१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ बैशाख २९ बुधबार ०६:०८:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बन्दीपुर केबलकार एक वर्षमा सञ्चालनमा आउने

Read Time : > 1 मिनेट
२०७८ बैशाख २९ बुधबार ०६:०८:००

बन्दीपुरमा निर्माण भइरहेको केबलकार ०७९ वैशाखदेखि सञ्चालनमा आउने गरी निर्माण भइरहेको छ । कोभिड– १९ का कारण निर्माणले गति लिन नसक्दा केही समय ढिलाइ भए पनि जोखिमबीच कामदारले निर्माणलाई प्राथमिकता दिँदा निर्माणले तीव्रता पाएको हो । 

पछिल्लो समय कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि कामदारलाई निर्माणस्थलमै राखेर कामलाई निरन्तरता दिएको बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले जनाएको छ । पर्यटकीय क्षेत्र बन्दीपुरमा धेरैभन्दा धेरै पर्यटक भित्र्याउने उद्देश्यले बन्दीपुर गाउँपालिका–४, ठूलोढुंगादेखि बरालथोकसम्म सञ्चालन गर्ने गरी केबलकार निर्माण थालिएको हो । बन्दीपुर केबलकारसहित  पाँचतारे होटेल र कुइन टावरसमेत निर्माणाधीन अवस्थामा रहेको  बन्दिपुर केबलकार एन्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले बताए ।

उनले भने, ‘कोभिडका कारण बजारहरू पूर्ण रूपमा बन्द छन् । यो समयमा बाहिर हिँडडुल गर्न पनि भएन, तर केबलकार निर्माणको काम भने स्वास्थ्य मापदण्ड अपनाएर गरिरहेका छाैँ ।’ कामदारलाई बाहिर निस्कन नदिई निर्माणस्थलमा नै कम्पाउन्ड गरेर सुरक्षित तरिकाले राखेकाको निर्माणले गति लिएको उनको भनाइ छ । 

बन्दीपुर केबलकारसहितको कुइन टावरको निर्माणको काम ७० प्रतिशत सम्पन्न भएको छ । निर्माणाधीन केबलकारमा १९ वटा डिब्बा रहनेमा दुईवटा सामग्री बोक्ने क्याबिन, दुईवटा साहसिक पर्यटक चढ्नका लागि सिसैसिसाको क्याबिन र १५ वटामा पर्यटकहरू ओसारपसार गर्ने क्याबिन रहने छ । त्यस्तै, १५ तलाको हुने उक्त कुइन टावरमा ९ तला ढलान भइसकेको छ । आउँदो दसैँमा केबलकार सञ्चालन गर्ने लक्ष्य भए पनि कोरोनाका कारण ढिलाइ भएको शर्माको भनाइ छ । 

कुइन टावरको पन्ध्रौँ तलामा  दृश्यावलोकन कोठा, चौधाैँ तलामा रेस्टुरेन्ट, तेह्रौँ तलामा स्विमिङ पुललगायत वाकर्स म्युजियम, गेमिङ जोनलगायतका संरचना निर्माण गरिने भएको छ । बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बन्दीपुर केबलकार नेपालकै नमुना प्रोजेक्ट भएको बताए । ठूलोढुंगाबाट बरालथोकसम्मको केबलकारको दूरी १ हजार ७ सय मिटरको रहेको छ ।

०७५ असोजबाट केबलकार निर्माणको काम सुरु गरिएको भए पनि कोभिडका कारण ढिलाइ भएको हो । १ अर्ब ७८ करोडको लागतमा निर्माणाधीन उक्त केबलकार एवं पाँचतारे होटेलका लागि आर्केडी होल्डिङ्सको ५१ प्रतिशत सेयर, पन्चासे केबलकार एन्ड टुर्स लिमिटेडको २५ प्रतिशत, टुरिजम इन्भेस्टमेन्ट फन्डको १० प्रतिशत र बन्दीपुर गाउँपालिका र स्थानीयको १४ प्रतिशत लगानी रहेको छ ।