मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ बैशाख २४ शुक्रबार ०६:४४:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

अक्सिजन निर्यातमा भारतले लगाएको प्रतिबन्ध हट्यो, शनिबार दुई ट्यांकर अक्सिजन आउँदै

Read Time : > 2 मिनेट
२०७८ बैशाख २४ शुक्रबार ०६:४४:००

भारतले अक्सिजन निर्यातमा लगाएको प्रतिबन्ध बिहीबार फुकुवा गरेको छ । यससँगै दुई ट्यांकरमा ३० टन लिक्विड अक्सिजन शनिबारसम्म नेपाल आउँदै छ । यसले करिब एक लाख ८० हजार सिलिन्डिरमा अक्सिजन भर्न पुग्ने अनुमान छ ।

भारतले त्यहाँको सर्वोच्च अदालतको आदेशअनुसार चैत पहिलो साताबाट अक्सिजन निर्यातमा रोक लगाएको थियो । नेपालमा मौज्दात अक्सिजन र सिलिन्डरले नपुग्ने तथा भयावह स्थिति आउने भन्दै नेपाली अधिकारीले निर्णयमा पुनर्विचार गरिदिन भारतलाई आग्रह गर्दै आएका थिए । नेपालको निरन्तरको आग्रहपछि भारतले स्वास्थ्य प्रयोजनका लागि अक्सिजन आपूर्ति खुला गर्ने निर्णय गरेको हो । 

भारतीय गृह मन्त्रालयले बिहीबार सबै प्रदेश तथा डिस्ट्रिक मजिस्ट्रेट कार्यालयलाई परिपत्र गर्दै नेपालमा अक्सिजनको आपूर्ति सुरु गर्न निर्देशन दिएको छ । नेपालमा भारतको झारखण्ड जम्सेदपुरस्थित लिन्ड इन्डियाबाट मासिक एक सय ५० टन अक्सिजन आउने गरेको छ । शंकर अक्सिजन ग्यास प्रालिले आपूर्ति गर्दै आएको छ । 

‘भारत सरकारले नेपालमा अक्सिजन लैजानका लागि मार्गप्रशस्त गरेको छ । आफ्नै प्रतिकूलताका बाबजुत पनि नेपाललाई गरेको यो सहयोगप्रति नेपाल सरकार आभारी छ,’ दिल्लीस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख रामप्रसाद सुवेदीले नयाँ पत्रिकासँग भने, ‘अब हामीलाई चाहिने अक्सिजन झारखण्डबाट निर्वाध रूपमा लैजान मार्गप्रशस्त भएको छ । अब नेपालमा अक्सिजनको आपूर्ति निरन्तर हुन्छ ।’ 

भारतको सर्वोच्च अदालतको आदेशको हवाला दिँदै झारखण्डको जम्सेदपुर र उत्तरप्रदेशको महाराजगन्जका प्रमुख जिल्ला अधिकारीहरूले नेपालबाट अक्सिजन लिन गएका गाडी रोकेका थिए । दिल्लीस्थित नेपाली दूतावासका अधिकारीसँगको कुराकानीमा उनीहरूले केन्द्र सरकारको आदेश आए ग्यास आपूर्ति नरोक्ने जवाफ दिएका थिए । 

लिक्विड अक्सिजन लिन नेपालबाट गएका दुईवटा ट्यांकर एक सातादेखि जम्सेदपुरमै थिए । ती ट्यांकर ३० टन अक्सिजन भरेर शनिबारसम्म नेपाल आइपुग्ने शंकर ग्यासका सञ्चालक शंकर अग्रवालले बताए । यी दुई ट्यांकर आएलगत्तै खाली दुई ट्यांकर झारखण्ड पठाउने गरी तयारी अवस्थामा राखिएका छन् । एक साताभित्र कम्तीमा ६० टन अक्सिजन भारतबाट नेपाल आउने अग्रवालको भनाइ छ । 

