मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ बैशाख २४ शुक्रबार ०४:०८:००
Read Time : > 7 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

फुट रोक्न एमालेमा ‘निर्णायक’ पहल 

Read Time : > 7 मिनेट
२०७८ बैशाख २४ शुक्रबार ०४:०८:००

नेपालसहितका नेतामाथिको कारबाही फिर्ताका लागि ओली समूहभित्रै दबाब, दोस्रो तहका नेता सक्रिय, ओली–नेपाल संवादको कोसिस 

घनश्याम भुसाल : पार्टी एकता जोगाउने विषयमा सबैसँग कुराकानी मिलिसकेको छ, बाँकी रहेको पनि मिल्छ । तर, ओलीजी के गर्नुहुन्छ भन्ने मुख्य विषय हो, किनभने विवाद अरूमा छैन । त्यसकारण छलफल सकारात्मक भए, उहाँ तयार हुनुभयो भने एकता जोगाउन सकिन्छ । बल उहाँकै कोर्टमा छ ।

सुवास नेम्वाङ : स्थायी कमिटी बैठकमा राष्ट्रिय सन्दर्भमा छलफल हुँदा कारबाही फिर्ता र पार्टी एकता बलियो बनाउनेबारे स्वाभाविक रूपमा छलफल भएको छ । तर, निष्कर्षमा पुगिएको छैन । विशेषतः उपनिर्वाचनकेन्द्रित छलफल भए पनि शुक्रबार बिहानसम्म एउटा निष्कर्षमा पुग्ने गरी प्रयास जारी छन् । 

......

सरकारले विश्वासको मत लिने प्रयोजनका लागि २७ वैशाखमा बोलाइएको संसद् अधिवेशनसँगै एमाले विभाजनको गम्भीर संकट देखिएपछि दुवै समूहका दोस्रो तहका नेताहरू एकता जोगाउन सक्रिय बनेका छन् । तर, प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच ‘निर्णायक’ संवाद गराउने उनीहरूको प्रयास बिहीबार रातिसम्म भने सफल भएको छैन । 

दुई दिनदेखि आपसी छलफलमा रहेका दोस्रो तहका नेताहरूले बिहीबार रातिसम्म नेतृत्वमाथि दबाब सिर्जना गर्ने कोसिस भने जारी राखेका छन् । बिहीबार बिहान बालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा वरिष्ठ नेता नेपाल, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र भीम रावलमाथि ६ महिनाका लागि गरिएको कारबाही फिर्ता लिने विषयले छलफलमा प्रवेश पाएको थियो । त्यसपछि दुवैतर्फका नेताले विवाद समाधानका उपायबारे दिउँसो दुई चरणमा छलफल गरेका छन् । 

मेरियट होटेलमा अर्थमन्त्री विष्णु पौडेल, स्थायी कमिटी सदस्य भुसाल र योगेश भट्टराईले एउटा चरणमा र अर्को चरणमा पौडेल र स्थायी कमिटी सदस्य पाण्डेबीच छलफल भएको छ । उनीहरूबीच संस्थापनले नेपालसहितका नेतामाथि गरेको कारबाही फिर्ता लिएर छलफलका लागि वातावरण बनाउने र शुक्रबार पार्टीको तर्फबाट राष्ट्रिय सभामा एउटै उम्मेदवार बनाउने विषयमा छलफल भएको थियो । सकारात्मक छलफल भए पनि अब पार्टी एकता जोगाउने वा नजोगाउने बल पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको कोर्टमा रहेको छलफलमा सहभागी नेता भुसालले बताए । 

‘पार्टी एकता जोगाउने विषयमा सबैसँग कुराकानी मिलिसकेको छ, बाँकी रहेको पनि मिल्छ । तर, ओलीजी के गर्नुहुन्छ भन्ने मुख्य विषय हो, किनभने विवाद अरूमा छैन, त्यसकारण छलफल सकारात्मक भए, उहाँ तयार हुनुभयो भने एकता जोगाउन सकिन्छ । बल उहाँकै कोर्टमा छ,’ भुसालले नयाँ पत्रिकासँग भने ।

