मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख २५ शनिबार ०७:३५:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

टी–२० महिला  विश्वकप छनोट नोभेम्बरमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख २५ शनिबार ०७:३५:००

आइसिसी महिला टी–२० विश्वकप क्रिकेटअन्तर्गत एसियन छनोट प्रतियोगिता नोभेम्बर महिनामा हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले शुक्रबार विज्ञप्तिमार्फत टी–२० महिला विश्वकप एसियन छनोट २२ देखि २८ नोभेम्बरमा मलेसियामा हुने जानकारी गराएको हो । 

यसअघि छनोट प्रतियोगिता २० देखि २६ सेप्टेम्बरसम्म हुने भनिएको थियो । तर, विश्वभरि नै कोरोना महामारीका रूपमा फैलिएको कारण देखाउँदै आइसिसीले छनोट खेल एक महिना पछि सारेको जनाउँदै नयाँ मिति सार्वजनिक गरेको हो । एसियन छनोट प्रतियोगितामा नेपाली राष्ट्रिय महिला टोलीले पनि सहभागिता जनाउनेछ । प्रतियोगितामा नेपाल, भुटान, चीन, हङकङ, कुवेत, म्यानमार, मलेसिया र युएई गरी आठ देशको सहभागिता हुनेछ । आइसिसी टी–२० विश्वकप–२०२३ को एसिया छनोटअन्तर्गत समूह बीमा नेपाल छ ।

सन् २०२३ मा दक्षिण अफ्रिकामा टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगिता हुनेछ । दक्षिण अफ्रिकामा हुने विश्वकपमा छनोट हुनकै लागि नेपालले एसिया छनोट खेल्ने तयारी गरेको हो । नेपाली महिला क्रिकेट टोलीको लक्ष्य पहिलो विश्वकप खेल्ने हुनेछ । नेपाली महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता खेलेको सन् २०१९ मा काठमाडौंमा भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) नै थियो । त्यसयता नेपाली महिला टोलीले कुनै पनि अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाएको छैन । 

यसबीचमा नेपालमा दुई घरेलु क्रिकेट प्रतियोगिता आयोजना भए । गत पुसमा दाङमा टी–२० राष्ट्रिय प्रतियोगिता र चैतमा काठमाडौंमा ललितपुर मेयर महिला टी–२० च्याम्पियनसिप प्रतियोगिता भएको थियो । गत साता नेपाल क्रिकेट संघ (क्यान)ले कोरोनाको दोस्रो लहर महामारीका रूपमा फैलिएको जनाउँदै तत्कालै क्रिकेटका सबै गतिविधि नहुने जानकारी गराएको थियो । 

कोरोनाको महामारीबीच नै नेपाली महिला टोलीको लक्ष्य नै दक्षिण अफ्रिकामा हुने विश्वकपमा सहभागी हुनु हो । तर, त्यहाँसम्म पुग्ने बाटो त्यति सहज भने छैन । एसिया छनोटको विजेता पाँच क्षेत्रबीच हुने ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्नेछन् । ग्लोबल छनोट प्रतियोगिताबाट शीर्ष दुई टोलीले दक्षिण अफ्रिकामा हुने टी–२० महिला विश्वकपका लागि स्थान बनाउने छन् ।

ग्लोबल क्वालिफायर २०२२ मा हुनेछ । महिला टी–२० विश्वकप सन् २०२३ को ९ देखि २३ फेब्रुअरीसम्म हुनेछ । जहाँ १० देशको उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । आइसिसीको महिला वरीयताको शीर्ष सात टोली र आयोजक दक्षिण अफ्रिका विश्वकपमा पुगिसकेका छन् ।