१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख २६ आइतबार १६:०६:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोरोना महामारी नियन्त्रणका लागि माधव नेपालको सार्वजनिक अपिल

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख २६ आइतबार १६:०६:००

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना महामारी नियन्त्रणका लागि सार्वजनिक अपिल गरेका छन् । नेपालले सरकार, स्वास्थ्यर्मीदेखि सर्वसाधारणसम्मलाई महामारी नियन्त्रणमा सजग हुन आइतबार १३बुँदे सार्वजनिक अपिल गरेका हुन् ।

नेपालले अपिलमा कोरोनाको भ्याक्सिन खरिदमा कमिसन नमिलेका कारण मुलुकभित्र ल्याउन अवरोध गर्नु मानवताविरोधी कार्य र अपराध भएको बताएका छन् । साथै अस्पतालहरूमा शय्या थप गर्नेदेखि अक्सिजनलगायत सामग्रीको व्यवस्थापन गर्न सरकारसँग मागसमेत गरेका छन् ।

१३बुँदे अपिल
१. कोरोनाको भ्याक्सिन खरिदमा कमिसन नमिलेका कारण मुलुकभित्र ल्याउन अवरोध गर्नु मानवताविरोधी कार्य र अपराध हो । सरकारले त्यस्ता पक्षलाई कानुनी दायरामा ल्याएर तत्काल कारबाही गर्न जोडदार माग गर्दछु । साथै कोरोनाको भ्याक्सिनजस्तो जनताको जीवन रक्षाको कुरालाई निजी नाफा र लुटको व्यापारिक उद्देश्यसहित निजी क्षेत्रलाई दिने कार्य तत्काल बन्द गर्न अनुरोध गर्दछु । कोरोना भ्याक्सिन निःशुल्क र सर्वसुलभ हुनुपर्छ, त्यसको प्रबन्ध गर्ने योजना ल्याउन सरकारसमक्ष अनुरोध गर्दछु ।

२. देशभरका अस्पतालहरूमा अक्सिजन र शय्या अभावका कारण भयावह अवस्था सिर्जना भएको छ । कोरोना संक्रमण र मृत्युदरमा भइरहेको वृद्धिले भयावह अवस्थाको प्रस्ट चित्रण गर्छ । यसबाट जनमानसमा आक्रोश बढिरहेकोतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । अत्यावश्यक अक्सिजन र अन्य उपकरणको तत्काल व्यवस्था गर्न जोडदार माग गर्दछु । नयाँ अक्सिजन प्लान्ट स्थापनाका साथै बन्द अवस्थामा रहेका अक्सिजन प्लान्टहरू तुरुन्त चालू गरी अस्पतालहरूलाई आवश्यक मात्रामा अक्सिजन उपलब्ध गराउने दायित्व सरकारको हो ।

३. कुन अस्पतालमा शय्या खाली छ, कुनमा छैन भनेर थाह पाउन मुस्किलप्रायः छ । त्यसैले एकीकृत सूचना प्रणालीका लागि वेबसाइट र एप्सलगायतका अन्य सञ्चार प्रबन्ध मिलाउन र सोहीअनुसार सेवा दिन माग गर्दछु । अहिले समाजसेवीलगायत धेरै निकाय तथा संघ–संस्थाहरूले स्वःस्फुर्त रूपमा विभिन्न सेवा प्रदान गरी एम्बुलेन्स, सवारीसाधनको व्यवस्थापन, राहतका कार्यक्रम आदि अगाडि बढाएको देखिन्छ । ती सबै सेवाहरूलाई एकीकृत रूपमा अघि बढाउन आह्वान गर्दछु ।

४. कोरोनाको हाइस्पटका रूपमा रहेका क्षेत्रहरूमा कडाइ गरिनुपर्दछ । Contract Tracing लाई बढाउँदै लग्नुपर्दछ । PCR, Swab Testing लगायत विज्ञहरूले सुझाएका पक्षहरूलाई तुरुन्तै कार्यान्वयन गरिनुपर्दछ । संक्रामक रोगका विज्ञहरूलाई समेटेर संयन्त्र बनाई महामारी रोक्ने र स्वास्थ्य सेवा मिलाउने कार्य गरिनुपर्छ ।

