मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख २७ सोमबार १०:००:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लगानीकर्ता ‘पर्ख र हेर’ को योजनामा रहँदा सेयर बजारमा थप दबाब

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख २७ सोमबार १०:००:००

साताको पहिलो सेयर कारोबार थप दबाबमा परेको छ । विशेषतः पछिल्लो राजनीतिक घटनाक्रम, सरकार फेरबदलको हल्लाका साथै बढ्दो कोरोना भाइरस संक्रमणको जोखिमका कारण लगानीकर्ता ‘पर्ख र हेर’ को अवस्थामा रहँदा सेयर बजारमा दबाब परेको लगानीकर्ता तथा विश्लेषकहरू बताउँछन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने वातावरण बिस्तारै कमजोर बन्दै गएको र एमालेको एकल सरकार ढलेर नयाँ सरकार  बन्ने सम्भावना बढेकाले सेयर बजारमा हुन सक्ने सम्भावित जोखिमलाई ख्याल गर्दै लगानीकर्ता यतिवेला पर्खिएको अवस्था रहेको एक लगानीकर्ता बताउँछन् । ती लगानीकर्ताले भने, ‘बजार घट्नु अहिले राजनीतिक कारण नै हाबी भएको देखिन्छ । नयाँ सरकार बन्दा केही नाफा आर्जन गर्न सकिन्छ भन्ने मनसाय लगानीकर्ताको सोचका कारण बजार दबाबमा परको हो ।’

कारोबारमा आएका १३ वटै समूहको सूचक नकारात्मक रहेको छ । सबैभन्दा गुमाउनेमा माइक्रो फाइनान्स, होटेल तथा पर्यटन ट्रेडिङ समूहका लगानीकर्ताले  सबैभन्दा धेरै गुमाएका छन् । त्यस्तै सबैभन्दा धेरै गुमाउने कम्पनीमा विशाल बजार कम्पनी र महिला लघुवित्त वित्तीय संस्था रहेको छ । अघिल्लो साताबाट विशाल बजार कम्पनीको निरन्तर नकारात्मक सर्किट लागेर प्रतिसेयर मूल्य ६ हजार ४५ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, कारोबारको सुरुवातदेखि नै सर्किट मूल्यमा कारोबार हँुदै आएको महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा यस दिन ब्रेक लागेको छ । आइतबार १० प्रतिशतले उल्टो नकारात्मक सर्किट लागेर प्रतिसेयर मूल्य ४ हजार ५ सय २७ रुपैयाँ कायम भएको छ । त्यस्तै, सिंगटी हाइड्रोपावर, युनियन हाइड्रोपावरका लगानीकर्ताले पनि ९ प्रतिशतले गुमाएका छन् ।

आइतबार नेप्से परिसूचक १८ दशमलव ४९ अंकले घटेर २ हजार ६ सय १८ दशमलव ६३ बिन्दुमा पुगेको छ । त्यस्तै, ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स २ दशमलव ३१ प्रतिशतले घटेर ४ सय ७० दशमलव ७३ प्रतिशतले घटेको छ ।
यस दिन धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका २ सय १९ कम्पनीको १ करोड २७ लाख २८ हजार कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १४ करोड ८९ लाख रुपैयाँको कारोबार भएको छ ।

सबैभन्दा धेरै कारोबार हुनेमा नेपाल क्रेडिट एन्ड कमर्सियल बैंक रहेको छ । बैंकको २८ करोड ८६ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रो कारोबार हुने कम्पनीमा कुमारी बैंक रहेको छ । बैंकको सो दिन २८ करोड ३४ लाख रुपैयाँको कारोबार भएको छ । हिमालयन डिस्टिलरीको २४ करोड १३ लाख रुपैयाँको कारोबार भएको छ । 

दुई कम्पनीको सर्किट मूल्यमा कारोबार
आइतबार दुई कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै  नाफा आर्जन गरेका छन् । यस दिन समता घरेलु लघुवित्त र रुरु जलविद्युत् परियोजनाका लगानीकर्ताले नाफा आर्जन गरेका छन् । कम्पनीको  करिब १० प्रतिशतले सर्किट मूल्यमा कारोबार भएको हो । त्यस्तै, राष्ट्रिय बिमा कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंकलगायतका कम्पनीका लगानीकर्ताले पनि नाफा आर्जन गर्न  सफल भएका छन् ।