मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख २४ शुक्रबार १६:५३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोरोना महामारीमा सरकारले लापरबाही गरेको भन्दै आयोगद्वारा ध्यानाकर्षण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख २४ शुक्रबार १६:५३:००

राष्ट्रिय मानव अधिकार आयोगले विश्वभर फैलिरहेको कोभिड– १९ को दोस्रो लहरले नेपालमा पनि संक्रमित हुने तथा मृत्यु हुनेहरूको संख्या वृद्धि हुँदै गइरहेका कारण नागरिकको जीवन नै जोखिममा पर्न गएको अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यस सम्बन्धमा आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरूबाट अनुगमन गरी नेपाल सरकारलाई ध्यानाकर्षणसहितको पत्राचार गरिएको आयोगले जनाएको छ । 

अनुगमनबाट प्राप्त तथ्य र सूचनाहरूको आधारमा अस्पतालहरू कोभिड संक्रमितहरूले भरिभराउ भएको, शय्या नपाएर  अस्पतालबाहिर समेत बिरामीहरू बस्नुपरेको, बढी संख्यामा संक्रमित भएका स्थानहरूमा अक्सिजनको अभाव रहेको, निजी अस्पतालहरूले बिरामीे भर्ना नलिएको, भर्ना लिएका अस्पतालहरूले संक्रमितहरूबाट चर्को शुल्क असुल गरिरहेको र संक्रमितहरूलाई आवश्यक पर्ने स्वास्थ्य उपकरण, रेम्डेसिभिरलगायतका औषधिहरूको चर्को मूल्यमा बिक्री–वितरण भइरहेको एवं सीमा क्षेत्रबाट अनियन्त्रित तथा अव्यवस्थित तरिकाबाट नेपाल प्रवेश र अन्य व्यवस्थापनको कमजोरीका कारणले संक्रमण स्थानीय स्तरसम्म पुग्ने अवस्था रहेको अनुगमनबाट पाइएको आयोगको भनाइ छ । 

नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट १७ वैशाखमा जारी विज्ञप्तिमा ‘संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शय्या उपलब्ध गराउन नसकिने’ भन्ने व्यहोराले नागरिकहरूको स्वास्थ्यप्रति सरकार उदासीन रहेको र यसबाट नागरिकहरूमा गम्भीर मनोवैज्ञानिक असर परेको आयोगले जनाएको छ । यस्तै कोभिड– १९ को खोप खरिद प्रक्रियामा ढिलाइ हुँदा पूर्वनिर्धारित खोप कार्यक्रमहरूसमेत प्रभावित भएको तथा अन्य जोखिमयुक्त समुदायहरू र नागरिकहरूलाई खोपको सुनिश्चितता हुन नसक्दा झनै भयावह स्थिति हुन सक्ने देखिएको आयोगको भनाइ छ ।  

आयोगले कोभिड– १९ का कारणले उत्पन्न सबै असरको सम्बोधन गर्न, व्यक्तिको जीवन, स्वास्थ्य र दैनिक जीवनमा अत्यावश्यक पर्ने सेवा, वस्तुको पहुँच, आपूर्ति व्यवस्थापन तथा नियमन गर्न, अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतको मनोबल उच्च राख्न, न्यून आर्जन भएका श्रमिक तथा ज्यालामजदुरी गरी जीवनयापन गर्ने वर्गहरूको लागि जीविकोपार्जनका आवश्यक कार्यक्रमको व्यवस्थापन गर्न गराउन आयोगले नेपाल सरकारलाई  निर्देशनसमेत गरेको छ ।

मानव अधिकार आयोगले एक विज्ञप्ति जारी गर्दै यस विषम परिस्थितिमा कोभिड– १९ का संक्रमितहरूको उपचारार्थ नेपाल सरकारका सम्पूर्ण संयन्त्र, प्रदेश तथा स्थानीय सरकारलाई परिचालन गर्नुका साथै राजनीतिक दलहरूलाई समेत कोभिड– १९ को नियन्त्रण तथा रोकथामका लागि राष्ट्रिय ऐक्यबद्धता कायम गर्ने गराउने सन्दर्भमा अर्थपूर्ण कदम अघि बढाउनसमेत नेपाल सरकारको विशेष ध्यानाकर्षण गराएको जनाएको छ ।