५. अहिले अस्पतालहरूले धान्न नसक्ने गरी बिरामी बढेका छन् । अस्पताललाई आवश्यक सबैखाले स्राेत साधनहरूको पर्याप्त व्यवस्था गरिनुपर्दछ । ICU, भेन्टिलेटरलगायतका बेडहरू थप्ने कार्य हुनुपर्छ । यसका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकाय र संघ–संस्थाहरूलाई आह्वान गर्नुपर्दछ । स्वास्थ्यकर्मीलाई PPE लगायतका अत्यावश्यक सामग्रीहरू पर्याप्त मात्रामा उपलब्ध गराउनुपर्छ ।

६. स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी आदि जो बिरामीहरूको उपचार कार्यमा संलग्न छन्, उनीहरूको स्वास्थ्य सुरक्षामा विशेष ध्यान पुर्‍याउनुपर्दछ । उनीहरूलाई १०० प्रतिशत प्रोत्साहन भत्ता र बिमाको प्रबन्ध गरी आफ्नो कार्यमा लाग्न प्रोत्साहित गरिनुपर्दछ ।

७. कोरोना नियन्त्रणका लागि प्रत्येक स्थानीय सरकारहरूलाई तत्काल आवश्यक बजेट उपलब्ध गराई क्वारेन्टिन, आइसोलेसन, एम्बुलेन्स र अन्य सवारीसाधन व्यवस्थापनलगायतका पक्ष व्यवस्थित रूपमा गरिनुपर्दछ ।

८. धेरैजसो जिल्लामा निषेधाज्ञा जारी भएको अवस्थामा श्रमिक, अतिविपन्न र सीमान्तकृत समुदायलाई दैनिक रूपमा छाक टार्न मुस्किल पर्ने हुँदा उनीहरूलक्षित राहत प्रबन्ध गर्न अनुरोध गर्दछु । केन्द्रीय, प्रादेशिक तथा स्थानीय तहमा भए–गरेका सबै खर्च विवरणहरू पारदर्शी बनाउनुपर्दछ ।

९. निषेधाज्ञाका समयमा ज्येष्ठ नागरिक, बालबालिका तथा अपांगता भएका व्यक्तिहरूलाई ध्यानमा राखी आवश्यक प्रबन्ध मिलाउन अनुरोध गर्दछु । नवजात शिशु, गर्भवती, सुत्केरी तथा स्तनपान गराउने महिला, मिर्गाैला रोगी तथा क्यान्सरका रोगीहरूलाई अत्यावश्यक सेवा प्रदान गर्ने व्यवस्था मिलाउन अनुरोध गर्दछु ।

१०. कालोबजारी अनुगमन र नियन्त्रण गर्न राजनीतिक दल, निजीक्षेत्र, पत्रकार, नागरिक समाज, विभिन्न संघसंस्थाहरूको एकीकृत संरचना बनाएर प्रभावकारी रूपमा केन्द्रदेखि गाउँसम्म परिचालित हुन अपिल गर्दछु ।

११. सामाजिक रूपमा हुने विवाह, पूजा, भेला, बैठक वा सांस्कृतिक कार्य केही समयलाई स्थगन गर्न आह्वान गर्दछु । अस्पतालमा बिरामीको संख्या थपिन नदिन समुदायकै महत्वपूर्ण भूमिका छ । स्वास्थ्य सुरक्षाको मापदण्ड समुदायबाटै पूरा भयो भने अवश्य नै अस्पतालमा बिरामीको संख्या घट्ने छ ।

१२. कोरोनाका कारण मृत्युवरण गर्नुभएका सम्पूर्ण व्यक्तिहरूप्रति गहिरो दुःख व्यक्त गर्दै परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्न चाहन्छु । कोरोनाको कारणले बिरामी हुनु भएका सम्पूर्ण जनसमुदायको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै यहाँहरूको निम्ति स्वास्थ्य व्यवस्था गर्न तथा स्वास्थ्य उपचारमा विशेष ध्यान पुर्‍याउन सरकारलगायत सरोकारवाला निकायहरूको ध्यानाकर्षण गराउन चाहन्छु ।

१३. र अन्तमा, स्वास्थ्य सुरक्षाका सबैखाले मापदण्ड पालना गर्न सम्पूर्ण जनसमुदायमा अपिल गर्दछु ।