Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ जेठ ३ सोमबार २१:१५:००
Read Time : > 4 मिनेट
विश्व

इजरायल–प्यालेस्टाइन विवाद : बारम्बार किन चर्किन्छ ?

Read Time : > 4 मिनेट
२०७८ जेठ ३ सोमबार २१:१५:००

एक सातादेखि इजरायल र प्यालेस्टाइनबीच द्वन्द्व चलिरहेको छ । द्वन्द्व चर्किएको एक सातामा दुवैतर्फ कति क्षति भयो भन्ने यकिन तथ्यांक सार्वजनिक भएको छैन । तर, दुवैतर्फबाट आफूहरूले धेरै नै क्षति पु¥याएको दाबी गरिरहेका छन् ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टाइनतर्फबाट भएको रकेट आक्रमणको आलोचना गर्दै धम्की दिएका छन् । उनले विपक्षीलाई कडा रूपमै प्रत्युत्तर दिन तयार रहेको बताएका छन् । अमेरिकी समाचार संस्था (एपी) र कतारको सामाचार संस्था अलजजिराको कार्यालय रहेको गाजास्थित १३ तले भवन इजरायलको रकेट आक्रमणबाट शनिबार ध्वस्त भएको छ । एपीले इजरायलको यो कार्यप्रति ‘भयानक र स्तब्ध पार्ने’ भन्दै आलोचना गरेको छ । अलजजिराका पत्रकारहरूले पनि गाजाक्षेत्रमा इजरायलले काम गर्ने वातावरण नदिएको आरोप लगाएका छन् । 

ध्वस्त भएको भवनमा १५ वर्षदेखि एपीको कार्यालय थियो । भवनलाई लक्षित गरी इजरायलले रकेट प्रहार गर्नुभन्दा एक घन्टाअघि कार्यालय खाली गर्न आदेश दिइएको थियो । त्यसवेला यहाँ एपीका १२ जना पत्रकार कार्यरत थिए । धम्की आएलगत्तै पत्रकारहरूले भवन छाडेका थिए । त्यसपछि शक्तिशाली रकेटको निशानामा भवन प¥यो । केही सेकेन्डमै यो अग्लो भवन ध्वस्त भयो । 

प्रेस स्वतन्त्रता संरक्षणसम्बन्धी वकालत गर्ने अन्तर्राष्ट्रिय संस्थाहरूले पनि इजरायलको यो आक्रमणप्रति निन्दा गरेको छ । ‘इजरायलले आफ्नो जघन्य अपराध बाहिर नआओस् भन्ने उद्देश्यले मिडियामाथि सेन्सर र निशाना बनाइरहेको छ,’ अन्तर्राष्ट्रिय संस्थाहरूले भनेका छन् । अलजजिरा मिडिया नेटवर्कका कार्यवाहक महानिर्देशक मुस्ताफ सुआगले अन्तर्राष्ट्रिय समुदायसँग इजरायलको निन्दा गर्न आग्रह गरेका छन् । 

अन्तर्राष्ट्रिय सञ्चारकर्मी बसेको भवनमाथि यो आक्रमण पहिलो भए पनि केही दिनयता इजरायल र प्यालेस्टाइनले एकअर्काका क्षेत्रमा निरन्तर रकेट र मिसाइल आक्रमण गरिरहेका छन् । जसका कारण यहाँ स्वदेशी मात्र नभएर विदेशी नागरिकसमेत ज्यान जोखिममा राख्न बाध्य भएका छन् । 

गत शनिबार गाजा सहरको पश्चिमस्थित एक शरणार्थी शिविरमा रहेका एउटै परिवारका १० जना इजरायली हवाई आक्रमणमा मारिएका थिए । हवाई आक्रमणका वेलामा त्यहाँ महिला तथा बालबच्चा इद मनाइरहेका थिए । १० जना सदस्य गुमाएको परिवारका ज्येष्ठ नागरिक मोहम्मद अलले निर्दोषमाथि आक्रमण गरेको बताए । ‘हाम्रो घरमा रकेट थिएन, घरमा केवल महिला र केटाकेटी मात्र थिए, उनीहरू सबै शान्तिपूर्वक इद मनाइरहेका थिए,’ भावविभोर हुँदै मोहम्मद अलले भने, ‘उनीहरूको के दोष थियो र कलिला बच्चामाथि रकेट प्रहार गर्नुप¥यो ?’ 

