मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
तस्बिर : अमुल थापा/नयाँ पत्रिका
नवीन अर्याल काठमाडौं
२०७८ बैशाख २६ आइतबार ११:५०:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

उद्योग बन्द गरेर भए पनि बिरामीलाई अक्सिजन सिलिन्डर दिन्छौँ : निजी क्षेत्र

Read Time : > 2 मिनेट
नवीन अर्याल, काठमाडौं
२०७८ बैशाख २६ आइतबार ११:५०:००

कुल अक्सिजन खपतको २५ प्रतिशत उद्योगमा खपत हुन्छ, उद्योगी भन्छन्– उद्योगभन्दा ठूलो मान्छेको ज्यान हो । उद्योग भोलि चलाउँदा पनि हुन्छ, तर मान्छेलाई भोलि बचाउँला भनेर हुँदैन ।

उद्योगीहरूले उद्योगमा प्रयोग भइरहेका अक्सिजन सिलिन्डरहरू बिरामीका लागि फिर्ता गर्ने बताएका छन् । मुलुकमा खपत हुने कुल अक्सिजनमध्ये २५ प्रतिशत उद्योगहरूमा खपत हुन्छ । स्टिल, सिमेन्ट, कवाडी फलाम स्क्र्याप गर्ने उद्योग, हाइड्रोपावर, सिसा फ्याक्ट्री, मूर्ति बनाउन, गाडी ग्यारेजमा डेन्टिङपेन्टिङमा, हस्तकला उद्योग, वेल्डिङ, रिपेरिङलगायत उद्योगमा कुनै न कुनै परिमाणमा अक्सिजन खपत हुन्छ । उत्पादित अक्सिजनका झन्डै एकचौथाइ उद्योगमा खपत हुने नेपाल अक्सिजन उत्पादक संघका महासचिव नारायणदत्त तिमल्सिनाले बताए । 

यो महामारीका वेलामा उद्योग बन्द गरेर भए पनि कोभिडका बिरामीको उपचारका लागि सिलिन्डर दिने सौरभ समूहका अध्यक्ष विष्णु न्यौपानेले बताए । ‘हामी आवश्यक परेमा सबै अक्सिजन सिलिन्डर बिरामीको उपचारका लागि दिन तयार छौँ । यो वेला उद्योगभन्दा ठूलो मान्छेको ज्यान हो । उद्योग भोलि चलाउँदा पनि हुन्छ, तर मान्छेलाई भोलि बचाउँला भनेर हुँदैन,’ उनले भने । 

सबैभन्दा बढी अक्सिजन खपत गर्ने स्टिल उद्योग हुन् । स्टिल उद्योगमा ठूला–ठूला बिलेट काट्नुपर्ने भएकाले अक्सिजन बढी खपत हुने उनले जानकारी दिए । त्यस्तै, वेल्डिङ र कसकास गर्नुपर्ने काममा पनि अक्सिजन प्रयोग हुन्छ । जस्तापाता बनाउँदा पनि अक्सिजन खपत हुन्छ । 

‘स्टिल उद्योगमा ४० वटासम्म, सिमेन्टमा २०–२५ वटासम्म, स्पिनिङ मिलमा २ वटाजति, धागो र प्लास्टिक कारखाना, चियापत्ती उद्योगमा पनि २–४ वटाजति सिलिन्डर हुन्छन्,’ उनले भने, ‘सबैभन्दा बढी चाहिने रिपेयर, मेन्टेनेन्स, वेल्डिङ र फलाम कटिङमा हो ।’ 

मुलुकमा बिरामीका लागि अक्सिजन सिलिन्डरको अभाव हुन नदिन उद्योगीहरूले आफ्नो तर्फबाट पूर्ण सहयोग गर्ने उनले बताए । ‘सिलिन्डरको अभाव हो भने सबै उद्योगले सिलिन्डर दिनुपर्छ र दिन्छौँ,’ उनले भने, ‘अक्सिजन उत्पादन नै कम भइरहेको हो भने उद्योगले भरेको सिलिन्डर एकपटक दिएर खासै प्रभावकारी हुँदैन ।’ उद्योगले प्रयोग गर्ने र बिरामीका लागि प्रयोग हुने सिलिन्डर रिफिल गर्ने ठाउँ एउटै हो । ‘हामी त फ्याक्ट्री बन्द गरेरै भए पनि सिलिन्डर दिन तयार छौँ,’ उनले भने । 