भुसालका अनुसार छलफलमा कांग्रेस, माओवादी केन्द्र र जसपासहितको गठबन्धन बनाएर राष्ट्रिय सभामा एमालेकै डा. खिमलाल देवकोटालाई उठाउने निर्णयका विषयमा पौडेलले जिज्ञाशा राखेका थिए । जवाफमा भुसाल र भट्टराईले तत्कालीन बाध्यताको उपज भए पनि कारबाही फिर्ता गरेर नयाँ सन्देश दिँदै एकताको वातावरण बनाए एउटै उम्मेदवार दर्ता गराउन सकिने बताएका थिए । ‘राष्ट्रिय सभाको उम्मेदवारी के हो भन्नेबारे उहाँ (पौडेल)ले चासो राख्नुभएको थियो । हामीले बाध्यता भयो भन्यौँ, तर छलफल सकारात्मक नतिजामा गए हुन्थ्यो भन्नेमै छौँ,’ भुसालले भने ।

नेपालले प्रस्ताव गरेका व्यक्तिलाई कांग्रेस, माओवादी र जसपाले राष्ट्रिय सभाको उम्मेदवारका लागि स्वीकार गरेपछि एमालेको संस्थापन पक्ष ठूलो दबाबमा आएको छ । यसैकारण स्थायी कमिटीको बिहीबारको बैठकले उम्मेदवारसमेत चयन गर्न सकेन । जब कि यसअघि एमालेले सार्वजनिक रूपमै गृहमन्त्री रामबहादुर थापालाई उम्मेदवार बनाउने बताएको थियो । 

संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि बालुवाटारको स्थायी कमिटी बैठकमा नेपालसहितका नेताहरूमाथिको कारबाही फिर्ताबारे छलफल भएको तथा राष्ट्रिय सभाको उम्मेदवारीसहितको विषयमा शुक्रबार बिहानसम्म निष्कर्षमा पुग्ने गरी छलफल चलिरहेको बताए । 

‘राष्ट्रिय सन्दर्भमा छलफल हुँदा ती विषय (कारबाही फिर्ता) र पार्टी एकता बलियो बनाउनेबारे स्वाभाविक रूपमा छलफल भएको छ । तर, निष्कर्षमा पुगिएको छैन,’ नेम्वाङले भने, ‘विशेषतः उपनिर्वाचनकेन्द्रित छलफल भए पनि शुक्रबार बिहानसम्म एउटा निष्कर्षमा पुग्ने गरी छलफल र प्रयास जारी छन् ।’ 

उनले छलफल अगाडि बढ्दै जाँदा एमालेका कसैले पनि विश्वासका मतविरुद्ध फ्लोर क्रस गर्ने र राजीनामा नदिने विश्वास पनि व्यक्त गरे । ‘हाम्रा पार्टीका एकजना साथीले पनि फ्लोर क्रस गर्दैनन्, सामूहिक राजीनामा गर्दैनन् भन्ने विश्वास छ,’ उनले भने । बालुवाटार बैठकमा पौडेल, प्रदीप ज्ञवाली र शंकर पोखरेललगायत धेरै नेताले अहिलेकै अवस्थामा राष्ट्रिय सभा निर्वाचनमा जित्ने सम्भावना कम रहेको धारणा राखेका थिए । 

त्यही निष्कर्षका आधारमा ओली समूहका नेताहरूले नेपाल समूहका नेताहरूसँग अनौपचारिक तहमा एउटै उम्मेदवारी दर्ता गराएर एकताको बाटो खोज्ने विषयमा केन्द्रित रहेर छलफल गरेका हुन् । बैठकपछि प्रवक्ता ज्ञवालीले पनि पार्टीको जित सुनिश्चित हुने गरी उम्मेदवारी दिने विषयमा स्थायी कमिटीमा छलफल भएको तथा आन्तरिक तयारी र वस्तुस्थिति विश्लेषणपछि मात्रै उम्मेदवारी टुंग्याइने बताएका थिए । नेपाल समूहसँग सहमति नभए गृहमन्त्री थापाको सट्टा अर्कै उम्मेदवार उठाउने ओली समूहको विकल्प छ । 

