नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी ओलीले विश्वासको मत प्राप्त गर्न नसक्ने भएकाले मंगलबारदेखि जिम्मेवारमुक्त हुुने बताएका छन् । आइतबार गृहजिल्लामा पत्रकारहरूसँग कुराकानी गर्दै उनले छिट्टै बहुमतको नयाँ सरकार बन्ने प्रस्ट्याएका हुन् ।
‘प्रधानमन्त्री केपी ओलीको चिन्तन, कार्यशैली पूरै निरंकुश र अलोकतान्त्रिक छ । उहाँले अहिलेसम्म प्राप्त भएका नेपाली राजनीतिक परिवर्तनलाई उल्टाएर प्रतिगमनतर्फ लैजाने कदम चालिरहनुभएको छ । त्यसैले प्रतिनिधिसभाबाट ओलीले विश्वासको मत प्राप्त गर्न सक्ने स्थिति छैन । केही दिनमै बहुमतको नयाँ सरकार बन्छ,’ उनले भने ।
उनले ओली नेतृत्वको सरकारले कोरोना महामारीमा देखाएको नालायकीपन र अध्यादेशबाट शासन गर्ने शैलीका कारण विश्वासको मत प्राप्त गर्न नसक्ने प्रस्ट्याए ।
उनले भने, ‘सरकारको निरंकुशतावादी, कोरोना महामारी नियन्त्रणमा देखाएको नालायकीपन र अध्यादेशबाट शासन गर्ने प्रशासकीय शैली छ । यो सबै कोणबाट हेर्दा यो सरकारले विश्वासको मत प्राप्त गर्न सक्दैन । भोलिको दिनबाट यो सरकार आफ्नो जिम्मेवारीबाट मुक्त हुन्छ । त्यसपछि बहुमतको हाम्रो सरकार बन्छ भन्ने कुरामा विश्वास छ ।’
एमालेभित्रको आन्तरिक द्वन्द्वबारे आफूहरू जानकार नभएको भन्दै उनले अरूको कुरामा आफूहरूले हस्तक्षेप नगर्ने बताए । ‘एमालेको एउटा पक्षले गरेको निर्णय त्यो उहाँहरूको निर्णय हो । हामीले हस्तक्षेप गर्ने या हामीले केही भन्ने कुरा आएन,’ उनले भने, ‘उहाँहरूको निर्णय के हुन्छ । त्यो उहाँहरूले नै गर्ने कुरा हो । हामीलाई के कुरामा विश्वास छ भने समग्रतामा यो सरकार पदमुक्त हुन्छ र नयाँ बहुमतको सरकार बन्छ ।’
संविधानले व्याख्या गरेअनुसार बहुमतको सरकार वा सरकार बन्ने प्रव्रिmया हुँदासम्म प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न पाउने अधिकार नभएकोसमेत उनले बताए ।