१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
भरतपुरमा रहेका बेसहाराहरूलाई निःशुल्क खाना बाँड्दै सीता कुँवरको टिम । तस्बिर : नयाँ पत्रिका
२०७८ बैशाख २६ आइतबार ०८:५८:००
Read Time : > 2 मिनेट
समाचार प्रिन्ट संस्करण

ज्याला-मजदुरी गर्नेहरू निषेधाज्ञापछि फेरि मनकारीकै भरमा

Read Time : > 2 मिनेट
२०७८ बैशाख २६ आइतबार ०८:५८:००

तनहुँ स्थायी घर भएका कृष्णबहादुर पन्त र राधिका पन्त कामको खोजीमा केही समयअघि चितवनको गीतानगर आइपुगेका थिए । चितवन आएयता उनीहरूलाई दैनिक ज्याला मजदुरीको कमी थिएन । दुवैजनाले काम गर्दा जेनतेन बिहान–बेलुकाको छाक चलेकै थियो । 

तर, निषेधाज्ञा घोषणा भएपछि उनीहरू कामविहीन बनेका छन् । बिहान–बेलुका के खाने भन्ने चिन्ता थपिएको छ । ओड्ने र ओछ्याउनेसमेत सँगै बोकेर हिँडेका उनीहरू जहाँ रात पर्छ, त्यहीँ ओत खोजेर बस्छन् । ‘घर जाउँ गाडीभाडा छैन, त्यसमाथि सार्वजनिक यातायत पनि चलेको छैन,’ राधिकाले भनिन्, ‘काम गरेको ठाउँमा ठेकेदारले पनि पैसा नदिई भाग्यो, घर पुर्‍याइदिए उतै बस्न हुन्थ्यो । खान नपाएरै मर्ने हो कि भन्ने छ ।’

पन्त दम्पतीजस्तै चार वर्षअघि कामको खोजीमा संखुवासभाका शान्ति शेर्पा चितवन आइपुगेकी थिइन् । उनी थोत्रा सामानहरू (कवाडी) संकलन गरेर पेट पाल्दै आएकी थिइन् । कोभिड संक्रमण बढेसँगै जारी भएको निषेधाज्ञाका कारण उनको कवाडी संकलन गर्ने काम रोकिएको छ । स्थानीय प्रतीक्षालयहरूमा रात बिताउँदै आएका शेर्पा र उनका श्रीमान् काम रोकिएपछि भोकै बस्नुपर्ने अवस्था आएको बताउँछन् । ‘बजार बन्द हुँदा थोत्रा सामान पनि पाइँदैन,’ शान्तिले भनिन्, ‘कमाएको पैसाले टन्न भात खान पुगेको थियो । श्रीमान्–श्रीमतीले दैनिक २० केजीभन्दा माथि कवाडी संकलन गरेर बिक्री गर्दै आएका थियौँ ।’ तर, निषेधाज्ञा भएसँगै चिउरा खाएर दिन बिताउँदै आएको उनीहरू बताउँछन् ।

सीता कुँवरको टिमले अघिल्लोपटकको लकडाउनमा जस्तै सडकमा रहेका बेसहाराहरूलाई साँझको एक छाक खाना खुवाउन थालेको छ । यो टिमले अघिल्लोपटकको लकडाउनमा पनि ३९ दिनसम्म नारायणी नदी किनारामा भान्सा राखेर नि:शुल्क खाना खुवाएको थियो ।

पन्त र शेर्पा दम्पती त प्रतिनिधि पात्र मात्रै हुन् । निषेधाज्ञाका कारण चितवनको सडकमा बस्दै आएका एक सयभन्दा बढी बेसहाराको बिचल्ली भएको थियो । उनीहरूको यो पीडालाई सीता कुँवरको टिमले साँझको एक छाक खाना खुवाएर केही मात्रामा भए पनि पीडा कम गर्ने कोसिस गरेको छ । कुँवरको टिमले अघिल्लो वर्षको लकडाउनमा पनि ३९ दिनसम्म नारायणी नदी किनारामा भान्सा राखेर बेसहारा र भोकाहरूलाई निःशुल्क खाना खुवाएको थियो ।

मानवका लागि मानव सहयोगी केन्द्र (सभ्यताको घर) मार्फत उनीहरूले यसपटक पनि २० वैशाखदेखि भरतपुरको नारायणगढ क्षेत्रमा रहेका बेसहाराहरूलाई साँझको एक छाक खाना खुवाउन सुरु गरेका छन् । अघिल्लोपटकको लकडाउनमा यो टिमले ज्यालादारी मजदुर, बेसहारा र बेवारिसेहरूसँगै बसेर दसैँ पनि मनाएको थियो । 

यसपटक भने कुँवरको टिमले घरमै खाना बनाएर प्याकेटमा राखेर बाँडेको छ । सीता कुँवरले भनिन्, ‘भरतपुरको तरकारी बजारबाट बिहान तरकारी खरिद गर्छौं । दीपेश श्रेष्ठ, प्रकाश थापा, आकांक्षा पोख्रेल, रोजिना त्रिपाठी, माधवराज हमाल, शिवकुमार ठाकुर, अश्मा बस्नेत, दिल श्रेष्ठ र मसहित नौजनाको टिम छ । दिनभर खाना बनाउँछौँ । साँझ नारायणगढको पुल्चोक र कमलनगर क्षेत्रमा वितरण गर्छौं ।’ कोही भोको नबसून् भनेर सहयोगापेक्षी, बेसहाराहरूलाई खाना खुवाउने गरेको उनले बताइन् ।

उनका अनुसार अधिकांश गत वर्ष लकडाउनमा नारायणी नदी किनारमा खाना खाएकाहरू नै छन् । अहिले दैनिक एक सयजनासम्मलाई खाना खुवाए पनि दिनहुँ बढ्दै गएको उनले बताइन् । निःशुल्क खाना खान पाइन्छ भन्ने थाहा पाएपछि मानिसहरू बढ्दै गएका छन् । त्यहीअनुसार व्यवस्थापन भएको उनले बताइन् । 

उनका अनुसार गत वर्ष खाना खुवाउँदा लागेको पाँच लाख चार हजार ऋण अझै तिर्न सकेको छैन । उनले भनिन्, ‘ऋण तिर्न बाँकी छ भनेर बस्न मनले मानेन । मानवका लागि मानव सहयोगी केन्द्र (सभ्यताको घर) मार्फत अहिले यो अभियानमा छौँ । सकेसम्म खाना खुवाउँछौँ । पैसा नभए जाउलो मात्रै भए पनि वितरण गर्छौं ।’ संस्थाका सदस्य एवं खाना अभियानका सह–संयोजक माधवराज हमालले खाना खान आउनेले मास्क, पन्जा लगाउने र दुई मिटर दूरी अनिवार्य कायम गर्ने व्यवस्था मिलाएको बताए ।

यसअघि केन्द्रले सडकमा बेवारिसे अवस्थामा रहेका बिरामीलाई उठाएर उपचार गराउने, अलपत्र शव व्यवस्थापन गर्ने, परिवारबाट छुटिएकालाई पुनर्मिलन गराउनेलगायतका काम गर्दै आएको छ । केन्द्रको भरतपुर–१ ठिमुरामा आश्रम पनि छ । हमालका अनुसार आश्रममा २२ जना वृद्ध आमाहरू आश्रित छन् । आश्रममार्फत ५८ जनालाई परिवारसँग पुनर्मिलन पनि गराइएको छ ।