मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख २५ शनिबार १७:१५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अस्थायी अस्पताल बनाएर सबैले उपचार पाउने अधिकार सुनिश्चित गर्न कांग्रेसको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख २५ शनिबार १७:१५:००

कांग्रेसले कोभिड–१९ संक्रमितको उपचारका लागि अस्थायी अस्पतालहरूको व्यवस्था गरी हरेक नागरिकको उपचार पाउने अधिकारको सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । बिरामीहरू अस्पतालमा बेड र अक्सिजन नपाएर उपचारबाट वञ्चित भएका समाचारहरू आइरहेको भन्दै कांग्रेसको कोभिड–१९ अनुगमन समितिले अस्पतालमा आवश्यक बेडको व्यवस्थापन र अक्सिजनको आपूर्तिसमेत तत्काल गर्न माग गरेको छ ।

‘काठमाडौं उपत्यकाका धेरै अस्पतालहरूमा अक्सिजनको गम्भीर अभाव हुन थालेको छ । यसले गर्दा अक्सिजनको आवश्यकता पर्ने कोभिड–१९का बिरामीहरूले अक्सिजन नपाउने अवस्था सिर्जना भएको छ,’ समितिका संयोजक एवं सहमहामन्त्री डा. प्रकाशसरण महतले विज्ञप्तिमार्फत भनेका छन्, ‘कोभिड संक्रमितको उपचारका लागि अस्थायी अस्पतालहरूको समुचित व्यवस्था गरी हरेक नागरिकको उपचार पाउने अधिकारको सुनश्चितता गर्न माग गर्दछ ।’

बिरामीले अस्पतालमा बेड र अक्सिजन नपाएकै कारण मृत्यु भएका समाचार आउन थालेको भन्दै डा. महतले सरकार कोभिड–१९ को उपचारमा देखिएका गम्भीर समस्याप्रति अझै संवेदनशील नभएको आरोप लगाएका छन् । ‘सरकार संक्रमितहरूको आवश्यकतानुसार न अस्पतालहरूको थप व्यवस्था गर्न सकिरहेको छ, न अक्सिजनको समुचित आपूर्ति,’ विज्ञप्तिमा भनिएको छ, ‘अक्सिजन अभावको गम्भीर समस्यालाई तत्काल सम्बोधन गर्न, कृत्रिम अभाव सिर्जना गर्नेहरूलाई तत्काल कारबाही गर्न र आवश्यकतानुसार विदेशबाट पनि अक्सिजन सिलिन्डरको आपूर्ति गर्न नेपाली कांग्रेस सरकारसँग माग गर्दछ ।’