१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ बैशाख २७ सोमबार ०६:४९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लुम्बिनीका ६ जिल्लामा पत्रकारले बनाए अक्सिजनसहितको आइसोलेसन बेड

Read Time : < 1 मिनेट
२०७८ बैशाख २७ सोमबार ०६:४९:००

देशभरि कोरोना भाइरसको दोस्रो लहर बढिरहेका वेला लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा पत्रकारहरूले अक्सिजनसहितको आइसोलेसन केन्द्र निर्माण गरेका छन् । उनीहरूले स्थानीय तह, जिल्लास्थित संघ–संस्था र सहयोगीमार्फत आइसोलेसन केन्द्र निर्माण गरेर सञ्चालनमा ल्याएका छन् । संक्रमणको दर तीव्र बढिरहेको र अस्पतालसमेत भरिएपछि उनीहरूले यस्ता संरचना निर्माण गरेका हुन् ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका महासचिव विक्रम खड्काले रोल्पा, दाङ, कपिलवस्तु, गुल्मी, पाल्पा, अर्घाखाँचीमा पत्रकार महासंघकै भवनमा आइसोलेसन निर्माण गरिएको जनाएका छन् । आइतबार जारी विज्ञप्तिमा अर्घाखाँची शाखामा भने अन्य संघ–संस्थाको सहकार्यमा संयुक्त रूपमा आइसोलेसन निर्माण गरेको उल्लेख गरेका छन् । दाङ शाखाले निर्माण गरेको आइसोलेसन ६ बेडको छ । अन्य जिल्ला शाखाले निर्माण गरेका आइसोलेसन पाँच–पाँच बेडका छन् । 

सरोकारवाला संघसंस्थाको सहयोगमा संरचना निर्माण भएको महासंघका प्रदेश अध्यक्ष वसन्त गिरीले बताए । ती आइसोलेसन सर्वसाधारणले पनि उपयोग गर्न सक्नेछन् । यस्ता संरचना निर्माण गर्दा अक्सिजन र स्वास्थ्यकर्मीहरूको भने अभाव रहेकाले महासंघ लुम्बिनी प्रदेश समितिले सम्बद्ध पक्षलाई सहयोगका लागि अपिल गरेको छ । लुम्बिनी प्रदेश समितिका अनुसार कोरोनाको दोस्रो लहरबाट प्रदेशमा अहिलेसम्म ३८ जना पत्रकार संक्रमित भएका छन् । रुपन्देहीमा सबैभन्दा बढी १४ जना छन् । बाँकेमा १२, दाङमा चार, बर्दियामा चार, पाल्पामा दुई, कपिलवस्तु र नवलपरासी पश्चिममा एक–एकजना पत्रकार संक्रमित छन् ।