१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख २५ शनिबार १९:५५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री ओलीको विपक्षमा मतदान गर्न सांसदलाई कांग्रेसको ह्विप

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख २५ शनिबार १९:५५:००

प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलले प्रधानमन्त्री केपी ओलीको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेको छ । शनिबार संघीय संसद् भवनको लोत्सेहलमा बसेको संसदीय दलको बैठकले आगामी सोमबार आह्वान गरिएको प्रतिनिधिसभाको विशेष अधिवेशनमा प्रस्तुत हुने प्रधानमन्त्री ओलीलाई विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गर्दै सांसदलाई ह्विप जारी गरेको हो । 

बैठकले मुलुकलाई असफलताबाट बचाउन प्रधानमन्त्री ओलीको विपक्षमा मतदान गर्न संसद्का सबै राजनीतिक दलहरूलाई आग्रह पनि गरेको प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए । उनले भने ‘संसदीय दलको बैठकले कांग्रेस केन्द्रीय कार्यसमितिको २०७७ चैत २१ गतेको बैठकले सर्वसम्मतले पारित प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गर्दै कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने प्रस्ताव अनुमोदन गर्दछ । प्रतिनिधिसभाको आसन्न अधिवेशनमा प्रस्तुत हुने प्रधानमन्त्री केपी ओलीमाथि विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्ने तथा कांग्रेसको नेतृत्वमा वैकल्पिक सरकार गठन गर्ने निर्णय गरेको छ । साथै प्रधानमन्त्री ओलीमाथि विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न संसद्का सबै राजनीतिक दलहरूलाई हामी आग्रह गर्दछु ।’

कांग्रेसको २१ चैतको केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री ओली प्रशासनिक, संवैधानिक र राजनीतिक रूपले असफल भएको भन्दै तत्काल आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने र त्यसका लागि अन्य राजनीति दलसँग छलफल गर्ने निर्णय गरेको थियो ।

बैठकले कोभिड–१९ संक्रमणको दोस्रो लहर भित्रन नदिन पर्याप्त समय भए पनि सरकारले त्यसतर्फ पहल नगरेको निष्कर्षका साथ वर्तमान अवस्था निम्तनुमा सरकार दोषी भएको ठहर गरेको छ । दोस्रो लहरबाट आमनागरिक प्रभावित भएको तथा संक्रमितहरूले औषधि उपचार, अक्सिजन, आइसियू नपाएर ज्यान गुमाइरहेकाले कोभिड व्यवस्थापन र आमनागरिकको जीवनरक्षा गर्र्ने कार्यमा सरकार असफल भइसकेको निष्कर्ष निकालेको छ । 

बैठकले भ्याक्सिन आयातमा भएको अनियमितताको अध्यन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ । खाणले भने ‘भ्याक्सिनको आयातमा अनियमितता गरिएको छ । यो जघन्य अपराध हो । भ्याक्सिन नल्याएका कारणले सयौँ–हजारौँ मान्छेको जीवन जान्छ । यो आपराधिक काम सरकारले गरेको छ । यसको अबिलम्ब खोजबिन गरी जिम्मेबार व्यक्तिलाई कारबाही गरियोस् । हामी अन्तर्राष्ट्रिय कम्युनिटी र कोभिड भ्याक्सिन कम्पनीहरूलाई भ्याक्सिन उपलब्ध गराउन अनुरोध गर्न चाहन्छौँ । यो महामारीमा नेपाली कांग्रेस अत्यन्तै गम्भीर र संवदेनशील छ ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिनिवासलाई एउटा पार्टीको कार्यालयजस्तो बनाएको भन्दै राष्ट्रपतिजस्तो गरिमामय पदलाई आलोच्य नबनाउन पनि आग्रह गरेको छ ।