छ । ‘हामीले एक सातायता तिन दिन मात्रै डिपो खोलेर इन्धन बिक्री गरिरहेका छौँ, अहिले इन्धनको मागमा केही कमी आउन थालेको छ,’ ठाकुरले भने ।

कोरोनाको दोस्रो लहरले सुरुवातमै धेरै असर गरेको नेपालगन्ज क्षेत्रमा निरन्तर इन्धन खपत घटिरहेको छ । निगमको नेपालगन्ज डिपो प्रमुख कमला न्यौपानेका अनुसार सामान्य अवस्थाको तुलनामा ५० प्रतिशत मात्रै इन्धन खपत छ । उनका अनुसार आइतबार एक लाख ८० हजार लिटर पेट्रोल र नौ लाख ८० हजार लिटर डिजेल बिक्री भएको छ । नेपालगन्ज कार्यालय पनि हप्तामा तीन दिन मात्र सञ्चालन भइरहेको उनले बताइन् ।