उता, पार्टीलाई फुटबाट जोगाउन प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालमाथि दुवै समूहका नेता तथा सांसदले दबाब बढाएका छन् । वरिष्ठ नेता झलनाथ खनाल र नेपाल समूहको गुटगत सर्त नमान्ने ओलीको अडान र पार्टीलाई २ जेठ ०७५ कै सांगठनिक अवस्थामा पु¥याउनुपर्ने इतर पक्षको प्रस्तावबीच निर्णायक संवाद र सम्भावित सहमतिको गृहकार्यविनै फुटको जोखिम नजिकिएपछि दुवैतर्फका नेताहरूले सक्रियता बढाएका हुन् । 

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपालसँग सोमबार टेलिफोन गरेर निर्णायक वार्ताका लागि प्रस्ताव गरेका थिए । टेलिफोन वार्तामा ओलीले भेटवार्ताका लागि प्रस्ताव गरेका थिए । तर, नेपालले पार्टीलाई २ जेठ ०७५ को अवस्थामा फर्काए मात्रै निसर्त विश्वासको मत दिन सकिने भएकाले त्यसबारे स्पष्ट भएपछि आफू छलफलमा बस्ने जवाफ दिएका थिए । तर, ओलीले ठोस जवाफ नदिएपछि संवाद अन्त्य भएको स्रोतको भनाइ छ । यसअघि ओली र नेपालबीच ८ र ९ वैशाखमा एक्लाएक्लै वार्ता भए पनि दुवै पक्षका अडानका कारण सहमति हुन सकेको थिएन ।

बुधबार उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल समूहका नेता भट्टराईसँग सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सहमतिको विकल्पमा केन्द्रित रहेर छलफल गरेका थिए । भट्टराईसँगको भेटमा उपप्रधानमन्त्री पोखरेलले सहमतिको विकल्प दिन आग्रह गर्दै बिहीबार पनि छलफलका लागि प्रस्ताव गरेका थिए । ‘के गर्ने हो ? परिस्थिति बिग्रिँदै छ, पार्टी मिलाउनका लागि तपाईंहरूका विकल्प के–के छन् ? सुझाब दिनुस्,’ पोखरेलले सुझाब मागेपछि भट्टराईले अन्तिम पहल गरेर नेता बन्ने अवसर नगुमाउन ध्यानाकर्षण गराएका थिए । 

‘अध्यक्षको हैसियतमा ओलीले चाहनुभयो भने एक मिनेटमै पार्टी मिल्छ । २८ फागुनको निर्णयअघि फर्किनुपर्छ । केपी ओली, माधव नेपालजस्ता नेता अब त पाहुनाजस्तै हुनुहुन्छ । तपाईंको बाहिरी छवि पार्टी एकताविरोधी भन्ने छ । अहिले पनि एमाले मिल्न नदिएर भित्रभित्रै तपाईंले भाँड्न खोजेको सन्देश छ, त्यसकारण पार्टी मिलाएर नेता हुनुस्, तपाईंका लागि अवसर छ,’ भट्टराईको जवाफ उद्धृत गर्दै नेपाल समूहका स्थायी कमिटीका एक सदस्यले भने ।

छलफलकै बीचमा कांग्रेस सभापति शेरबहादुर देउवानिवासमा तत्काल वार्ताका लागि आउन प्रधानमन्त्रीको टेलिफोन आएपछि पोखरेल छलफल स्थगित गरेर बुढानीलकण्ठ हान्निएका थिए । संस्थापन पक्षबाट उपप्रधानमन्त्री पोखरेलसँगै संसदीय दलका उपनेता नेम्वाङ पनि दुई नेताबीच निर्णायक संवाद गराउनुपर्ने पक्षमा छन् । ओलीनिकट प्रदीप ज्ञवाली र विशाल भट्टराईलगायत नेताले पनि नेपालसँग निर्णायक वार्ता गर्न ओलीलाई सुझाब दिएका छन् ।

उता, नेपाल समूहका नेता पाण्डेले यसबीचमै प्रधानमन्त्री ओलीसँग निरन्तर संवाद गरिरहेका छन् । केही दिनयता नेपाल समूहभित्र उनले ओलीले अडान नछाडेको अवस्थामा विश्वासको मत दिएर पार्टीभित्रै अन्तर्संघर्ष गर्नुपर्ने मतको नेतृत्व गरेका छन् । 

