मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
दिपेश पछाई भैरहवा
तेजराज भट्ट धनगढी
२०७८ बैशाख २५ शनिबार ०६:०१:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सुदूरपश्चिम र लुम्बिनीमा अक्सिजनको चरम अभाव : अक्सिजन नपाएर अस्पतालहरूमा कोरोना संक्रमित छटपटिँदै

Read Time : > 2 मिनेट
दिपेश पछाई भैरहवा
तेजराज भट्ट धनगढी
२०७८ बैशाख २५ शनिबार ०६:०१:००

कोभिडको दोस्रो लहरको सबैभन्दा बढी संकट व्यहोरिरहेका लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा अक्सिजनको चरम अभाव हुन थालेको छ । अक्सिजन अभावले दुई प्रदेशका विभिन्न अस्पतालमा उपचाररत कोरोना संक्रमितको ज्यान जोखिममा परेको चिकित्सकले बताएका छन् । 

अस्पतालहरूमा अक्सिजन र शड्ढया नपाएर बिरामीहरू छटपटाउनुपर्ने अवस्था आएको छ । कोरोना संक्रमित र शंकास्पद बिरामीले यहाँका अस्पताल भरिभराउ छन् । कुनै पनि अस्पतालमा पर्याप्त अक्सिजन छैन । बिरामीका आफन्तहरू अक्सिजनको खोजीमा भौँतारिरहेका छन् । भर्ना भएका संक्रमित र शंकास्पद बिरामीलाई अक्सिजन उपलब्ध गराउन नसक्ने अवस्था आएको सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेयले बताए । अक्सिजनको आपूर्ति तत्काल हुन नसके स्थिति भयावह हुने उनको भनाइ छ ।

शुक्रबार धनगढीका कुनै पनि अस्पतालमा पर्याप्त अक्सिजन छैन । अधिकांश अस्पतालमा रहेका संक्रमित अक्सिजन अभावमा छटपटाइरहेका छन् । शरीरमा अक्सिजनको मात्रा कम भएपछि आफन्तलाई धनगढीको एक निजी अस्पतालमा भर्ना गरेका गोदावरी नगरपालिकाका कृष्णराज भट्टले धनगढीका कुनै पनि अस्पतालमा अक्सिजन पाउन नसकेको गुनासो गरे । अक्सिजनको कमीले बिरामीको अवस्था बिग्रँदै गएको उनले बताए । ‘शरीरमा अक्सिजनको मात्रा ८० मा झरेको छ । अस्पतालले अक्सिजन छैन, खोजेर ल्याऊ भन्छ,’ भट्टले भने, ‘दिनभर धेरै ठाउँ खोज्ने प्रयास गर्‍यौँ, कहीँ पनि पाइएन ।’

बिहीबार राति हावाहुरीले विद्युत् आपूर्ति बन्द भएपछि धनगढीमा रहेको मालिका अक्सिजन उद्योगमा राति उत्पादन बन्द हुँदा धनगढीमा अभाव झन् चर्किएको हो । बिहानबाट सुचारु भए पनि उद्योगले यहाँको माग धान्न सक्ने अवस्था छैन । सेती प्रादेशिक अस्पतालमा पनि शुक्रबार कतिपय बिरामीले अक्सिजन पाएनन् । अक्सिजनको पर्याप्त आपूर्ति भर्ना भएकै बिरामीलाई दिन नसकिएको मेसु पाण्डेयले बताए । आपूर्ति सहज नभएपछि अक्सिजन सपोर्ट दिइरहेका बिरामीलाई समेत बन्द गर्नुपर्ने अवस्था आएको अस्पतालले जनाएको छ । ‘भर्ना भएर नियमित दिँदै आएका बिरामीलाई समेत अक्सिजन दिन सकिएको छैन,’ पाण्डेयले भने, ‘नयाँ भर्ना हुने बिरामीलाई त तत्काल अक्सिजन उपलब्ध गराउन सकिने अवस्था नै छैन ।’

सेतीमा अहिले दैनिक डेढ सय सिलिन्डर अक्सिजन खपत भइरहेको अस्पतालले जनाएको छ । सेतीको प्लान्टमा दैनिक ५०–५५ सिलिन्डर उत्पादन हुन्छ । थप अक्सिजन यहाँको मालिका उद्योग र नेपालगन्जबाट आयात गर्ने गरिएको छ । दुई दिनदेखि नेपालगन्जबाट आपूर्ति रोकिए पनि अभाव बढेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए । ‘संघसंस्था र विभिन्न व्यक्तिले उपलब्ध गराएको सिलिन्डरका आधारमा अहिलेसम्म जसोजतो माग धानिरहेको हो,’ उनले भने, ‘माग बढिरहेको छ, आपूर्ति बढेको छैन । त्यही भएर समस्या छ ।’ 

