Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ बैशाख २३ बिहीबार ११:३२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

भगवानभरोसामा कोभिडका बिरामी 

Read Time : > 1 मिनेट
२०७८ बैशाख २३ बिहीबार ११:३२:००

सिँजा गाउँपालिका– २ घोडेंगा गाउँका नेकपा (विप्लव) नेता चन्द्रवीर तिरुवा (रविकरण) कोभिड संक्रमित बिरामी हुन् । उनलाई लक्षणसहितको कोरोना संक्रमण देखिएको आठ–नाै दिन  भयो ।  उनलाई ज्वरो आउने, खोकी लाग्ने, जिउ दुख्नेजस्ता संक्रमणका लक्षण देखिएका छन् । उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा परीक्षण गर्दा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

वैशाखको तेस्रो साता यतिवेला जुम्लामा वर्षात् भइरहेको छ । नियमित वर्षाले चिसो बढिरहेको छ । वैशाख महिनामा गर्मी बढेर तातो हुनुपर्ने हो । तर, नियमित वर्षातले चिसो मौसममा कोरोना संक्रमितकाे  त्रिपालमुनिको वास छ ।होम आइसोलेसनका नाममा त्रिपालमुनिको वास भएको हो । यहाँका थोरै कोठा, साना कोठा भएका घर छन् । होम आइसोलेसन बनाउनेजस्ता घर छैनन् । घरभित्र बस्दा अरू घरपरिवारलाई संक्रमण सर्ने डरले घर नजिकै जंगलको छेउमा त्रिपाल टाँगेर बसिरहेका छन् । 

कोरोना संक्रमित चन्द्रवीर तिरुवा भन्छन्, ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा परीक्षण गर्दा लक्षणसहितको कोरोना संक्रमण देखिएकाले अस्पतालकै आइसोलेसनमा चिकित्सकको रेखदेखमा बस्ने इच्छा हुँदा पनि बस्ने वातावरण भएन । ’
अहिले अस्पताल र चिकित्सकको कैयौँ दूरी टाढा जंगलको छेउमा त्रिपालमुनि मेरो वास भइरहेको छ । स्वास्थ्यमा केही समस्या आइहाले पनि तत्काल उद्धार गर्न सकिने अवस्था छैन । उनले भने, ‘अहिले भगवानभरोसामा बाँचेको छु । मुखमा लगाउन मास्क पनि पाइएको छैन । प्रयोग गरेर फाल्ने सर्जिकल मास्क पुनः धोएर प्रयोग गर्नुपर्ने बाध्यता छ ।’ राज्यले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अर्बौँ बजेट खर्च गरेको छ । तर, जनताले मास्कसमेत नपाएको उनले तर्क गरे । ‘सुरुसुरुमा निकै स्वास्थ्य गाह्रो अवस्थामा थियो । तर, अहिले केही सुधार हुँदै पनि आएको छ ।’

जुम्लामा अहिले कोरोना संक्रमितको संख्या ६६ जना पुगेको छ । यसमध्ये सिँजा गाउँपालिकाभित्रका तीनजनामा संक्रमण देखिएको हो । सिँजा गाउँपालिका स्वास्थ्य शाखा संयोजक नरबहादुर रोकायाका अनुसार लक्षणसहितका कोभिडका बिरामीलाई अस्पतालको फिबर वेडमा राख्नुपर्ने हो । तर, घरमै पठाउने कुरा भयो । उनले भने, ‘घरमा कोभिडका बिरामीलाई बस्ने सहज वातावरण हुँदैन । स्थानीयस्तरमा सामान्य स्वास्थ्य परामर्श दिनेबाहेक अरू स्वास्थ्यका विकल्प छैनन् ।’
स्थानीयस्तरका स्वास्थ्यकर्मी पनि जोखिममा छन् । दोस्रो लहरको संक्रमण फैलिएपछि स्वास्थ्य सामग्रीको अभाव रहेको उनले बताए । उनका अनुसार संघ, प्रदेश र स्थानीय सरकार कुनैबाट पनि मास्क, स्यानिटाइजर, पिपिईजस्ता स्वास्थ्य सामग्री उपलब्ध भएका छैनन् । स्वास्थ्यकर्मी आफैँले किनेर स्वास्थ्य सामग्री प्रयोग गरिरहेका छन् ।