फ्लोर क्रस नगर्ने, तर अनुपस्थित, संसद्बाट सामूहिक राजीनामा वा निसर्त मतदान गरेर भए पनि तत्काललाई फुटबाट जोगाएर पार्टीभित्र अन्तर्संघर्ष गर्नुपर्ने तीनखाले मतमा नेपाल समूहका नेताहरूले छलफल गर्दै आएका छन् । ओली संसद् विघटन गरेर २९ कात्तिकमा निर्वाचन गर्ने तयारीसहित अगाडि बढेकाले बरु विश्वासको मत दिएर त्यसलाई क्रस गर्न सकिने र ओली नसच्चिँदा पुनः अविश्वासको प्रस्ताव ल्याउने विकल्प खुलै रहने मत नेपाल समूहभित्र छ । 

नेपाल समूहकै सांसदले पनि सम्भावित विकल्पमा छलफल गरेका छन् । अनुपस्थित या फ्लोर क्रस नगर्ने, तर सामूहिक राजीनामा या निसर्त मतदानको विकल्पमा भने छलफल जारी रहेको नेपाल समूहका नेताहरूले बताए । ‘सामूहिक राजीनामा दिने कि निसर्त मतदान गर्ने दुवै विकल्पमाथि छलफल चलिरहेको छ,’ नेपाल समूहका सांसद सोमप्रसाद पाण्डेले भने, ‘तर, ती कुनै विकल्पमा नजाओस् भनेर हामी प्रधानमन्त्री र वरिष्ठ नेता नेपाललाई निर्णायक संवाद गराउने अन्तिम गृहकार्यमै जुटिरहेका छौँ ।’ 

उनले ओली समूहले नेपाल समूहका ३२ सांसदलाई कारबाही गर्ने निर्णय गरिसकेको सूचना प्राप्त भएका कारण पनि अन्तिम विकल्पका रूपमा सामूहिक राजीनामा दिएर अगाडि बढ्ने विकल्प उपयुक्त हुने विषयमा छलफल चलेको बताए । ‘निर्णय भइसकेको, तर के हुन्छ भनेर २७ गतेसम्मका लागि मात्र रोकिएको छ, अहिलेसम्म प्रधानमन्त्रीले कुनै पनि सर्त मान्दिनँ भनेर अडान राखेकाले संवाद नबढेको हो,’ पाण्डेले भने, ‘म दुवैतिर सम्पर्कमै छु, पार्टी र सरकार प्रमुख भएको नाताले अलिकति प्रधानमन्त्री नै लचिलो भइदिन आग्रहसहित निर्णायक कोसिस गरिरहेको छु ।’

पाण्डेले बुधबार बिहान निवासमै पुगेर वरिष्ठ नेता नेपालसँग बेग्लै कुराकानी गरेका थिए । प्रत्यक्ष निर्वाचित नेपाल समूहका २२ जना सांसद सामूहिक राजीनामाको विकल्पमा पनि तयार भएका छन् । तर, पाण्डेले अरू नभए पनि प्रधानमन्त्री ओली कमसेकम तल्ला कमिटीका निर्वाचित नेतृत्वलाई पुनस्र्थापितका लागि तयार भएर एमालेलाई पूर्ववत् अवस्थामा फर्काउन तयार हुनेबित्तिकै फुटको स्थितिबाट पार्टीलाई जोगाउन सकिने बताए । 

संस्थापन समूहका केन्द्रीय सदस्य तथा बागमती प्रदेशका अध्यक्ष आनन्दप्रसाद पोखरेलले पनि दुवै नेताबीच निर्णायक संवादको कोसिस भइरहेको र दुई दिनभित्रै अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले निर्णायक पहल गर्ने बताए । ‘दुवैतिरबाट संवादको प्रयास भइरहेको छ । हिजो जे–जे भए–भए त्यो कुनै दिन समीक्षाको विषय बन्ला, तर आज एकताबद्ध एमाले बनाउनुपर्छ भन्ने आमनेता–कार्यकर्तापंक्ति छ,’ पोखरेलले भने, ‘त्यसैले मेरो सूचनाअनुसार अध्यक्षले शुक्रबारसम्म निर्णायक पहल गर्नुहुन्छ, हामी पनि आफ्नो ठाउँबाट गरिरहेका छौँ । उता (नेपाल समूह)का धेरै साथी पनि संवादमै रहेर पार्टी फुटको विपक्षमा छौँ भनिरहनुभएको छ । आशा गरौँ, परिणाम सकारात्मक नै देखिएला ।’

