मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
यम बम काठमाडाैं
२०७८ बैशाख २८ मंगलबार ०६:३५:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

११ संवैधानिक निकायमा २० पदाधिकारी सिफारिस

Read Time : > 2 मिनेट
यम बम, काठमाडाैं
२०७८ बैशाख २८ मंगलबार ०६:३५:००

समावेशी आयोगको अध्यक्षमा शपथ नलिएका खत्री सदस्यमा सिफारिस, सदस्य अस्वीकार गरेका तिमल्सिनाले पाए अध्यक्ष 

संवैधानिक परिषद्को आइतबारको बैठकले सर्वाेच्च अदालतका पूर्वरजिस्ट्रार रामकृष्ण तिमल्सिना (कास्की)लाई समावेशी आयोगको अध्यक्षमा सिफारिस गरेको छ । यसअघि गत ३० मंसिरमा अध्यादेशमार्फत ३५ जनालाई विभिन्न संवैधानिक निकायमा नियुक्ति सिफारिस गर्दा तिमल्सिना समावेशी आयोगको सदस्यमा सिफारिस भएका थिए । तर, उनले सदस्यको नियुक्ति खान अस्वीकार गरेका थिए । 

सर्वोच्च अदालतको संवैधानिक इजलासमा पनि विज्ञका रूपमा कार्यरत तिमल्सिनाले नयाँ पत्रिकासँग भने, ‘सदस्यमा नियुक्ति नखाने भनेर अस्वीकार गरेको थिएँ, अहिले अध्यक्षमा सिफारिस गरिएको कुरा पत्रपत्रिकाबाट जानकारीमा आएको छ, मैले निर्णय लिइसकेको छैन ।’ तर, उनी निकटस्थ स्रोतका अनुसार अध्यक्षमा सिफारिस गर्नुअघि बालुवाटारले उनको राय लिएको थियो । तिमल्सिनाले ‘प्रक्रिया पुर्‍याएर अध्यक्षमा सिफारिस गरिए नियुक्ति लिन तयार रहेको’ बताएका थिए । 

३० मंसिरमा समावेशी आयोगको अध्यक्षमा सिफारिस भएर शपथग्रहण नगरेको भनी सार्वजनिक अभिव्यक्ति दिएका बझाङका मानप्रसाद खत्री अहिले त्यही आयोगको सदस्यमा सिफारिस भएका छन् । पूर्वसंविधानसभा सदस्य रहेका एमाले नेता खत्रीले त्यतिखेर ‘पार्टीको संगठन विस्तार मुख्य प्राथमिकता रहेको भन्दै अध्यक्ष पद अस्वीकार गरेको’ जिकिर गरेका थिए । 

स्रोतका अनुसार खत्रीले शैक्षिक योग्यताका कारण अध्यक्ष पद खान पाएका थिएनन् । राष्ट्रिय समावेशी आयोग ऐन, २०७४, दफा ६ (ख)मा ‘अध्यक्षको हकमा मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातक उपाधि हासिल गरेको’ शैक्षिक योग्यताको व्यवस्था छ । तर, खत्री प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण हुन् । आफू स्नातक उत्तीर्ण रहेको दाबी गरेका खत्रीले भने, ‘पार्टीको निर्णयअनुसार अगाडि बढ्छु ।’

त्यस्तै, पाँच सदस्यीय निर्वाचन आयोगको आयुक्तमा रुपन्देहीका सगुनशमशेर जबरा सिफारिस भएका छन् । परिषद्ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्यमा पाँचथरका विपिनराज निरौला र धनुषाकी सुधाकुमारी झालाई सिफारिस गरेको छ । महिला आयोगमा पनि दुई पदाधिकारी सिफारिस भएका छन् । आयोग सदस्यमा धनुषाकी जया घिमिरे र पर्वतकी सावित्राकुमारी शर्मा सिफारिस भएका छन् ।

राष्ट्रिय दलित आयोगको सदस्यमा काठमाडौंका सुन्दर पुर्कुटी सिफारिस भएका छन् । गत मंसिरमा पनि परशुराम रम्तेल सदस्यमा सिफारिस भएका थिए । तर, उनले अस्वीकार गरेपछि पद रिक्त थियो । त्यस्तै, आदिवासी जनजाति आयोग सदस्यमा खोटाङका सूर्यबहादुर गुरुङ सिफारिस भएका छन् । यसअघि सिफारिस मेन्चुङ लामाले शपथ लिएका थिएनन् । 

थारू आयोग सदस्यमा नवलपरासी पश्चिमका उमाशंकर चौधरी सिफारिस भएका छन् । यसअघि विकास चौधरी सिफारिस भए पनि उनले शपथ लिएका थिएनन् । त्यस्तै, मधेसी आयोग सदस्य र मुस्लिम आयोगमा क्रमशः सप्तरीकी आभा कुमारी र सर्लाहीका मोहम्मद समसुल हक सिफारिस भएका छन् । समावेशी आयोगका सदस्यमा पर्वतका पुष्पराज तिमिल्सिना सिफारिस भएका छन् ।

प्रमुख प्रतिपक्षी कांग्रेस सभापति शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित परिषद्को बैठकले ११ संवैधानिक निकायमा २० जना पदाधिकारीलाई सिफारिस गरेको हो । 

अख्तियारमा पौडेल र अमात्य
परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रिक्त दुई आयुक्तमा डा. हरि पौडेल र डा. सुमित्रा अमात्यलाई नियुक्ति सिफारिस गरेको छ । पौडेल राष्ट्रपति कार्यालयका सचिव हुन् भने अमात्य काठमाडौं महानगरपालिकाको फोहोरमैला व्यवस्थापन विभागको प्रमुख हुन् ।

सरकारले पूर्वसचिव प्रेमकुमार राईलाई प्रमुख आयुक्तमा नियुक्त गरेपछि तत्कालीन कार्यवाहक प्रमुख आयुक्त गणेशराज जोशी र आयुक्त सावित्री थापाले राजीनामा दिएका थिए । ६ वर्षे कार्यावधि सकाउन दुई महिना बाँकी रहँदै उनीहरूले राजीनामा दिएपछि दुई पद खाली थियो । 

लोकसेवामा झन्डै दुई महिनापछि पदाधिकारी
लोकसेवा आयोगमा करिब दुई महिनापछि पदाधिकारी सिफारिस भएका छन् । परिषद्ले झापा घर भएका पूर्वसचिव माधवप्रसाद रेग्मीलाई अध्यक्षमा सिफारिस गरेको छ । त्यस्तै, सदस्यमा पूर्वसचिवद्वय कपिलवस्तुका माधव बेलबासे र इलामका वीरबहादुर राई तथा ललितपुरका दिनेश सिलवाल र महोत्तरीका मञ्जु कुमारीलाई सिफारिस गरेको छ ।