नेतन्याहुले गाजाक्षेत्रको आक्रमणलाई निरन्तरता दिने आइतबार घोषणा गरेको केही क्षणमै रकेट आक्रमण भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन् । यो हवाई हमलामा कम्तीमा तीनजना प्यालेस्टाइनी मारिएका छन् । प्यालेस्टाइनी मिलिसिया तेलअभिभतर्फ रकेट प्रहार गरेपछि त्यहाँका सर्वसाधारण ज्यान जोगाउन आश्रयस्थलको खोजीमा भागेका छन् । अन्तर्राष्ट्रिय समुदायहरूले बढ्दो संघर्ष समाप्त गर्न आह्वान गरिरहेका छन् । यसैबीच शनिबार अमेरिकी राष्ट्रपति जो बाइडेनले नेतान्याहु र प्यालेस्टाइनका राष्ट्रपति मोहम्मद अब्बासलाई फोन गरेर जारी द्वन्द्वबारे चिन्ता व्यक्त गरेका छन् ।

यसैबीच संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक बस्ने भएको छ । विशेषतः इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्वको विषय बैठकमा छलफल हुने अनुमान गरिएको छ । संयुक्त राष्ट्रसंघले यसलाई ‘पूर्ण युद्ध’को संज्ञा दिएको छ । प्यालेस्टाइनी अधिकारीहरूका अनुसार गत सोमबार सुरु भएको द्वन्द्वबाट गाजामा ५२ बालबालिका, ३१ महिलाको निधन भएको छ । यसैक्रममा एक हजार दुई सय २५ जना घाइते भएका छन् । इजरायलमा पनि १० जनाभन्दा धेरैले ज्यान गुमाइसकेका छन् । 

नेतन्याहुको धम्की
शनिबार एक टेलिभिजनमार्फत इजरायलका प्रधानमन्त्री नेतन्याहूले प्यालेस्टाइनमाथि लक्षित गर्दै धम्कीपूर्ण भाषण दिएका थिए । नेतन्याहुले ‘आवश्यक परेसम्म’ कारबाही जारी रहने बताएका छन् । ‘हामी आवश्यक परेसम्म कारबाही जारी राख्छौँ, आक्रमणको क्रममा कोही सर्वसाधारण नपरून् भनेर हरसम्भव प्रयास हुनेछ,’ उनले भने । प्रधानमन्त्री नेतन्याहूले आफूहरूमाथि आक्रमण गर्ने समूह नै पछिल्लो घटनाक्रमको दोषी भएको दाबी गरेका छन् । नेतन्याहुले भनेका छन्, ‘आक्रमणको दोषी हामी होइनौँ हामीमाथि आक्रमण गर्नेहरू नै दोषी हुन् ।’ पछिल्लो समय पूर्वी जेरुसेलममा इजरेली र प्यालिस्टिनीबीच तनाव बढ्दै गएपछि यसक्षेत्रमा हिंसा चर्किएको हो । गाजामा नियन्त्रण जमाएको प्यालिस्टिनी विद्रोही समूह हमासले त्यहाँबाट इजरेली सैनिक हटाउन चेतावनी दिँदै आक्रमण गरेपछि प्रत्याक्रमण भएको हो । 

कति पुरानो हो यो संघर्ष ?

इजरायल र प्यालेस्टाइनबीचको आन्तरिक द्वन्द्व निकै पुरानो हो । कम्तीमा सय वर्षदेखि दुई देशबीच विवाद र द्वन्द्व चल्दै आइरहेको छ । अहिले जहाँ इजरायल छ यो स्थानमा कुनै समय टर्कीले शासन गरेको थियो । त्यसवेला यसलाई ओटोमान साम्राज्य भनिन्थ्यो । सन् १९१४ मा पहिलो विश्वयुद्ध सुरु भयो । विश्वयुद्धमा टर्कीले विरोधी पक्षको साथ दियो । त्यसवेला टर्कीको मित्रराष्ट्रका रूपमा बेलायत थियो । टर्कीले विरोधी पक्षको साथ दिएकाले बेलायत टर्कीको विपक्षी बन्यो । यसैवेला बेलायती साम्राज्य आफ्नो उत्कर्षमा थियो । युद्ध जितेको बेलायतले ओटोमान साम्राज्य आफ्नो नियन्त्रणमा राख्यो ।

यो समय जियोनिज्मको भावना चरम अवस्थामा थियो । जियोनिज्म एक राजनीतिक विचारधारा हो । यसको उद्देश्य एक अलग र स्वतन्त्र यहुदी राज्य स्थापना गर्ने भन्ने थियो । यसै भावनाका कारण विभिन्न देशका यहुदीहरू ओटोमान साम्राज्यमा आउन थाले । सन् १९१७ मा बेलायतका विदेशसचिव जेम्स बेलफोरले बेलायत प्यालेस्टाइनलाई यहुदीहरूको मातृभूमि बनाउन प्रतिबद्ध रहेको घोषणा गरे । सन् १९४५ मा दोस्रो विश्वयुद्ध समाप्त भयो । यो युद्धमा बेलायतलाई धेरै नोक्सानी भयो । बेलायत पहिलेको जस्तो शक्तिमा रहेन ।

