१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७८ बैशाख २६ आइतबार १०:५४:००
Read Time : > 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

रसुवागढी नाकामा काम गर्ने मजदुरलाई स्वास्थ्य सामग्री

Read Time : > 1 मिनेट
२०७८ बैशाख २६ आइतबार १०:५४:००

चीनसँगको व्यापारिक नाका रसुवागढीमा काम गर्ने मजदुरलाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ । नेपाल हिमालय सीमापार वाणिज्य संघले मजदुर तथा चालकलाई कोरोना संक्रमणबाट बच्नका लागि आवश्यक स्वास्थ्य सामग्री प्रदान गरेको हो । 

नेपाल–चीनको मितेरीपुलमा रहेको अस्थायी यार्डमा काम गर्ने क्वारेन्टिनमा बसेका ५२ जना मजदुर तथा चालकलाई कोरोनाबाट जोगिन संघले एक–एक सेट पिपिई र सर्जिकल मास्क उपलब्ध गराएको रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख रामप्रसाद रेग्मीले बताए । त्यसैगरी, भन्सार कार्यालय परिसरमा प्रवेश गर्ने मानिसहरूको निगरानीका लागि तापक्रम नाप्ने २ सेट थर्मलगन तथा केही लिटर स्यानिटाइजरसमेत उपलब्ध गराएको रेग्मीले जानकारी दिए । यसले कोरोना महामारी न्यूनीकरण गर्न आवश्यक स्वास्थ्य सतर्कताका लागि सहयोग पुग्ने उनको भनाइ छ । 

चिनियाँ अधिकारीहरूले रसुवागढी नाकामा कोभिड सुरक्षाको विषयमा चासो देखाइरहेको अवस्थामा नाकामा गरिएको स्वास्थ्य सुरक्षासम्बन्धी कार्यले व्यापार सहजीकरणमा थप बल मिल्ने अपेक्षा गरिएको छ ।

नाकामा उच्च सतर्कता बढाइएको छ । कोभिड–१९को जोखिमलाई मध्यनजर गर्दै नाकामा आवश्यक पर्ने व्यक्तिबाहेक अन्यलाई उच्च सतर्कता कायम गर्दै आवत–जावतलाई रोक लगाइएको छ । रसुवागढी नाकादेखि करिब डेढ किलोमिटरवर घट्टेखोलाबाट रसुवागढीसम्म अत्यावश्यकबाहेक प्रवेशमा निषेध गरिएको भन्सार प्रमुख रेग्मीले बताए । पिपिई नलगाएका, क्वारेन्टिनमा नबसेका, कोरोनाविरुद्धको खोप नलगाएका र पूर्ण रूपमा स्वास्थ्य मापदण्ड पूरा नगरेकालाई नाकामा जान रोक लगाएको उनले बताए । 

कोरोना संक्रमणबाट प्रभावित नहोस् भनी नाकामा काम गर्ने कर्मचारी, सुरक्षाकर्मी, मजदुर, व्यापारी, रसुवागढी जलविद्युत् आयोजनामा काम गर्ने मजदुरलगायतलाई कोरोनाविरुद्धको खोप लगाइएकोसमेत उनले बताए । रसुवा जिल्लामा आएको करिब २ हजार डोज चिनियाँ खोपमध्ये नाकासँग सम्बन्धित १ हजार ५ सयजनालाई खोप लगाइएको बताइएको छ ।

त्यसैगरी, रसुवा भन्सार कार्यालयमा समेत पूर्ण रूपमा स्वास्थ्यका मापदण्ड अपनाई गतिविधि सञ्चालन भइरहेको रेग्मीले बताए । सम्पूर्ण सुरक्षा अपनाएको र स्वास्थ्य प्रोटोकल अपनाएर काम गरिरहेको उनको भनाइ छ ।