मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ बैशाख २३ बिहीबार १५:४२:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

स्वास्थ्यचौकीको जति पनि सेवा दिन सक्ने छैनन् ओखलढुंगाका कोभिड अस्पताल

Read Time : > 2 मिनेट
२०७८ बैशाख २३ बिहीबार १५:४२:००

ओखलढुंगाका स्थानीय तहमा सञ्चालित कोभिड अस्पताल गाउँका सामान्य स्वास्थ्यचौकीको जति पनि सेवा दिन सक्ने अवस्थामा छैनन् । स्रोत, साधन र जनशक्ति अभावका कारण सरकारले तामझामका साथ सुरु गरेका कोभिड अस्पताल नाम मात्रैका बनेका हुन् । 

जिल्लाका आठ स्थानीय तहमध्ये सिद्धिचरण नगरपालिकाबाहेक अन्य सबै गाउँपालिकामा कोभिड अस्पताल स्थापना गरिएको छ । तर, ती अस्पताल कोरोना संक्रमित राखेर उपचार गर्न सक्षम छैनन् । 

केहीमा डाक्टरको अभाव छ भने केहीमा स्रोत र साधनको अभाव छ । सामान्य उपचार मात्रै गराउन सम्भव ती अस्पतालमा अक्सिजन दिनुपर्ने खालका जटिल बिरामी भएमा र कोरोनाका बिरामी आएमा अक्सिजन दिने व्यवस्था छैन । 

केन्द्र सरकारले लोकप्रिय कार्यक्रम लागू गरे पनि जिल्लाका स्थानीय तहले आवश्यक व्यवस्थापन गर्न नसकेका हुन् । 

जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकाको कोभिड अस्पतालमा अहिले एकजना नर्सको मात्रै दरबन्दी छ । यहाँ सामान्य उपचार मात्र सम्भव रहेको कोभिड अस्पतालमा जटिल बिरामीका लागि उपचारको प्रबन्ध गर्न सक्ने अवस्था नरहेको गाउँपालिका अध्यक्ष मोतीराज राईले बताए । सबै कुराको प्रबन्ध मिलाउन अहिले समस्या रहेको गाउँपालिका अध्यक्ष राईको भनाइ छ । ‘पालिकाले बजेट पनि सबै कार्यक्रमका लागि भन्दै बाँडफाँड गरिसकेको छ । उही त हो, हाललाई बजेटकै अभाव रहन्छ । यस्तो अवस्थामा कोरोना संक्रमण फैलिएमा कसरी रोकथाम गर्ने समस्याकै विषय रह्यो । पालिकाको कोभिड अस्पतालले उपचार गर्ने अवस्था छैन,’ राईले भने । संघ र प्रदेश सरकारले बजेटको व्यवस्था गरेमा सहज हुने उनको भनाइ छ ।
जिल्लाको मोलुङ गाउँपालिकामा पनि यस्तै समस्या रहेको छ । मोलुङ गाउँपालिकाले वडा नम्बर २ रामपुरमा रहेको रामपुर स्वास्थ्यचौकीबाटै कोरोनाको बिरामीको सामान्य उपचार गर्ने पालिकाको तयारी छ । 

कोभिड अस्पतालमा भन्दा रामपुर स्वास्थ्यचौकीमा स्रोत, साधन र जनशक्ति पर्याप्त रहेकाले अहिले कोरोनाका सामान्य बिरामीको मात्र उपचार स्वास्थ्यचौकीबाटै गर्ने पालिकाले जनाएको छ । यदि संक्रमण फेरि फैलिएर अवस्था जटिल भएमा थप व्यवस्था गरिने गाउँपालिका अध्यक्ष मणिराज राईको भनाइ छ । समुदायमा कोरोनाबाट बच्नेबारे सचेतनाका कार्यक्रम भने भइरहेको उनले बताए । ‘पालिकाको सबैजसो विद्यालयमा विद्यार्थी र समुदायका नागरिकलाई दोस्रो लहरको कोरोनाबाट बच्चेबारे सचेत गराइरहेका छौँ,’ राईले भने ।

चम्पादेवी गाउँपालिकामा ५ शय्याको कोभिड अस्पतालमा एकजना एमबिबिएस डाक्टरसहित दुईजना दरबन्दीमा छन् । त्यहाँ पनि कोभिडका सामान्य बिरामीको मात्र उपचार सम्भव छ । जटिल समस्या भएका कोरोनाका संक्रमित भएमा अक्सिजन दिने व्यवस्था नरहेको गाउँपालिकाका सूचना अधिकारी सञ्जितकुमार विकले बताए । 