दिल्लीस्थित नेपाली दूतावासले १० वैशाखमा भारतीय विदेश मन्त्रालयलाई चिठी लेख्दै अक्सिजन तथा अत्यावश्यक औषधि निर्यातमा लगाएको प्रतिबन्ध हटाउन आग्रह गरेको थियो । दूतावासले विदेश मन्त्रालय, गृह मन्त्रालय, उत्तरप्रदेश तथा झारखण्डका मुख्यमन्त्री कार्यालयमा पनि निरन्तर ताकेता गरेको थियो । बिहीबार बिहान मन्त्री अमित साहको निर्देशनमा गृह मन्त्रालयले नेपालमा अक्सिजन लैजान नरोक्न परिपत्र गरेको जानकारी नेपाली दूतावासले पाएको थियो । 

त्यसका लागि गृहमन्त्री साहका स्वकीय सचिवसमेत रहेका अन्तर्राष्ट्रिय बिपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दीप रानाले पनि सहजीकरण गरेका थिए । रानाले नयाँ पत्रिकासँग भने, ‘यो हामी नेपालीहरूको जीवनमरणको सवाल भएकाले सबैबाट भएको यथोचित प्रयासलाई भारत सरकारले सम्बोधन गरेको छ ।’ 

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी, नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा, भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यलगायतले पनि अक्सिजनको आपूर्तिमा प्रतिबन्ध हटाउन भारतीय अधिकारीलाई आग्रह गर्दै आएका थिए । 

भारतमा एक राज्यबाट अर्को राज्यमा लिक्विड अक्सिजनको आपूर्तिमा पनि समस्या हुने गरेको छ । एक साताअघि उत्तरप्रदेशबाट मध्यप्रदेश लैजान लागिएको अक्सिजनको ट्यांकर उत्तरप्रदेशका अधिकारीले खाली गराएका थिए । नेपाल आउँदै गरेका दुई अक्सिजन ट्यांकर पनि महाराजगन्ज उत्तरप्रदेशका अधिकारीले त्यहीँको स्थानीय अस्पतालका लागि खाली गराएका थिए । 

राष्ट्रपति र प्रधानमन्त्रीले पठाए समवेदना
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले भारतमा कोरोना महामारी बढ्दै गएको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै कोरोना परास्त गर्न सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् । विभिन्न देशले कोरोनाको चपेटामा परेको भारतप्रति सहयोग पठाइरहेका वेला आफैँ संकटमा रहेको नेपालले समवेदना तथा कोरोनाविरुद्ध भारत सरकारको लडाइँमा ऐक्यबद्धता जनाएको छ । 

राष्ट्रपति भण्डारीले भारतीय समकक्षी रामनाथ कोविन्दलाई १३ वैशाखमा र प्रधानमन्त्री ओलीले समकक्षी नरेन्द्र मोदीलाई १४ वैशाखमा चिठी लेखेका हुन् । कूटनीतिक स्रोतका अनुसार प्रधानमन्त्री ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) क्षेत्रमा महामारीविरुद्ध लड्न प्रधानमन्त्री मोदीले गत वर्ष लिएको पहलकदमीको चर्चा गर्दै पुनः मिलेर काम गर्नुपर्ने वेला आएको उल्लेख गरेका छन् ।

उनले कोरोना महामारीका कारण भारतमा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन् । राष्ट्रपति भण्डारीले पठाएको चिठीमा भारतको अवस्थाप्रति चिन्ता व्यक्त गरिएको छ भने साझा प्रयासबाट कोरोना महामारीलाई परास्त गर्नुपर्नेमा जोड दिइएको छ । 

चीनले सहयोग गरेका स्वास्थ्य सामग्री ल्हासामा चीनले नेपाललाई 
अनुदानमा उपलब्ध गराएको ५० लाख चिनियाँ मुद्राबराबरका स्वास्थ्य सामग्री र उपकरण तिब्बतको ल्हासा आइपुगेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएको छ । चिनियाँ स्टेट काउन्सिलरले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भिडियो वार्तामा केही दिनअघि सहयोगको घोषणा गरेका थिए । 

त्यस्तै, बंगलादेशबाट पाँच हजार रेम्डेसिभिर औषधि नेपाललाई निःशुल्क उपलब्ध हुने भएको छ । ढाकास्थित वेक्सिमको फार्मामार्फत आइएफआइसी र नेपाल–बंगलादेश बैंकले रेम्डेसिभिर निःशुल्क उपलब्ध गराउन लागेका हुन् । यो सहयोग ल्याउन परराष्ट्र मन्त्रालयमार्फत पहल भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।