अहिले कोरोनाका बिरामीले अक्सिजन नपाइरहेका वेला उद्योगमा प्रयोग भइरहेका सिलिन्डर बिरामीलाई उपलब्ध गराउनुपर्ने नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले बताए । ‘उद्योगमा कमभन्दा कम अक्सिजन प्रयोग गरेर बाँकी बिरामीको उपचारमा लगाउनुपर्छ,’ उनले भने । खासगरी स्टिल उद्योगले ठूलो मात्रामा अक्सिजन खपत गर्ने उनले बताए । ‘कतिपय उद्योगमा ५० वटासम्म पनि अक्सिजन सिलिन्डर रहेका छन्,’ उनले भने, ‘अहिले कोभिड महामारी फैलिएपछि अक्सिजनको हाहाकार भइरहेको छ । अक्सिजन नहुँदा उद्योग बन्द पनि गर्न नपरोस् र उद्योगले सिलिन्डर होल्ड गरेर राख्दा बिरामीले अक्सिजन नपाउने अवस्था पनि नहोस् भनेर हामीले पनि काम गरिरहेका छौँ ।’ अहिले पनि जिल्ला–जिल्लामा व्यवसायीहरूले सिलिन्डर फिर्ता गरिरहेको उनले बताए । ‘स्वयंसेवी संस्थाहरूले उद्योगका सिलिन्डर लगेर कोभिड आइसोलेसन बनाइरहेका छन् । हामीले आवश्यक नभएका सिलिन्डर बिरामीका लागि दिइरहेका छौँ,’ उनले भने । 

महामारीमा उद्योगीहरूलाई अक्सिजन सिलिन्डर होल्ड नगर्न पनि अनुरोध गरे । ‘यो महामारीमा नभइनहुने उद्योगलाई मात्र सिलिन्डर दिने हो, नत्र सिलिन्डर दिनुहुँदैन,’ उनले भने । तर, उद्योग नै बन्द हुने गरी अक्सिजन नै नदिने अवस्था पनि सिर्जना गर्न नहुने उनले बताए । ‘उद्योग चलेनन् भने आपूर्ति प्रणाली बिग्रिन सक्छ । निर्माण सामग्रीको अभाव हुुन सक्छ,’ उनले भने । सर्वसाधारणलाई पनि घर–घरमा सिलिन्डर सञ्चय नगर्न उनले आग्रह गरे । 

जलविद्युत् आयोजनासँग करिब २ हजार सिलिन्डर रहेको अनुमान, दैनिक १०–१५ सिलिन्डर अस्पताललाई दिइरहेका छौँ : इपान
देशभर निर्माणाधीन जलविद्युत् आयोजनामा करिब २ हजार अक्सिजन सिलिन्डर रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) ले अनुमान गरेको छ । काम भइरहेका आयोजनाले पनि अक्सिजन भरिएका सिलिन्डरबाट काम गर्ने र खालीलाई यो अवस्थामा अस्पताललाई दिएर सहयोग गर्न सक्ने हुनाले आयोजनाहरूले त्यहीअनुसार अनुरोध गरिएको इप्पानका उपाध्यक्ष मोहन डाँगीले बताए । विद्युत् विकास विभागले अक्सिजन सिलिन्डर उपलब्ध गराउन अनुरोध गरेपछि सबै निर्माणाधीन आयोजनाले बुझाउन थालेका हुन । 

अहिले दैनिकजस्तो १० देखि १५ वटासम्म सिलिन्डर प्रशासन वा अस्पताललाई उपलब्ध गराइरहेको उपाध्यक्ष डाँगीले जानकारी दिए । अहिले विकट ठाउँमा रहेका आयोजनाबाट जिल्ला प्रशासन तथा विभिन्न अस्पतालसम्म पुर्‍याउनका लागि भने निषेधाज्ञाका कारण कठिन भइरहेको उपाध्यक्ष डाँगीले जानकारी दिए । इपानले नेपाली जनतालाई यस विपद्को घडीमा अक्सिजनको समस्याबाट ज्यान गुमाउनुपर्ने अवस्थाबाट बचाउनका लागि सहयोग गर्न सबै आयोजनासँग अपिल गरेको थियो ।  

जलविद्युत् आयोजनामा हाइड्रोमेकानिकल काम गर्न अक्सिजनको खपत हुन्छ । त्यसबाहेक अन्य फलामको काम गर्नका लागि पनि अक्सिजन सिलिन्डरलाई प्रयोग गरिन्छ ।