१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
थापाथलीस्थित प्रसूतिगृहमा कोरोनाविरुद्धको खोप लगाउनेको भिड । फाइल तस्बिर/नयाँ पत्रिका
अर्जुन अधिकारी काठमाडाैं
२०७८ बैशाख २८ मंगलबार ०६:२७:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

भिड बढ्यो भनेर एक लाख नागरिकलाई पुग्ने खोप थन्क्याइयो

Read Time : > 1 मिनेट
२०७८ बैशाख २८ मंगलबार ०६:२७:००

खोप लगाउन आउनेको भिड व्यवस्थापन गर्न नसकेको भन्दै सरकारले कम्तीमा एक लाखभन्दा धेरै नागरिकलाई पुग्ने कोरोनाविरुद्धको खोप थन्क्याएको छ । स्वास्थ्य मन्त्रालयले १५ वैशाखदेखि खोप अभियान स्थगित गरेको छ । 

मन्त्रालयका अनुसार कोभिसिल्ड खोप एक लाख ५४ हजार ११ डोज र चिनियाँ खोप भेरोसेल दुई लाख २२ हजार तीन सय ४० डोज मौज्दात छ । कोरोना महामारीमा बनाइएको खोपको म्याद ६ महिनाको मात्रै छ । 

कोभिसिल्ड खोप पहिलो डोज लगाएकाहरूलाई दोस्रो डोज दिन पुग्ने गरी मौज्दात छैन । पहिलो डोज लगाएर दोस्रो डोजको पर्खाइमा १३ लाख ६४ हजार सात सय एक नागरिक छन् । ‘पहिलो डोज लगाएकाहरूलाई तत्काल दोस्रो डोज आउने सम्भावना देखिँदैन । मौज्दात खोपले दोस्रो डोज लगाउन मिल्दैन । त्यसैले बाँकी डेढ लाख पनि पहिलो डोजमै प्रयोग गर्नु राम्रो हुन्छ,’ स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने । 

त्यस्तै, चीन सरकारले अनुदानमा दिएको आठ लाख भेरोसेल खोपमध्ये दुई लाख ८८ हजार आठ सय ३० डोज मात्रै प्रयोग भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पहिलो डोज लगाएकाहरूका लागि आवश्यक खोप राखेर पनि दुई लाख २२ हजार तीन सय ४० डोज प्रयोग गर्न मिल्छ । 

स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले ५० हजारलाई पुग्ने चिनियाँ खोप बाँकी रहेको बताए । ‘खोप केन्द्रहरूमा थामिनसक्नु भिड भएकाले चल्दाचल्दैको खोप रोकेका हौँ,’ उनले भने, ‘मन्त्रालयसँग छलफल गरेर केही दिनमा पुनः चलाउँछौँ ।’ सरकारले भेरोसेल १८ वर्षदेखि ५९ वर्षसम्मका सबैका लागि खुला गरेको थियो । अब भने प्राथमिकताका आधारमा मात्रै खुला गर्ने डा. गौतमले बताए । 

३१ लाख ४८ हजार डोज खोप प्राप्त : १९ लाख पाँच हजारले दुवै डोज लगाए
स्वास्थ्य मन्त्रालयको खोप शाखाको तथ्यांकअनुसार अनुदानमा प्राप्त तथा खरिद गरिएको गरी अहिलेसम्म ३१ लाख ४८ हजार डोज खोप उपलब्ध भएको छ । यसमा भारतले नेपाली सेनालाई उपलब्ध गराएको एक लाख डोज कोभिसिल्ड खोप जोडिएको छैन । भारतले १० लाख डोज कोभिसिल्ड र चीनले आठ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो । कोभ्याक्स सुविधाबाट २२ लाख डोज उपलब्ध गराउने घोषणा भए पनि तीन लाख ४८ हजार डोज कोभिसिल्ड मात्रै प्राप्त भएको छ । त्यस्तै, सरकारले भारतीय कम्पनी सेरमलाई २० लाख डोजको रकम अग्रिम भुक्तानी गरे पनि १० लाख डोज मात्रै प्राप्त भएको छ । 

अहिलेसम्म १९ लाख पाँच हजार एक सय ५९ नागरिकले दोस्रो डोज खोप पनि लगाइसकेका छन् । त्यस्तै, ६५ वर्षमाथिका १३ लाख ६४ हजार सात सय एकजनाले पहिलो डोज लगाए पनि दोस्रो डोज पाएका छैनन् । खोप उपलब्ध भए जेठ पहिलो हप्ताबाट दोस्रो डोज लगाउन सुरु गरिने मन्त्रालयले जनाएको छ । सरकारले पहिलो डोज लगाएको आठदेखि १० हप्तामा दोस्रो डोज दिने बताएको छ ।