दोस्रो विश्वयुद्ध पछि यहुदीहरू प्यालेस्टाइनमा गएर त्यहीँ बस्ने क्रम बाक्लै रह्यो । यससँगै अन्य देशले बेलायतमाथि यहुदीहरूको पुनर्वासको व्यवस्था गर्न दबाब दिन थाले । अन्ततः बेलायतले आफूलाई यो विवादबाट अलग राख्यो । बेलायतले यो विवाद समाधानको जिम्मा संयुक्त राष्ट्रसंघलाई दिँदै आफू पन्छियो । २९ नोभेम्बर १९४७ मा संयुक्त राष्ट्रसंघले प्यालेस्टाइनलाई दुई भागमा विभाजित ग¥यो । विभाजित हुँदा एक भाग अरब राज्य र अर्को इजरायल बन्यो । जेरुसेलमलाई संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय सरकारको नियन्त्रणमा राख्यो । अरब देशहरूले संयुक्त राष्ट्रसंघको यो निर्णय मान्न अस्वीकार गरे । जनसंख्याको हिसाबले कम जमिन पाएको दाबी अरबी देशहरूले गरेका थिए । 

विभाजनपछि प्यालेस्टाइनले कुल भूभागको आधाभन्दा कम भूभाग पाएको थियो । विभाजनभन्दा अघि करिब ९० प्रतिशत भूभागमा अरबी देशहरूको नियन्त्रण थियो । सन् १९४८ मा इजरायलले स्वयंलाई एक स्वतन्त्र राष्ट्र घोषित ग¥यो । अमेरिकाले तत्कालै इजरायललाई एक स्वतन्त्र देशका रूपमा मान्यता दियो । त्यसपछि अरब देश र इजरायलबीच कैयौँ युद्ध भए । 

इजरायल र प्यालेस्टाइनबीच सहमति नहुनुका धेरै कारण छन् । जसमध्ये प्यालेस्टाइन शरणार्थीहरूलाई के गर्ने, वेस्ट बंैकमा रहेका यहुदीलाई बसोवास गर्न दिने वा हटाउनेजस्ता मुद्दा छन् । यसैगरी, जेरुसेलमलाई दुई पक्षले भाग लगाउने वा नलगाउनेजस्ता मुद्दा छन् । 

द्वन्द्वको विश्वभर विरोध

हाल इजरायल र प्यालेस्टाइनबीच जारी द्वन्द्वविरुद्ध विश्वभर भत्र्सना भइरहेको छ । लगातार एक सातादेखि चलेको द्वन्द्वमा ससाना बच्चादेखि महिला निशानामा परेका छन् । इजरायलको विरोधमा अमेरिका, बेलायत, फ्रान्स, सिरिया तथा बंगलादेशका विभिन्न सहरमा विरोध प्रदर्शन भइरहेका छन् । 

बेलायतको लन्डनमा प्रदर्शनकारीहरूले तत्कालै अन्तर्राष्ट्रिय समुदायले हस्तक्षेप गरी शान्ति स्थापना गर्न आह्वान गरेका छन् । लन्डनस्थित इजरायलको दूतावासअगाडि प्रदर्शनकारीहरूले धर्ना दिएका छन् । ‘निर्दोष मानिसको ज्यान लिने काम तत्काल रोक्नुपर्छ,’ भन्ने नारा उल्लेखित ब्यानरसहित प्रदर्शनकारीले विरोध जनाएका छन् । यसैगरी अमेरिकाको वासिङ्टनमा पनि प्रदर्शन भएको अन्तर्राष्ट्रिय एजेन्सीहरूले जनाएका छन् । 

फ्रान्सको राजधानी पेरिसमा विदेश मन्त्रालयबाहिर सयौँ प्रदर्शनकारीहरूले प्यालेस्टाइनको समर्थनमा नाराबाजी गरेका छन् । कानुनविपरीत विदेश मन्त्रालयअगाडि प्रदर्शन गरेका प्रदर्शनकारीहरूलाई सुरक्षाकर्मीले जरिवाना गरेको छ । यसैगरी जोर्डन र इजरायलको बोर्डरमा सयौँ प्रदर्शनकारीले प्यालेस्टाइनको पक्षमै प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले तत्काल इजरायलविरुद्ध कडा कदम उठाउनुपर्ने माग राखेका छन् । 

दक्षिण एसियाली मुलुक बंगलादेशमा दिनप्रतिदिन कोरोना संक्रमित बढिरहे पनि ढाकामा इजरायलविरोधी प्रदर्शन भएको छ । प्रदर्शनकारीहरूले इजरायलले तत्कालै रकेट आक्रमण रोक्नुपर्ने माग राखेका छन् । शुक्रबार नमाज समयपछि मस्जिदबाहिर दर्जनौँ प्रदर्शनकारीले ‘बायकट इजरायल’ लेखी पोस्टर र ब्यानरसहित नारा लगाएका थिए ।