नेपाल समूहका केन्द्रीय सदस्य ठाकुर गैरेले आमकार्यकर्तापंक्तिले दुवै नेताबीच संवाद भएर पुराना गल्ती सच्याएर पार्टीलाई एकताबद्ध बनाउनुपर्ने आवाज उठाइरहेकाले बन्द गरिएको गेट खुला गरेर निर्णायक छलफल गर्नुपर्ने बताए । ‘गेट बन्द गरेर छलफल हुन सक्दैन, त्यसैले अध्यक्षले निर्णायक पहल लिएर पार्टीलाई एकताबद्ध बनाउन भूमिका खेल्नुपर्छ,’ गैरेले भने ।

बिहीबार नेपाल समूहका गणेश पहाडी, झपट रावल, यज्ञराज सुनुवार, सोमप्रसाद पाण्डेसहित करिब एक दर्जन सांसदले पनि एमालेको आन्तरिक संकट र समाधानमै केन्द्रित रहेर सामूहिक धारणा बनाउने कोसिस गरेका छन् । सांसद पहाडीले एकता जोगाउन अन्तिमसम्म भूमिका खेल्ने विषयमा कुराकानी भए पनि प्रधानमन्त्री ओली एक कदम लचक बन्नेबित्तिकै परिस्थिति सकारात्मक दिशामा अगाडि बढ्ने निष्कर्ष निकालिएको बताए ।

एमाले विवादमा राष्ट्रपतिको चासो, ओली र नेपालसँग छुट्टाछुट्टै भेटवार्ता 

एमालेभित्रको संकट उत्कर्षमा पुगिरहेका वेला राष्ट्रपति विद्यादेवी भण्डारीले चासो राखेकी छिन् । बिहीबार उनले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालसँग अलग–अलग भेटवार्ता गरेकी छिन् । प्रधानमन्त्री ओलीले अपराह्न र बेलुकीसहित दुईपटक तथा नेपालले साँझ राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् । 

वरिष्ठ नेता नेपाल र झलनाथ खनाल समूहले ६ जेठमा तोकिएको राष्ट्रिय सभाको निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र र जसपासँगको गठबन्धनमा उम्मेदवारी दिने निर्णय लिएपछि एमालेभित्रको विवाद झन् जटिल बनेको छ । एमाले फुटको सम्मुखमा पुगेको पृष्ठभूमिमा राष्ट्रपति भण्डारीले ओली र नेपालसँग बेग्लाबेग्लै छलफल गरेकी हुन् । २७ वैशाखमा प्रधानमन्त्री ओलीले संसद्मा विश्वासको मत लिने निर्णय गरे पनि एमालेको खनाल–नेपाल समूहले पक्षमा मतदान गर्नेबारे केही निर्णय लिएको छैन । 

बिहान बालुवाटारमा बसेको स्थायी कमिटी बैठकलगत्तै ओली राष्ट्रपति भेट्न शीतलनिवास पुगेका थिए । पछिल्लो राजनीतिक परिस्थितिबारे ओलीले जानकारी गराएपछि राष्ट्रपति भण्डारीले वरिष्ठ नेता नेपाललाई बोलाएर साँझ भेटवार्ता गरेकी थिइन् । ‘राष्ट्रपतिले बोलाएका कारण उहाँ भेटवार्ताका लागि जानुभएको हो,’ नेपालका स्वकीय सचिव मोहन गौतमले भने, ‘तर, के–के छलफल भयो अरू कुरा जानकारी छैन ।’ करिब डेढ घन्टा भेटवार्ता गरेर नेपाल बाहिरिएलगत्तै प्रधानमन्त्री ओली पुनः दोस्रोपटक शीतलनिवास पुगेका थिए । प्रधानमन्त्रीनिकट स्रोतले भेटको पुष्टि गरे पनि छलफलको विषयवस्तुबारे केही बताउन चाहेन ।

......

