मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ बैशाख २४ शुक्रबार १७:५९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

लुम्बिनी प्रादेशिक अस्पताल : अस्पताल भन्छ- अक्सिजनको अभाव छ, मुख्यमन्त्री  भन्छन्- अक्सिजनको व्यवस्था भो 

Read Time : > 1 मिनेट
२०७८ बैशाख २४ शुक्रबार १७:५९:००

लुम्बिनी प्रदेशमा कोरोना संक्रमण दर उच्च भएसँगै अस्पतालहरूमा बेडको अभावसँगै अक्सिजनको अभाव पनि बढेको छ । प्रदेशको गौरवको आयोजनाको रूपमा अगाडि बढाइएको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमितले बेड पाउन सक्ने अवस्था नै छैन भने यहाँ अक्सिजनको अभाव पनि उत्तिकै बढेको छ । 

अस्पतालका सूचना अधिकारी डाक्टर विष्णु गौतम अक्सिजनको अभाव रहेको बताउँछन् । त्यस्तै, बेडको अभाव पनि उत्तिकै रहेको बताउँछन् । उनले शुक्रबार झन्डै ५० जना बिरामी अस्पतालमा आए पनि भर्ना गर्न नसकिएको बताए । 
बुटवलमा मात्रै हाेइन अक्सिजन र बेडको समस्या लुम्बिनीका अन्य अस्पतालमा पनि रहेको छ ।

 रुपन्देहीको भीम अस्पतालले अक्सिजन अभाव भएपछि बिरामी भर्ना गर्न नसक्ने बताएको छ । अस्पताल प्रशासनले कोभिड– १९ का बिरामीको अत्यधिक चाप भएकाले अक्सिजन नपुग्ने भन्दै बिरामी भर्ना गर्न सक्ने अवस्था नरहेको जनाएको हो । 

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शकुन्तला गुप्ताले अस्पतालमा हाल ७० जना बिरामी रहेको भन्दै अक्सिजनको समस्या हल नभएको बताइन् । भर्ना भएकै बिरामीहरूका लागि अक्सिजनको अभाव नहोस् भनेर आफूले सम्बन्धित निकायमा कुरा राखेको भन्दै साँझसम्ममा प्राप्त हुने आश्वासन पाएको बताइन् । अस्पतालमा अक्सिजन पर्याप्त मात्रामा उपलब्ध भएमा कोरोनाका बिरामीहरूका लागि बेडसंख्या थप्न सकिने पनि उनले बताइन् । ‘५० बेड  थप्न सकिने अवस्था अस्पतालमा छ, तर समस्या अक्सिजनकै छ,’ उनले भनिन् । 

अस्पतालहरूमा अक्सिजनको अभाव यथावत् रहेको अवस्थामा प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले भने अक्सिजनको व्यवस्था भएकोे जिकिर गरेका छन् । उनले अक्सिजनका कारणले क्षमता सीमित गर्न बाध्य अस्पतालहरूले क्षमता बढाएर बिरामीको उपचार गर्न भनेका छन् । उनले फेसबुकमा यस किसिमको स्टाटस राखेको तीन घन्टापछि पनि अस्पतालहरूमा सम्पर्क गर्दा समस्या यथावत् रहेको यहाँका अस्पतालहरूले जनाएका छन् । मुख्यमन्त्रीले झुटो सन्देश दिएको भन्दै उनको स्टाटसमा आलोचनासहितका प्रतिक्रियाहरू आएका छन् ।