चिसंखुगढी गाउँपालिका र मानेभञ्ज्याङ गाउँपालिकाको कोभिड अस्पतालमा पनि डाक्टर छैनन् । चिसंखुगढीमा अस्पताल र उपकरणहरू सबै तयारी अवस्थामा रहे पनि डाक्टरको दरबन्दी छैन । हाल दुईजना स्टाफ नर्स दरबन्दीमा रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीले बताए । 

लिखु, खिजीदेम्बा र सुनकोसी गाउँपालिकाका कोभिड अस्पताल पनि कोरोनाका बिरामी राखेर उपचार गर्न सक्ने अवस्थामा छैनन् । जिल्लाको लिखु गाउँपालिका र सुनकोसी गाउँपालिकाले अस्पताल, औषधि, उपकरण र स्वास्थ्य सामग्री महामारीको सुरुवाती अवस्थाको प्रतिकार्यका लागि तयारी अवस्थामा रहेको जनाएका छन् । तर, पछि संक्रमण फैलँदै गएमा नियन्त्रणका लागि आफूहरूको स्रोतसाधनले भ्याउने अवस्था छैन । 

खिजीदेम्बा गाउँपालिकाले कोरोना संक्रमण फैलिएको खण्डमा उतिवेलै तयारी गर्न समस्या हुने भएकाले सुरुवाती अवस्थालाई नियन्त्रणका लागि अस्पताल, डाक्टर, औषधि, उपकरणलगायतका कुरा चुस्त राखेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास पौडेलको दाबी छ । 

जिल्लाको एक मात्र नगरपालिका सिद्धिचरण नगरपालिकाभित्र दुईवटा ठूला अस्पताल छन् । जिल्ला अस्पताल रुम्जाटार र ओखलढुंगा सामुदायिक अस्पतालले जिल्लामा कोरोना संक्रमण रोकथाम र संक्रमितको उपचारका लागि सामान्य प्रबन्ध मिलाए पनि नगरपालिका आफैँले खासै कुनै पूर्वतयारी अपनाएको छैन । 

संक्रमित घरैमा
ओखलढुंगा जिल्लामा सक्रिय संक्रमितको संख्या पाँच पुगेको छ । संक्रमित सबै आ–आफ्नै घरमा छन् । जिल्लामा एउटा पनि क्वारेन्टिन र आइसोलेसन बनाइएको छैन ।

क्वारेन्टिन र आइसोलेसन नहुँदा संक्रमित घरैमा बस्न बाध्य छन् भने बाहिरबाट गाउँ फर्किएकाहरूले सतर्कता अपनाएका छैनन् ।

जिल्लास्थित कोभिड नियन्त्रण विशेष समिति र स्थानीय सरकारले भिडभाड रोक्न अपिल गर्ने, हाटबजार बन्द गर्ने र सामान्य सचेतनाका कार्यक्रम गर्नेबाहेक अन्य निर्णयसमेत गर्न सकेका छैनन् । 

ओखलढुंगामा कोरोना संक्रमण रोकथामका लागि पूर्वतयारी पर्याप्त छैन । महामारीको रूपमा फैलिएको कोरोना संक्रमण दिनानुदिन बढिरहेको भए पनि जिल्लामा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पूर्वतयारी पर्याप्त नभएको पाइएको हो । 

सहरमा निषेधाज्ञा सुरु भएपछि राजधानीबाट हजारौँ मानिस जिल्ला भित्रिएका छन् । नवप्रवेशीहरूको सामान्य स्वास्थ्य परीक्षण गरिएको छैन भने बाहिरबाट आएकाहरू क्वारेन्टिनमा समेत बसेका छैनन् । 

कोभिड नियन्त्रणका लागि गत वर्ष स्थापना गरिएका सबै संरचना बन्द भएका छन् । कोरोनाको कहर सुरु भएसँगै स्थानीय तहले लाखौँ रुपैयाँ खर्च गरेर तयार गरेका आइसोलेसन, क्वारेन्टिन र हेल्थ डेस्कसहितका संरचना अहिले बन्द भएका हुन् । 

कोरोना महामारी रोकथामका लागि जिल्ला प्रवेश गर्ने सबैजसो मुख्य नाका र सदरमुकामसहितका क्षेत्रमा हेल्थ डेस्क, सबै स्थानीय तहमा आइसोलेसन, वडा–वडामा क्वारेन्टिन, जिल्लाका दर्जनौँ स्थानमा हेल्थ डेस्क सञ्चालनमा थिए । तर, अहिले ती सबै संरचना सञ्चालनमा छैनन् ।