१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख २५ शनिबार १३:०३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संवैधानिक परिषद् बैठकमा भाग नलिने कांग्रेसको निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख २५ शनिबार १३:०३:००

नेपाली कांग्रेसले संवैधानिक परिषद् बैठकमा भाग नलिने निर्णय गरेको छ । शनिबार पार्टी सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गरी बैठकमा भाग नलिने जानकारी दिएका हुन् ।

लोकतान्त्रिक पद्धतिमा संविधानबमोजिम संवैधानिक निकायहरूले सरकारको काम कारबाहीको अनुसन्धान गर्ने भएको हुँदा यी निकाय अनिवार्य स्वतन्त्र र निष्पक्ष हुनुपर्नेमा उनले जोड दिएका छन् ।

तर, वर्तमान सरकार संवैधानिक परिषद्को मर्यादा र गरिमालाई समाप्त गरी यसको कार्य क्षेत्रलाई संकुचित गरी
पटक–पटक संघीय संसद्लाई छले अध्यादेश जारी गरी संवैधानिक परिषद्सम्बन्धी ऐनलाई संशोधन गर्ने कार्य गरेको प्रति कांग्रेसले विरोध गर्दै आएको उनले बताए । 

अहिलेको अध्यादेश संविधानको विशिष्ठ व्यवस्था र मूल भावनाका विपरीत रहेको र  यसले संविधानको आधारलाई नै भत्काउने कार्य गरेको उनले दाबी गरे ।

कानुन निर्माण र संशोधन गर्ने संसद्को आधारभूत, मौलिक एवं अविच्छिन्न अधिकारलाई कुण्ठित गरी अध्यादेशका मार्फत संविधानको संरचना नै भत्किने गरी पटक–पटक अध्यादेश जारी गर्ने काम भएको भन्दै देउवाले सरकारले वदनियतपूर्वक षड्यन्त्रमूलक ढंगले अध्यादेश जारी गरेको  बताए ।

अध्यादेश संवैधानिक परिषद्को कार्यविधिलाई नै प्रभावित गरी संवैधानिक निकायमा पार्टीगत नियुक्ति गर्ने कलुषित मनसायबाट प्रेरित भएको भन्दै उनले नेपाली कांग्रेस संविधानको मूल मर्ममा प्रहार गरी संवैधानिक संरचनालाई नै भत्काउने गरी अध्यादेश जारी गरेको अवस्थामा संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भाग नलिने बताए ।