१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख २६ आइतबार ०९:३७:००
Read Time : > 1 मिनेट
सम्पादकीय प्रिन्ट संस्करण

मानवीयताले अन्तिम सास नफेरोस्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख २६ आइतबार ०९:३७:००

भैरहवाबाट काठमाडौं आउने एम्बुलेन्सको भाडा कति होला ? एम्बुलेन्सलाई नाफारहित ढंगले सेवा दिने परोपकारी र मानवीय सेवाका रूपमा लिइन्छ । विभिन्न संघसंस्था र अस्पतालहरूले आपत्कालीन अवस्थामा रहेका बिरामी या कुनै दुर्घटना या प्राकृतिक प्रकोपमा परेका घाइतेलाई उद्धार गर्ने उद्देश्यले एम्बुलेन्सहरू राखेर सेवा दिने गर्छन् । यस्ता एम्बुलेन्सहरू सामान्य रूपमा बिरामीलाई ओसार्नेदेखि अक्सिजनलगायत मेडिकल टिमसहितको व्यवस्था भएका सुविधायुक्त पनि हुने गर्छन् । त्यसैले एम्बुलेन्सको मर्मत–सम्भार, आवतजावतमा लाग्ने इन्धन खर्च, सवारीचालक खर्च जोडेर नाफा नलिने गरी एम्बुलेन्सले बिरामीबाट भाडा लिन्छन् भन्ने मान्यता राखिन्छ । तर, भैरहवाबाट काठमाडौं बिरामी ल्याउँदा एम्बुलेन्सले ६० हजार भाडा लिएको भनेर केही दिनयता चर्चा र आलोचना भइरहेको छ । 

अक्सिजनको अभावमा तड्पिएका बिरामी, बन्दाबन्दीमा सन्नाटा चिर्दै साइरन बजाउँदै कुदिरहेका एम्बुलेन्सहरू, अस्पतालमा बेड पाउन हारगुहार गरिरहेका आफन्तहरूको चीत्कारको कोलाहल यत्रतत्र छरिएको छ । बस, समाजमा रहेको मानवीयताले यस्तो वेलामा अन्तिम सास नेफेरोस् !

यता हेलिकोप्टर सेवा दिने कम्पनीले आफैँले तोेकेको भाडादरका तुलनामा कोरोनाका बिरामी ओसार्दा डेढीसम्म बढाएर असुल्ने गरेका छन् । सरकारले होइन, सेवा प्रदायक कम्पनी आफैँले कार्टेलिङ गरेर राखेको मुनाफासहितको भाडादरबाट बढाएर लिने गरेको र त्यसले सामान्य परिवारका बाध्यतामा परेका बिरामीको ज्यान जोगाउन खोज्दा उठिवास लाग्ने निश्चित छ । कञ्चनपुरबाट कसैले हेलिकोप्टर चार्टड गरेर काठमाडौं आउनुपर्दा नौ लाख तिर्नुपरेको छ, जबकि कार्टेलले तोकेको भाडादर त्योभन्दा एक लाख २५ हजार कम छ । हेलिकोप्टरले र एम्बुलेन्सले लिएको भाडा हाम्रो देशमा वस्तु तथा सेवाको मूल्यमा भइरहेको मनपरीका सामान्य नमुना मात्र हुन् । मिटरमा जान नमान्ने ट्याक्सी, महँगो शुल्कमा उपचार सेवा बेचिरहेका निजी अस्पताल, रेस्क्यु अप्रेसनका नाममा पर्यटकलाई ठगिरहेका पर्यटन व्यवसायी, कमिसनका लागि आमनागरिकको ज्यान जोखिममा धकेल्ने व्यवसायी र तिनलाई संरक्षण गर्ने उच्च ओहोदाका राजनीतिज्ञ र प्रशासक । यिनको साँठगाँठसहितको राज्यको चरित्र । 

नेपालीहरूले भोग्नुपरेको वर्तमानको सबैभन्दा ठूलो त्रासदी यही हो । कोरोना महामारीका कारण यतिवेला जनजीवन सन्त्रस्त छ । कतिवेला को महामारीको सिकार हुने हो भन्ने भयले मानिसलाई लखेटिरहेको छ । अक्सिजनको अभावमा तड्पिएका बिरामीहरू, बन्दाबन्दीमा दिन–रातको सन्नाटा चिर्दै साइरन बजाउँदै कुदिरहेका एम्बुलेन्सहरू, अस्पतालमा बेड पाउन हारगुहार गरिरहेका आफन्तहरू अथवा रेम्डिसिभिर औषधिका दुई भाइल पाउन सहयोग मागिरहेका मानिसको कोलाहल यत्रतत्र छरिएको छ । तर, मानिसको चीत्कारमा मुनाफाको महल ठड्याउन अझै पनि केही समूह, व्यापारी, दलाल यतिसम्म सक्रिय छन् कि उनीहरूले मानवीयताका सामान्य नियमलाई पनि कुल्चिँदै गइरहेका छन् । 

यस्तो समयमा सामान्य मानवीय भावना भएका कसैले पनि बिरामीको विवशताको फाइदा उठाउनेबारे सोच्न पनि सक्दैन । तर, एम्बुलेन्सको भाडा ६० हजार ? यो बेथितिको नियन्त्रण गर्नुपर्ने संस्था भनेको सरकार नै हो । यस्तालाई दण्डित गर्नका लागि हामीसँग ऐन–कानुन नभएका होइनन् । तर, लाग्छ कानुनको कार्यान्वयन गर्ने जिम्मेवारी बोकेको सरकार नै उनीहरूलाई कारबाही गर्न चाहँदैन । नभए उनीहरू कारबाहीमा परेको सूचना जनतासँग किन पुग्न सकेन । विवश बिरामी र तिनका झन् विवश आफन्तहरूले यस्तो वेलामा अभिभावकका रूपमा सरकारलाई खोजिरहेका छन् । यस्तो वेलामा पनि सरकारले आफू भएको आभास दिन सकेन भने योभन्दा दुःखद र लज्जास्पद अर्को केही हुनेछैन । बस, समाजमा रहेको मानवीयताले यस्तो वेलामा अन्तिम सास नेफेरोस् !