सेतीमा अहिले ५० जना संक्रमित उपचाररत छन् । तीमध्ये तीनजना भेन्टिलेटर, १५ जना आइसियू र ३० जना अक्सिजन सपोर्टमा उपचाररत छन् । यस्तै, कोरोना शंकास्पद २० जना बिरामी आकस्मिक कक्षमा उपचाररत छन् । उनीहरूलाई पनि अक्सिजन आवश्यक रहेको अस्पतालले जनाएको छ । शंकास्पद बिरामीको चाप बढेपछि सेतीले बरन्डा र ग्यालरीमा समेत बिरामी राखेर उपचार गरिरहेको छ । कञ्चनपुरको महाकाली अस्पतालमा पनि पर्याप्त अक्सिजन छैन । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले आवश्यकताअनुसार अक्सिजनको उपलब्धता नरहेको बताए । बिरामीको संख्या भने बढ्दै गएको उनले बताए । 

माग धेरै, आपूर्ति न्यून
सुदूरपश्चिममा केही सातायता कोरोना संक्रमण तीव्र बनेको छ । गम्भीर अवस्थाका संक्रमितलाई उपचारका लागि अक्सिजन आवश्यक पर्छ । गम्भीर अवस्थाका संक्रमित बढ्दै जाँदा अक्सिजनको माग पनि बढेको हो, तर आपूर्ति भने बढ्न सकेको छैन । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा अहिले दैनिक करिब पाँच सय सिलिन्डर अक्सिजन आवश्यक छ । तर, यहाँ दैनिक डेढ सय सिलिन्डर अक्सिजन मात्र उत्पादन भइरहेको प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बताए । 

‘तीनवटा अस्पताल र एउटा उद्योगमा गरी डेढ सय सिलिन्डरको हाराहारीमा अक्सिजन उत्पादन हुन्छ । तर, अहिले न्यूनतम दैनिक पाँच सय सिलिन्डर आवश्यक छ,’ उनले भने, ‘विभिन्न संघसंस्थाले उपलब्ध गराउने सिलिन्डर र नेपालगन्जबाट पनि केही आयात हुने गरेकाले अहिलेसम्म माग धानेको छ ।’ संक्रमितको संख्या बढ्दै गएकाले आपूर्ति बढाउन नसके केही दिनमै अवस्था गम्भीर हुन सक्ने उनले बताए । अक्सिजनको आपूर्ति बढाउन पहल भइरहेको डा. अवस्थीले बताए । सेती, महाकाली र डडेल्धुरा अस्पतालमा अक्सिजन प्लान्ट भए पनि उत्पादित अक्सिजनले अस्पतालकै माग धान्न सकेको छैन । 

रुपन्देहीमा दैनिक ६ सय सिलिन्डर अपुग
भैरहवामा रहेका एक सरकारी र एक निजी अस्पतालले अक्सिजन चाहिने कोरोना संक्रमित बिरामीलाई भर्ना लिन नसक्ने जनाएका छन् । अक्सिजनको चरम अभाव भएपछि भैरहवामा रहेको भीम अस्पताल र युनिभर्सल मेडिकल कलेजले अक्सिजन सपोर्ट चाहिने बिरामीलाई नयाँ भर्ना नलिने जनाएका हुन् । भीम सरकारी र युनिभर्सल निजी अस्पताल हो । 

अस्पतालमै भर्ना भएका बिरामीलाई अक्सिजन पर्याप्त नभएको अवस्थामा थप बिरामी भर्ना गर्न नसकिने अवस्था आएको भीम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शकुन्तला गुप्ताले बताइन् । २५ बेड क्षमताको भीमलाई हाल कोभिड अस्पताल बनाएर ५६ जना बिरामी राखेर उपचार भइरहेको छ । उता, युनिभर्सल मेडिकल कलेजले सय बेड क्षमताको कोभिड अस्पताल सञ्चालन गरेको छ ।

थप ६० बेड सञ्चालन गर्न खोजेको युनिभर्सलले शुक्रबारदेखि अक्सिजन अभावमा नयाँ बेड थप गर्न नसकेको जनसम्पर्क अधिकृत सुशील गुरुङले बताए । रुपन्देहीमा मागअनुसार अक्सिजनको आपूर्ति हुन सकेको छैन । रुपन्देहीमा दैनिक एक हजार ६ सय सिलिन्डर अक्सिजन माग रहे पनि हाल हजार सिलिन्डर मात्र उत्पादन हुने गरेको जिल्ला जनस्वास्थ्य प्रमुख राजेन्द्र गिरीले जानकारी दिए ।