देउवा–नेपाल भेटवार्ता : प्रतिनिधिसभाभित्र विपक्षी गठबन्धनलाई सिद्ध गर्ने प्रयास

विश्वासको मतमा ओलीलाई असफल बनाउने, वैकल्पिक सरकार गठन गर्ने र राष्ट्रिय सभामा जित सुनिश्चित गर्ने विषयमा छलफल

काठमाडौं÷ राष्ट्रिय सभाको उपनिर्वाचनका लागि सहकार्य गरेका कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार भेटवार्ता भएको छ । दलबलसहित प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले भेटेको अर्को दिन एमालेकै वरिष्ठ नेता नेपाल देउवालाई भेट्न बिहीबार साँझ उनकै निवास बुढानीलकण्ठ पुगेका थिए । 

देउवा र नेपालबीच भएको करिब एक घन्टा लामो छलफलमा प्रधानमन्त्री ओलीलाई संसद्को विश्वासको मतमा असफल बनाउने तथा राष्ट्रिय सभाको उपनिर्वाचनको तयारीबारे छलफल भएको देउवानिकट एक नेताले बताए । ‘राष्ट्रिय सभा उपनिर्वाचनमा उहाँ (नेपाल)सहित माओवादी केन्द्र र जसपाको बाबुराम भट्टराई–उपेन्द्र यादव समूहसँग हाम्रो विपक्षी गठबन्धन बनेको छ । प्रतिनिधिसभाभित्र पनि त्यही गठबन्धनलाई सिद्ध गर्ने प्रयासका रूपमा भेटवार्ता भएको हो,’ ती नेताले भने, ‘विश्वासको मतमा ओलीलाई असफल बनाउने, वैकल्पिक सरकार गठन गर्ने र राष्ट्रिय सभामा जित सुनिश्चित गर्ने विषयमा छलफल भएको जानकारी पाएका छौँ ।’

यसअघि प्रधानमन्त्री ओलीले बुधबार मात्रै देउवासहित कांग्रेस नेतासँग उनकै निवासमा पुगेर भेटवार्ता गरेका थिए । प्रधानमन्त्री ओलीले सहकार्य गर्ने र चाँडो चुनाव गर्ने गरी गरेको प्रस्ताव देउवाले अस्वीकार गरेका थिए । कांग्रेस, माओवादी केन्द्र र जसपासँगै एमालेको खनाल–नेपाल समूहको विपक्षी गठबन्धन बनेको छ । 

विपक्षी गठबन्धनमा रहेका नेताहरूबीच पनि निरन्तर भेटवार्ता भइरहेका छन् । मंगलबार र बुधबार नेता नेपालले देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपाका अध्यक्ष यादवसँग चरणबद्ध भेट गरेका थिए । देउवानिकट नेता बालकृष्ण खाणका अनुसार प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमै नेताहरूबीच निरन्तर रणनीतिक छलफल भइरहेको छ । प्रधानमन्त्री ओलीलाई विश्वासको मतमा असफल र वैकल्पिक सरकार गठन सहज बनाउन एमालेको खनाल–नेपाल समूहले प्रतिनिधिसभामा सामूहिक राजीनामासम्मको विकल्पमा छलफल गरेको छ । नेपाल समूहका सांसदले राजीनामा दिएको अवस्थामा प्रधानमन्त्रीले विश्वासको मत लिनुअगावै उनीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने विषयमा समेत छलफल भइरहेको एक नेताले बताए ।

त्यसैबीच, कांग्रेसले शनिबारका लागि संसदीय दलको बैठक बोलाएको छ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार (२७ वैशाख)मा संसद्को विशेष अधिवेशन बोलाइएको पूर्वसन्ध्यामा कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको हो । कांग्रेस पदाधिकारी बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ । बुधबारको भेटमा प्रधानमन्त्री ओलीले विश्वासको मत दिन देउवासँग आग्रह गरेका थिए ।