मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख २५ शनिबार ०७:५०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बालुवाटार जग्गा प्रकरण : बस्न्यातलाई पाँच लाख धरौटीमा छाड्न सर्वोच्चको आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख २५ शनिबार ०७:५०:००

सर्वोच्च अदालतले ललितानिवास जग्गा हिनामिनासम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका मुख्य आरोपितमध्येका एक दीप बस्न्यातलाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । अर्का अभियुक्त शोभाकान्त ढकालको विषयमा दुई न्यायाधीशको राय बाझिएको छ । 

शुक्रबार बसेको न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले बस्न्यातलाई थुनामा राख्ने गरी विशेष अदालतबाट भएको आदेश बदर गर्दै धरौटीमा रिहा गर्ने आदेश दिएको हो । बस्न्यात अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त हुन् । 

ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने कार्यमा बस्न्यातको भूमिका फाइल पेस गर्नेसम्मको मात्र भएको, उनकै हैसियतका पदाधिकारीलाई धरौटीमा रिहा गरेको र स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै उनलाई थुनामा रहेर पुर्पक्ष गरिरहनु नपर्ने सर्वोच्चको आदेश छ । ‘निवेदक दीप बस्न्यातलाई मुद्दामा पुर्पक्षका लागि थुनामा राख्नु मानवीय दृष्टिले अनुचित हुनुका साथै तत्काल प्राप्त प्रमाणका रोहमा बेमुनासिब र अनुपयुक्त देखिएको हुँदा निजलाई थुनामा राख्ने गरी भएको विशेष अदालतको मिति २०७७/०८/२८ को आदेश निज दीप बस्न्यातको हकमा बेरितको देखिँदा बदर गरिएको छ,’ आदेशमा उल्लेख छ ।

मुटुका बिरामीसमेत रहेका बस्न्यात र उनको परिवारका सदस्यमा कोरोना संक्रमण देखिएको पनि आदेशमा उल्लेख छ । ‘..निज प्रतिवादी दीप बस्न्यात उमेर ६९ भइसकेको ज्येष्ठ नागरिक देखिनुका साथै निजमा मुटुसम्बन्धी समस्या रहेको तथा निजमा र निजको परिवारका सदस्यहरूसमेतमा कोभिड–१९ संक्रमण भई उपचाररत रहेको भन्ने तथ्य पुष्टि हुने कागजातसमेत पेस हुन आएको देखियो,’ आदेशमा भनिएको छ । विशेष अदालतको आदेशविरुद्ध पुनरावेदन गरेका बस्न्यातले १७ वैशाखमा आफ्ना ज्वाइँमार्फत बन्दी प्रत्यक्षीकरणको रिट हालेका थिए ।